हिउँसगँको वैचारिक आगमन ...

6

Category:

धमिलो आकाश अनी शान्त पवन
कठ्याङ्रिने यो मौसम,
शिषिर ऋतुको आभास
झ्यालका सिसाबाट छर्लङ देखिने
सेताम्मे हिउँका डल्लाहरु ,
घरका छाना, चोक र बगैँचाहरुमा चुलिएका छन्
अझै बर्सिरहेछन् अनवरत फुस फुस
शायद हिउँसँग यसरी पहिलो पटक
साक्षात्कार भएर हुँदी हो,
मन यसै यसै रोमाञ्चित भएर आउँछ
म एकतमासले हेरिरहन्छु लाटोकोसेरो जस्तै
हलिउडका मुभीहरुमा देखिने सुन्दर द्र्श्यहरु
अधरभरी कल्पिएका काल्पनिक तस्विरहरु
आफ्नै अगाडि प्रस्तुत भईरहदाँ
लाग्छ अहिले भर्खर हाम फाल्दै गएर
हिउँकै ओछ्यानमा लुटुपुटु त्यहि खेलिरहुँ र रमिरहुँ
मन न हो ,
आफ्नाहरु सम्झिदिन्छ ,
दु:ख सुखमा , झरी बादलमा
नितान्त एक्लो खुशी हुने प्रयासमा
वेहिसाब दुखी भएको छ यो मन ।।

म गुन्दैछु यहाँ आफैसगँ,
उफ्फ ! यो समय
जिउने हरेक बहाना बोक्दै एक्लै एक्लै
कयौँ डाडाँ काटीसकेछु,
कति समुद्रहरु पार गरिसकेछु
यथार्थको धरातल सम्म आईपुग्दा,
पानी जस्तै रङ्हिन, स्वादहिन ,गन्धहिन म
अत्याधुनिक टेक्नोलोजीको जमानामा
थोत्रो ब्ल्याक एण्ड ह्वेट टि.भी जस्तो म
फगत रित्तो रित्तो उभिन
नहिच्किचाउने बबुरो म
आज र आफुलाई फ्युजन गर्दै जादाँ
एक पछी अर्को उकालो चढन खोज्ने यो मनलाई
फेरी मनले नै माया गर्दै
एउटा असल यात्री हुनुको
धर्म पालना गरिरहेछु ।।

नेपालीहरुको महान् चाड शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण नेपाली जनमा सु-स्वास्थ्य, दिर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक मगंलमय शुभकामना ....

2

Category:

एक सत्य पल

1

Category:

खोज्न चाहे खुशी चौतारीमा
मौनतामा अल्झिरहे ।
आँधी बेहरी अनी बर्षा र बादल
आकाशै ढाक्ने कुहिरो
मानौँ म कनिकुथी पदचापहरु नाप्दैछु ।

शुन्यतामा हराउन खोज्ने यि विहानीहरु
उषाका लालीहरुले पछ्याउँदैछन् ।
लाग्छ पहाड, तराईको छात्तीभरी
उकुसमुकुस थुप्रीएको छ
तैपनी सदा,सर्वदा बाँचेकै छ र बचाँएकै छ ।

मैले पनि त देउरालीसँगको कसम
अझै भुलेकी छैन ।
संघर्षमय यि समयका झोँकाहरु
आगो भएर दन्किन्छन् पाइला-पाइलामा
उतारचढावका कयौँ ज्वालामुखीको
लाभाहरु बिच म आँफैलाई खोज्दैछु ।

डराउँदिन म ति बुलन्द आवाजहरु देखी
झस्किन्न म नमिठो सपना देखी
किनकी,
अव समय बदलिसकेको छ ।
कालो वादल हटिसकेको छ ।
निरासाको पर्खाल भत्किसकेको छ ।

शुभकामना ...

5

Category:

नेपालीहरुको महान् चाड शुभ विजयादशमी र दीपावलीको पावन अवसरमा मेरा ब्लगर मित्रहरु, फेसबुकका सारा चिर ,परिचित आदरणीय गुरुजन तथा मित्रहरु साथसाथै मेरो ब्लगमा भिजिट गर्नुहुने जान अन्जान मित्रहरु लगायत देश, विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा उतरोत्तर प्रगति, सु-स्वास्थ्य तथा सम्रिद्दिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

म पनि एक परदेशी भएकै नाताले यतिखेर यो विक्षिप्त मन शिशु गजल द्दारा यसरी पोखाएर यहाँहरुलाई समर्पित गरेकी छु ।
यो बर्षको दशैँले हामीहरु माझ सुख,शान्ती र थप उत्साह तथा एकता ल्याओस् ।हामी जे, जहाँ र जस्तो रहेपनि हामीहरुको समय सदा शुभ रहोस् , मेरो यही नै अनन्त कामना ...


दशैँको रमझम, पहेँलै धानहरु झुलेको बेला
हर्षोउल्लासमा नेपाली मनहरु खुलेको बेला

आमा नपर्खनु मेरो लागि,नसोधे है संगीहरु
यता म परदेशमा पागल झैँ एक्लै डुलेको बेला

मनभरी वेदनाका विरुवा रोप्दैछु म यतिखेर
उता मखमली सयपत्री ढकमक्क फुलेको बेला

दिनु है आशिर्वाद परदेशीलाई क्षितिज पारीवाटै
संघर्षको मैदानमा आँफैलाई सारा भुलेको बेला

दशैँमा रुझेको मन

8

Category:

न हत्केलाले सुर्यलाई छेक्न सक्छु
न मैले बगेको नदीलाई रोक्न सक्छु
म विवस छु आँफैमा
बाँधिएकी छु समय र परिस्थितिको चक्रमा
यधपी लड्दैछु जीतको अभिलाषामा
उक्लिन खोज्दैछु शिखर चुम्ने विश्वाशमा
पराई भुमीमा हतासिदैँ छु एक्लै एक्लै
हजारौँ मानिसहरुको भिडहरुमा
फगत शुन्य शुन्य लाग्ने यी गल्लीहरुमा
म मेरो आफ्नै गन्तव्य खोज्दैछु
नेपालीपनको आभास खोज्दैछु ।

महान् चाड वडादशैँ जघांरमा आईपुग्दा
म क्षितिजपारी मेरो नेपालमा पुगेकी छु
त्यो पावन शरद ऋतु
मन्द मन्द हावाको स्पर्शसगैँ
उमंग  अनी तरंगहरुको युगल उल्लासमा
मित्रता र एकतामा सारा दु:ख ,पीडाहरु भुलेर
आफन्त र साथीसंगी माझ
स्वच्छ खुशीयाली मनाउन पाउदोँ हो त
यो देह पराईको आगँनमा
यसरी छ्टपटाउनु पर्थ्यो र ?
मिलनको यो रोमान्चित माहोलमा
बिछोडिनुको वेदनामा पलपल
आफैँलाइ धिक्कार्नु पर्थ्यो र ?

मेरो उपस्थितिमा दिन गन्दै बसेकी
मेरी बिचरी आमाको आशालाई
निराशाको बादलमा धकेल्नु
मेरो रहर कदापि थिएन ।
आमाको काखमा टाउको राखेर
ती कोमल हत्केलाहरुको सुम्सुम्याइमा
बाबाको माया अनी स्वप्निल आनन्दमा
सारा संसार बिर्सेंर एकैछिन भएपनि
निदाउने चाहना मेरो पनि नभएको होइन ।

तर , अफसोच !
म निर्जिव मुर्तिहरुको धरातलमा
रोबोट श्वासप्रश्वास गरिरहेकी छु
जहाँ भावनाहरुको सत्कार हुँदैन,गरिदैँन
त्यसैले,
मैले खेलेको आगँन आज
केवल स्‍मृतिको आँखिझ्यालबाट चियाउनु पर्दा
मन त्यसै त्यसै बिक्षिप्त भएको छ ।
हो, यतिखेर मेरो मुटु
यिनै सम्झनामा, तिर्सनामा, वित्रिस्नामा
छिया छिया भईरहेको छ ।

औशीँ सँगको कसम

1

Category:

औशीँको मध्यरात
जुन निदाइरहेको बेला
एक नितान्त शुन्य मन
मनभित्रको भ्रम
अनकन्टार वस्तीमा
जुनकिरीको टिलपिल उज्यालो
लाटोकोसेरोको राज
रातको मसानघाट ।।

शिषिरले बसन्त खोजे जस्तो
गजलले बहर रोजे जस्तो
पहाड उक्लिन खोज्ने यो मन
कहिले तलाउमा चुर्लुम्म डुब्न खोज्छ
कहिले चट्टानसँग ठोक्किन पुग्छ
अनी,
तर्सेर ब्युँझिन्छ चेतनामा
जोख्न खोज्छ जीवन तराजुमा ।।

कालरात्रीका केही प्रहरहरु
अझै केही बाँकी नै छन्
सुर्योदयले दिनको
स्वागत त गर्नु नै छ ।
पुर्णिमाका स्वर्णिम रातहरु
घमाइला ती दिनहरु
पोल्टाभरी सगाँलेर, सम्हालेर
भड्किरहेको यो अवशेषमा
सदावहार रगीँन इन्द्रेणी सजाउनु छ ।।

आत्म उद्घोष

2

Category:

उ एकतमासले आकाश तिर हेरिरहेछ
वादलको घुम्टोले सुर्यलाइ विस्तारै छोप्दै
रातलाइ स्वागत गर्दैछ ।
छिनछिनमा प्लेनका आवाजहरुले उ झस्किन्छे
एकहुल चरी हरु चिरविर गर्दै
वासस्थानतिर फर्किदैँ होलान् यतिखेर ।
टिलपिल रोशनी को उपस्थितिमा
सन्नाटाको वायुमण्डलभित्र हराउँदै
अनुत्तरित प्रश्नहरु सोधिरहदोँ हो, खोजिरहदोँ हो आँफैसँग ।


बुर्का भित्र मात्र लुकाइएको मुहारको मुल्य कहाँ हुन सक्ला ?
एउटा नोकरको परिचय त्यो भन्दा अरु केहि होला ?
कसैको डर र दवाबमा जीवन बचाँइनुको अर्थ बाँच्नु हो त ?
तर,
मान्छेको भुगोलमा मान्छेले मान्छेलाइ किन बुझ्दैनन् ?
स्वतन्त्रता सवैको अधिकार हो,
समानता ईतिहासदेखिको माग हो,
आफ्नै जैविक मान्यता र चाहना अनुसार
जीवन यापन गर्न पाउनु हरेक नगरिकको हक हो ।

त्यो कानुनले किन संसार भरि पूर्णता पाएन ?
बेलायत होस् कि भुटान, नेपाल होस् कि भारत
अन्यायमा पिल्सिनेहरु पिल्सि नै रहेछन्
गोरा र ठाकुरहरुले छात्ती फुलाइ नै रहेछन् ।

अहँ, उ आत्म समर्पण गर्न पटक्कै तयार भईन ।
सास फेर्नुकै निम्ती कसैको इसारामा नाच्ने पुतली उ भईन ।
उ जान्दछे,
जवसम्म उ आफुबिरुद्ध उभिएका पिसासुहरुसित डराउँछे ,
तवसम्म उ एक कैदी सरह हुन्छे
जसको आत्मा स्वत अस्तित्व र परिचयमा सधैं भड्किरहन्छ ।

त्यसैले,
आज उसका आफ्नै मुल्य र सिद्दान्तहरुका निम्ती घोर लडेर आएकी छे ।
उसको आत्म सम्मान उपर जितेर आएकी छे ।
जीवन बाँच्नुको वास्तविकता बुझेर आएकी छे ।
आज उ आफैंमा सच्चा बिजेता घोषित भएकी छे ।

तीज : मनका कुरा

1

Category:

नारीहरुको महान् चाड तीजले नेपालीहरुको घर, आगँनमा रौनक थपिरहेको छ भने बिदेशी भुमीमा समय, परिस्थिती मिलाएर जोडका तोड उत्सवहरु मनाईरहेको त हामीले टि.भी, पत्रपत्रिका तथा इन्टरनेट बाट प्रत्यक्ष अप्रत्यक्ष देखिरहेका नै छौँ । चाडपर्वले मानिसहरुमा खुशीको माहोल बनाइदिनुको साथसाथै नेपाली परम्परा र सन्स्क्रितिको पनि जगेर्ना गरिरहेको हुन्छ तर हरितालिका तीज धार्मिक मान्यता मान्यता र परम्परागत दृष्‍टिकोण अनुसार बिशेष गरेर विवाहित महिलाहरुको लागि हो भनेर निरन्तरता दिईरहने क्रममा जहाँ सम्म विधुवा नारीहरुको सवाल छ , उनीहरुका लागि यो पर्व केवल "कागलाई बेला पाक्यो हर्ष न बिस्मात" भन्ने उखानसँग तुलना गरिन्छ । यधपी तीजको आफ्नै महत्व छ , विवाहित महिलाहरुले आफ्नो श्रीमानको उन्नति,प्रगती , सु-स्वास्थ्य र दिर्घायुको लागि निराधार ब्रत बसेर स्वच्छ समर्पणमा समर्पित गरेर आफुलाई गौरवान्वित महसुस गर्छन् तर यसको मतलव यो पनि होइन कि वा हुनुहुदैनथ्यो जव पतिको मृत्‍यु हुन्छ तव पत्नीले रङीन जीवनयापन बाट जीवनभर सन्यास लिएर अभागीनी को पगरी थमाएर सौभाग्य बिहिन एक अवला नारीमा उ गनिन पुग्नु ।


हो, यस्तै संकुचित सोचाई, अन्धबिश्वास , अव्यवहारिक रितिरिवाज र परम्पराहरुले बर्षौ देखि हाम्रो समाजमा अनि दैनिक व्यवहार र चालचलनमा जरा गाडीसकेको छ जसको असर आजको एक्काइसौँ शताब्दिमा पनि अछुतो रहन सकेको छैन भन्दा म पक्कै गलत नहुँला ।

नारीहरुको महान् चाड भएर पनि सम्पुर्ण नारीहरुलाई समान हक, अधिकार र स्वतन्त्रता दिएर प्रतिनिधित्व नगरिदाँ हाम्रो समाजले अझै आमुल परिवर्तन खोजिरहेको छ भनेर मैले महसुस गरेकी छु जसको चेतना व्यक्ति आफैँ भित्र बाट जागरुक भएर म, तपाई र हामी हुदैँ समाजमा समयसगैँ विस्तारै परिवर्तनका रङहरु थप्दै अझै प्रगतिको पथमा लम्किनुपर्छ र यसलाई हामी द्दारा नै लम्काइनुपर्छ भन्ने मेरो आफ्नै व्यक्तिगत अवधारणा रहिआएको छ त्यसैले तपाईं, हामी बाट नै परिवर्तनका नयाँ कदम चालौँ र अध्याँरोबात बाट उज्यालो तिर हिंड्ने प्रयास गरौँ जसलाई सानोतिनो भौतिक आकर्षणले मात्र आकर्षित नगरोस् , जो झिना मसिना आश्वासन र सस्तो बिज्ञापनको उदाहरण नबनोस् ।

यही आव्हानका साथ यहाँहरुको तीज बिशेष शुभ रहोस् भन्दै मेरो छोटो लेख यही नै बिट मारेँ । तपाईंहरुको प्रतिकृया, साथ र सुझावको प्रतिक्षामा ..

तीज आयो तीज आयो भन्छन् बरी लै
आउ साथी कम्मर मर्काइ नाचौँ बरी लै

दु:ख त जीवन्भरी, मरिलानु के छ र ?
हाँसिखुशी यसैगरी सम्झना साचौँ बरी लै

धर्ति,आकाश को कम ? नारी पुरुष बराबर
छहारी एउटै नेपाल,मिलिजुली बाचौँ बरी लै

बगैँचा = जीवन

2

Category:

चन्द्रमा छुने आकाक्षाँहरु
मनको फुलवारीमा ढकमक्क फक्रन्छन्, फुल्छन्
विश्वाशमा घाम,पानी,शीत र वतास सँग
उ लड्न तयार हुन्छ ।
कल्पनाहरुले सागर भर्छ ..
आशाहरुले मिलन चुम्छ ..
धर्ती र आकाशको काखमा
सप्तरगीँ इन्द्रेणी सजाउँछ ..
मानौँ ति पलका खुशीहरुले
पूर्ण जीवनको आभास दिलाइरहेको छ ।

तर अजर, अमर खुशी कहाँ ?
थाहा छ बगैँचालाई ,
फुलहरु एकदिन झरेर जान्छ , मरेर जान्छ ।
फेरी,
नव ऋतुहरुको आगमनसगैं
फरक फरक सुवासहरु बोकी ,
सदावहार सुशोभित बनाइरहेकै हुन्छ बगैँचालाई।
पक्रनु , फुल्नु, ओईलिनु र झर्नु त सव
नियति हो फुलहरुको ।
वसन्त वहार मात्र कदापी हुन सक्दैन
शास्वत सत्य बगैँचाको ।

त्यसैले म भन्छु ,
बगैँचा जीवन हो ,
फुलहरु यसको श्रिगाँर ।।

अपिल नेपाल आमाको

1

Category:

सिमानाहरु  बल्जफ्ती अतिक्रमण भईरहदाँ
आफ्नै घरभित्र कठपुतली बनेर
स्वाभिमान बेची अस्तित्वको धजी उडाउँदै छ ।
हिमाल, पहाड अनी तराई
को भन्दा को कम ?
डाँफे र मुनालहरु शोकमग्न भए ।
कोईलीको सुमधुर गीतमा
लालीगुराँसहरु मुस्कुराउन छाडे ।

महाकाली, सेती, गण्डकी ग्लानिमा बग्न थाल्यो ।
राजतन्त्र गयो, गणतन्त्र आयो
हात्ती आयो, हात्ती आयो ... फुस्सा !
फेरी ,
शान्ती शान्ती भन्दै
क्रान्तिको नाममा भ्रान्तीको हैजा फैलिएर
अवस्था नाजुक हुँदै गर्दा
पृथ्वीनारायण शाहको सन्तान भएर ,
ईतिहास पछ्याउन नसक्दा
एतिहासिक विजयको विगुल फुक्न नसक्दा
आज सगरमाथा लाजले झुकेको छ ।

एउटै छानामुनि ग्रिहयुद्ध चलिरहदाँ
बुद्ध जन्मेको देश हामी माझ बाटै हराउँदै गर्दा
म पिडाले मृत्‍यु शैय्यामा छट्पटाइरहेछु ।
र अझै याचना गरिरहेछु -
हे ! मेरा कपुत सन्तानहरु हो !
यदी अझै तिमीहरुको नसा-नसामा
पुर्खाका अमिट बहादुर छापहरु
ज्युँदै सल्बलाइरहेको छ भने ,
आओ ! युद्ध गर एकताको ...
मिलाउ हातहरु भाईचाराको...
सम्हाल धोतीहरु...
बचाउ टोपीहरु...

खोजी

2

Category:

मजेत्रोभरी छताछुल्ल सपना बोकेर
बटुवा देश, परदेश निस्कन्छ
एक जोडी आँखामा अनेकौँ मनहरुको
अपेक्षित रहरहरु समेतेर ।।

चट्टान फोड्ने र हिमशिखर चढ्ने
अनुपम लक्ष्य अनी आत्म विश्वाशमा
यावत पदचाप कहानीहरु माझ
घनघनस्या उकालीमा उ थाक्दैन ..
मरुभुमीको बाफिलो हावामा उ हतासिदैँन ..
शिषिरको तुषारापातमा उ काप्दैन ..
पराजय हुनुको बिजयमा उ शोक मनाउदैन।।

सजिव्, निर्जिव तत्वहरुसँगको
परिक्षण प्रयोगशालामा
उ सधैँ हाजिर हुन्छ ..
आखिर,
कृया, प्रतिकृया जस्तोसुकै किन नआओस्
अनुभवको सागरमा उ पौडिन चाहान्छ ।।
यो अलौकिक संसारमा
लौकिक पदार्थको ठोस खोजिमा
उ अनवरत हिडिरहन्छ बश हिडि नै रहन्छ ।।

Moments While Departing ...

2

Category:

Especially Dedicated To One Of My Friend Just Let Her Know Nothing Is Really Matter In Friendship As Long As We Are Loyal Having Trust Towards The Relationship That We've Established ...


Time , Never Ends ...
You Keep On Walking..
Meeting So Many Paths And Dreams
Playing Hide And Seeks ...

Troubles And Trials ,
Meaning To Be Alive ..
To Encounter Those ZigZags
The Destination Itself Arised ...

You Might Have Lost A Lots
But, Precious Things Still Remains In You ..
Between The Victory And Surrender ,
You've Choosen Yours Own ...

The Moon Is Eagerly Waiting On You..
Stars Are The Friends Around
Being There For You
Whenever, Whereever You Need ...
But,
Sometimes, You Can't Deny
There Are Faults ,
Inside Those Faults , Touch Of Unseen Love
Need To Be Accepted, Without Any Regret ...

God Knows,
Either Time Let People Hold Eachother Or Not
Even Though,
A Single Rememberance Is One And The Best
Immortal Thing Whole Of The Rest ...

Life Is Amazing ,
With The Boxes Of Secrets
Journey Is Yours ,
Always Try Your Test
Having Full Of Faith ...

मानव ... ?

2

Category:



मानव भित्रको दानव
दानव भित्रको मानव
चाहना र लक्ष्यहरुको
भेल हो कि मानव ?
शंका र उपशंकाको
बाढी हो कि मानव ?
शान्ति र विकासको मन्त्र फुकेर
कर्णाधारहरुलाई उत्प्रेरणा जगाउने
बुद्ध हो कि मानव ?

गगन्चुम्बी शिखरमा पुगेर
फेदलाई चटक्कै भुल्ने
स्वार्थीहरुको जमात हो कि मानव ?
हारहरुमा आशा देख्ने
जीतहरुमा जीवन देख्ने
आत्मसन्तुष्तिको लागि सधैं तड्पिरहने
क्लिस्टताको परिचय हो कि मानव ?
काम्,क्रोध्,लोभ र मोहको
परिवन्दमा फसेर
मोक्षका वाटाहरु खोजिरहने
कठिन साधनाको समुह हो कि मानव?
हरेक मुर्छनाहरुबाट ब्युझिदैँ
विहानीको सिरेटोमा रंगिन सपनाहरु सजाउदैँ
सामुहिक तृष्णाहरुमा आमुल परिवर्तन अपेक्षित
बौद्धिक हुलहरु हो कि मानव ?

अलौकिक सृस्‍टिको सजिव सिर्जना
मानवताको माला पहिरिएर
तराई, पहाड र हिमालका
खोँच्,घुम्ती र ओकाली ओरालीहरुमा
आ-आफ्नै परिभाषा खोज्दै हिंड्ने
अनवरत यात्री हो कि मानव ?

पर्खाइमा ...

1

Category:

हिजो जस्तो,आज पनि त्यसरी चल्दै छ
सन्ध्याको आगमनसगैँ,रात उसै ढल्दै छ

बस्ती वाक्लो,तर आफु एक्लो भएकी छु
मदहोसी ले यहाँ हरेक प्रहर छल्दै छ

सम्झनामा पल्पल मुटु दुखि रहने
वाहिर हाँसे नि वरै भित्री मन जल्दै छ

भो अब धेरै नसताउ न प्रिय तिमी
आखिर दुई मन आज,एक्तिरै गल्दै छ

मिलनका ती क्षणहरु,परेलीमा सजाउँदै
तिम्रै प्रतिक्षामा,दियोहरु अझै बल्दै छ

एकबर्षे ब्लगिङ यात्रा र अनुभब

2

Category:


ब्लगिङ शुरु गरेको पनि आज त थाहै नपाई एक साल भएछ । यो भन्दा अघि त्यस्तै फाट्टफुट्ट रचनाहरु लेखि टोपल्थे र मेरो नजिकको मित्रलाइ पठाउने गर्थे जो सँग अहिले म अन्योन्याश्रित सम्बन्धमा बाँधिन पुगेकी छु । उहाँकै निरन्तर प्रयास र प्रेरणाले मैले केही रचनाहरु लेख्ने प्रयास गरिरहेँ चाहे एउटा कमजोर रचना नै किन नहोस्। अन्तोत्ग्वत्ता उहाँकै अमुल्य साथ, लगनशीलता र निरन्तरतामा "मेरो विश्वाश" नामक ब्लग तयार भयो। त्यसपछी जानी नजानी कविता,गजल, गीतहरु लेख्दै पोस्ट गर्न थाले अनि ब्लग आफैँमा मात्र पुर्ण नहुने रहेछ र त यसलाइ सदावहार राख्न छिमेकी रचनाकारहरु र सहृदय ब्लगर मित्रहरु मेरो ब्लगको अभिन्न अगं बनिदिनुभयो जसको लागि म उहाँहरु प्रति जीवनभर आभारी रहनेछु। यो ब्लगमा भिजिट गरिदिनु हुने र प्रतिकृया दिनुहुने सम्पूर्ण चिरपरिचित आदरणीय गुरु र मित्रहरुलाई लाख-लाख धन्यवाद । एकबर्षको ब्लगिङ दौरानमा भिन्न भिन्न ब्लगको , बेग्लै रचनाहरु, सिर्जनाहरु बाट धेरै नयाँ कुराहरु जान्ने बुझ्ने मौका पाएँ । यही क्रममै धेरै ब्लगिङ मित्रहरुसँग अनुभवहरु साटासाट गर्ने मौका पाएँ र उहाँहरुकै प्रतिकृया , सुझाव ,सल्लाहहरु बाट आफ्नो कमजोरीहरु थाहा पाई आफुलाई सुधार्ने सुवर्ण अवसर प्राप्त गरेँ। ब्लगिङ गर्नुको आफ्नो छुट्टै आनन्द त छदैँछ तर विगत केही समय यता यसलाई पहिले झैँ निरन्तरता दिन नसकिरहेकिले मन बिक्षिप्त भईरहेको छ । जीवनका मोडहरुमा समय र परिस्थिति हरुको दोभानसगैँ आफुलाई अनुकुल पार्न नसक्दा थोरै पाएर धेरै गुमाएको भान हुँदो रहेछ जुन अहिलेको अवस्थामा म महसुस गरिरहेकी छु। तसर्थ यसै अनुसार आफुलाई पनि पछाडि नपार्ने प्रयासमा लागिरहेछु ।

"साधना सफलताको कडी हो ।" भन्ने भनाइलाई मन भित्र गाँठो पारी बाँकी दिनहरुमा म फेरी पक्कै नयाँ रचनाहरुका साथ उपस्थित भईरहनेछु र ब्लगिङ यात्रालाई अविरल साँचिरहनेछु भन्ने अठोठका साथ फेरि पनि यहाँहरुको न्यानो साथको अपेक्षा गर्दै Happy Blogging ... !!!

शुभकामना नयाँ बर्षको

3

Category:


धेरै नयाँ बर्षहरु आए, गए
जीवनको दर्पण छायाँमा कति वसन्तहरु
थाहै नपाई पार गरेँ
हार र जीतको लुकामारी खेलमा
आँफैलाई धेरै ठाउँमा तौलिएँ
पाउनु र गुमाउनुको नियतिमा
गुमाउनुको पिडा भन्दा
जती पाएँ त्यसैमा खुशीयाली मनाएँ
जीवनका यात्राहरुले नयाँ मोडहरु भेट्टाएर
रहरहरु उर्लिदैँ गर्दा
वसन्तको मीठो स्पर्शमा तृप्‍तिको प्याला
जानी नजानी खुलेरै पिएँ
पिउनुको मजामा ब्यथाहरु नसामै बिर्सिएँ
उमगँ र उत्साहको दोभानमा
कहिले नसकिने , कहिले नजोखिने
जीवनका मुर्त अमुर्त रङहरुलाई आजीवन अगाँल्दै
सागरसम्म पुग्न नदी भई बग्दै छु म आज..

समयको चक्रानुसार घुम्दै फिर्दै अर्को नयाँ बर्ष
ले नेपाली घरआगँनमा उन्माद थपिदिदाँ
मुहारमा नौला आशाहरुले बिउ छर्दै गर्दा
आस्था र विश्वाशले नयाँ यात्रामा
जोस, जागँर भरिरहेको बेला
नयाँ बर्षले त्यस्तो आमुल परिवर्तन ल्याओस्
जहाँ हर घर धुरीको अगेनामा आगो बलोस्
जनजागरणमा बिकासका मुलहरु फुटोस्
मिलिजुली शान्ती र एकताको छाता मुनि
नेपालको झण्डा अनि सार्वभौमसत्ता
बुद्ध जन्मेको देश , सगरमाथाको परिचयमा
नेपाल र नेपाली आदि देखि अनादी सम्म बाँचिरहोस्
क्षितिज पारी बाट सुभेच्छाका कामनाहरु यसरी नै टक्र्याएँ मैले ...

सम्पूर्ण चिर परिचित ब्लगर मित्रहरु तथा आदरणीय सर्जकहरुमा स्वदेश तथा बिदेशमा रहनुहुने सारा नेपालीहरुमा नवबर्ष २०६७ सालको पावन अवसरमा सु-स्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्न चाहान्छु र आजैको तिथिमा मातातिर्थ औशीँ परेकोले सम्पूर्ण महान् आमाहरुमा आभार ...

गजल

2

Category:

नसोचेका खुशीहरु, थाहै नपाई झल्किदाँ
हर्षले रोइदिन्छ आँखा यी,आसुँहरु छल्किदाँ

यसै फेरी रोमाञ्चित भईदिन्छन् आशाहरु
भाग्यरुपी समयको खेल्,आँफैतिर ढल्किदाँ

लड्दै,उठ्दै कति हिड्छौ यात्राहरुमा हामी
क्षितिज पारी बिजयका हातहरु टल्किदाँ

दु:खको के गन्ती भो र?संघर्ष न हो जीवन
रम्न फेरी जानेकै छौँ,जिउने कलासँग पल्किदाँ

एउटै रेखामा बाँच्न सकिन्न रहेछ नि सधैं
परिवर्तनका चाहना हरु मन भरी सल्किदाँ

अतितसँग झुमेका पलहरु

3

Category:

स्रोत - गूगल
मान्छे एक ,
जीवन पनि त एउटै
छोड्नु छ आखिर उसरी नै
अन्त्य पनि त उस्तै ।।
तर ,
समयका झोकाँहरुमा
परिवर्तनशील आवश्यकता र मागहरुसगैँ
एउटै यात्रामा पनि हिंड्ने गोरेटाहरु फरक फरक
प्राप्तीको आधार त उही हार र जीतमा त हुन्छ,
तर एक जीवन हेर्ने अनेक आँखाहरु
र जीवन जिउने यावत धारणाहरुमा ,
भोगाइका कहानीहरु फरक फरक
छुट्टाछुट्टै जिजिबिषाका रुपहरुमा
हरेक पल्ट झाँगिदै गएका
भिन्दाभिन्दै आशा र विश्वाशहरुमा फरक ।

भन्छन् जीवन छोटो छ ,
टुगोँ नलागेका यी अनिश्चित यात्राहरुमा
रहस्यका पर्दाभित्र नै
अझै म बाँच्दैछु या जीवन बाँच्दैछ
तर,
यो साँझ डायरीको पानामा
सगाँलिएका सम्झनाहरुसँग भुल्दैछु
घटेका तितामिठा व्यतित कथाहरु ,
जो साक्षी छन् सत्यको, सजिवताको
त्यसैले होला आज पनि
उस्तै जिवन्त महसुस गरिरहेछु
र त फेरी अतितका कालखण्डहरुका
यादहरुमा हराईदिदाँ
यिनै शब्दहरु मनभरी उर्लिरहेछ
र पोखिरहेछु यही कोरा कागजमा ।
अनी यो गतिशिल समयसगैँ,
जीवनका यी अविस्मरणीय स्वर्णिम पलहरु
यसै नहराई जाओस् भनि
डायरीमा निरन्तर सजाईरहने प्रण गर्दैछु ।

नारी दिवस : मेरो बिचार र परिवर्तनका चाहनाहरु

5

Category:

अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा आफ्नै मनभित्र गुम्सिएका कुराहरु पोखेर एउटा लेख लेखेकी थिएँ तर कहिले ईन्टरनेटले साथ नदिदाँ र कहिले आफ्नै दिनचर्याको हतारोले यसै थन्केको थियो तर आज भर्खरै माई संसारको लेख पढेर मेरो चानचुने लेख ढिलै भएपनि पोस्ट नगरी चित्तै पो बुझेन । नारी दिवसमै सबन्धित यो लेख जसले बिशेष गरेर वृद्धा आमाहरुलाई र उहाँहरुको स्थितिलाई उजागर गर्न खोजिएको छ जो बिभिन्न परिवेशहरुबाट दिलशोभा जस्ती कोमल मनकी धनी,सेवामा समर्पित जीवन र बिशाल हृदय भएकी नारी समक्ष आईपुगेका छन् र जसलाई दिलशोभा दिदीको एकल प्रयासमा आफ्नै घरमा वृद्धा आमाहरुलाई सेवा प्रदान गरिरहनु भएको छ आजको ब्यस्त समय जहाँ मानिसहरुलाई आफ्नो भन्दा अरुको कुनै पर्बाह नै छैन तर उहाँले बिना कुनै स्वार्थ यही कार्यलाई नै निरन्तरता दिईरहनुभएको छ , उहाँको यस्तो महान् प्रयासको लागि उहाँप्रति मेरो हार्दिक सलाम र आभार ब्यक्त गर्दै यो मेरो सानो कच्चा गजल उनै  वृद्धा आमाहरुमा समर्पित -



आशाहरु कहाँ छन् र?भुँईका धुला भईसके
सप्नाहरु त कठै,  सवै उडी गैइसके

माया,मम्ता हुँदो हो त आमैको लागि वरै
मलाई कहाँ?उन्कै जहान्का लागि लईसके

उही दयालु दिलशोभा कै छहारीमा
आजभोलि गर्दै डाँडा माथिको घाम भईसके

मेरो लेख यसैको तलतिर जोडे है त -
नारी हकहित्,अधिकार्,सुरक्षा र समानताको लागि भलै धेरै गोष्ठि,सम्मेलन,कार्यक्रम्र र बिभिन्न खाले प्याकेजहरुका साथसाथै आमुल परिवर्तन आए  वा आउँला झैँ सैद्दान्तिक हिसाबमा ज्यादै मिठा र रसिला भाषणहरु जति नै भए पनि अझै हाम्रो देश, हाम्रो समाजमा महिलाहरुलाई हेर्ने दृष्‍टिकोणमा र उनीहरुको हकमा निर्णय गर्ने पुरुषप्रधान समाजमा अझै व्यवहारिक परिवर्तनका छाँटहरुले प्रबेश पाएको छैन। परिवर्तन नै भएको छैन भन्न चाँही अलिक नमिल्ला किनकी समयको माग र आवश्यकता अनुसार महिला वर्गले पनि अरुलाई देखेकै भरमा पनि आफुमा केही परिवर्तनहरु ल्याउन भरपुर कोसिस गरिरहेका हुन्छन्, चाहे त्यो ब्यक्तित्व बिकासमा होस् या व्यक्तिगत चाहनामा नै किन नहोस् र पनि झिना मसिना कुराहरुमा स्वेच्छिक ढंगले चल्न गर्न पाउने स्वतन्त्रता मिले पनि जब कुरा अलिक ठुलै बिषय बस्तुको हुन्छ, अलिक गतिलै निर्णय गर्नुपर्ने हो कि भन्ने भान् हुन्छ तव मानिसहरुको चेतनाले महिलाको स्थान गौणमा राखिन्छ किनकी त्यहीँ नेर पुरुष प्रधान मानसिकताले ठाउँ ओगटेको हुन्छ, पुरुष अनि महिला भन्ने भ्रम पैदा हुन्छ र महिलाको बिचार , सोच्ने शक्ति र दक्षतामा शंका गरिन्छ अनि प्रतिक्षाको बहानामा सधैं पछाडि राखिन्छ,

पुरुष हुनुको आडम्बर भन्दा माथि उठेर स्त्री जातिलाई स्थान दिलाउन पटक्कै चाहदैँन वा भित्रभित्रै आरिस सिर्जना हुन्छ । हो, त्यतिखेर नै सत्यको अगाडि असत्यको जीत हुन सक्छ र सहिको ठाउँमा गलत वस्तुले ठाउँ लिन सक्छ जसको परिणाम समयले गर्छ अनि त्यो हामीले भोग्नु पर्छ र शायद आउँदा नव पुस्ताले पनि।
मैले सवै महिलाले अवसर् पाउनु पर्छ भनेकी पनि होइन र सवै पुरुषहरु गलत छन् भन्न पनि पटक्कै खोजेकी हैन तर जहिलेदेखी हाम्रो समाजमा , हामीले गर्ने हर प्राकृतिक व्यबहारमा वा भनौँ कृयाकलापमा महिला र पुरुष बिच कुनै रङ , जाती , लिगं, भेद, भाषा र भेषभुषाको आधारमा कसैलाई भेदभाव गर्नुहुदैन र गरिनुहुदैन भन्ने कुराको जरैदेखि बिकास हुन्छ तव त्यहाँ जन्मेदेखि नै समानुपातिक रुपले दुवैले उस्तै अवसर पाइ आफ्नो कार्य क्षमता अनुसार आ-आफ्नी भबिष्य आँफैले नै निर्माण गर्न सक्ने वा कम्तिमा अनुमान लगाइ समयमै त्यसका उपायहरु खोज्न सक्षम हुन्छन जस्तो मलाई लाग्छ।

त्यसैले म अनुरोध गर्छु कि नारीको निम्ती आवाज केवल नारी दिवसको दिन आवाजमा मात्रै सिमित नराखी व्यबहारमा पनि उतार्ने कोसिस गरौँ र त्यो तपाईं, हामी आँफैबाट शुरु गरौँ र नारी आवाज अक्षरमा मात्र नभई हाम्रो कार्य कुशलताबाट अहिले सम्म चल्दै आएको यो पित्रुप्रधान वा पुरुष समाजमा जन्मिएको ग्रसित मानसिकतालाई परिवर्तन गर्न जोड गरौँ। जसरी थोपा थोपा पानी मिलेर समुद्र बन्छ त्यसरी नै आजको हाम्रो सानो सानो प्रयासले भोलिको दिनमा ठुलो परिवर्तन ल्याउन सकिन्छ । त्यसपछी मात्र हामीले हाम्रो सकारात्मक कोसिसको सकारात्मक फल अपेक्षा गर्न लायक हुन्छौँ । अन्त्यमा म पनि महिला बर्गमा नै परेकोले नारी दिवसको अवसरमा नारी आवाज मेरो तर्फ बाट पनि यहाँहरु माझ बाँड्दै मेरा बिल्कुलै ब्यक्तिगत भावनाहरुलाइ यहि नै बिट मार्न चाहन्छु र ढिलाईको लागि क्षमाप्रार्थी छु । 

अधिकारको ठेली होइन नारीलाई शिक्षा दिनुपर्छ
अंश दिने कानुन हैन समान अवसर दिनुपर्छ
 

किन ?

2

Category:

धेरैपछी एउटा रचना पोस्ट गरेकी छु नौलो ठाउँबाट, नयाँ माहोलमा यधपी परिष्कारको निकै जरुरत रहेको मैले महसुस गरेँ तैपनी सुझाब,सल्लाह र न्यानो साथको निम्ती फेरी हजुरहरुजो दैलोमा मैले घच्घच्याएकी छु, विश्वाश छ हजुरहरुको प्रेरणामा यो यात्रा निरन्तर अघी बढाउन सकुँ धन्यवाद ...

मन किन दुख्दैछ फेरी निष्ठुरीको यादमा
मुटु किन फुक्दैछ फेरी सम्झनाको साथमा

दुई आत्माको मेल भन्थे आँखा जुध्दाखेरी
भावना किन लुक्दैछ फेरी नजरको दोष्मा

बिर्सु भन्छु अतित लाई जरै देखी म त
आज किन पुग्दैछ फेरी हिजोको परिबेस्मा

बिशाल झैँ आकाशमा रंगिन इन्द्रेणी हरु
बादल किन झुक्दैछ फेरी आशुँको भेलमा

तिर्खाएर धाएकी थिएँ म, लक्ष्य एउटै लिई
प्यास किन सुक्दैछ मेरो सपनाको धर्तीमा

यात्रा हो जीवन भन्छन्, अघि बढ्नै पर्ने
पाइला किन चुक्दैछ फेरी संघर्षको बाटोमा

स्मरणमा बिदाईका पलहरु

4

Category:


2005 september 26 को दिनमा धेरै नयाँ आशाहरु र सपनाहरु बोकेर केही समयको लागि नेपालको भुमीलाई हात हल्लाउँदै इजराएलको कर्म क्षेत्रमा उत्रीएँ यो नै जीवनको पहिलो अनुभब थियो बिदेश यात्राको , प्लेन यात्राको त्यसैले होला त्रास, चिन्ता र कौतुहलताले मन खाइरहेको थियो । शायद पहिलोपल्ट नै आफन्तहरुबाट बिछोडियर होला असाध्यै एक्लोपन महसुस भएको थियो तर पनि जीवन यात्रालाई अघि बढाउने क्रममा मनभित्र जे जस्तो भए पनि बाहिरी बातावरणसँग समायोजन गर्न मैले निकै प्रयास गरिरहेकी थिएँ । यसरी नै दु:ख सुख , बिछोड , परदेशी हुनुको पिडा बोध र बिदेशी आँगनमा सँगालेका स्वदेशी र बिदेशी मानिसहरुको बिभिन्न खालका अनुभबहरुलाई स्मरणमा गाँठो पार्दै आज करिब साढे चार बर्षको अवधि पछी फेरी नयाँ गन्तब्यस्थल तिर मेरा पाइलाहरु अघि सरिरहेका छन् । यही परिबेशमा ,रहनसहनमा, बानी व्यबहारमा यति लामो समय सम्म आबद्ध भईरहेकोले होला भौतिक रुपले सधैंभरिको लागि बिदा गर्नलाई मन बिक्षिप्त भईरहेको छ र पनि सत्य कुरा चाँही यही नै हो कि जीवन सदा एउटै बिन्दुमा अड्किरहदैन। जिन्दगी यात्रा हो, समय र परिस्थितिहरु यसका मोडहरु हुँन् र लक्ष्य अनि सपनाहरु यात्रालाई सजिवता दिलाउने तत्वहरु हुँन् । समय परिवर्तनशील छ , मान्छेहरु चेतनशील छन् यही अनुरुप आफ्नो भबिष्यलाई डोर्‍याउँदै चालिएका पाइलाहरुलाई मुर्त रुप दिन हरपल प्रयास गरिरहेका हुन्छन् । शायद यही नै पाईन्छ मान्छे हुनुको प्रकृति र यसैलाई भनिन्छ अर्थपूर्ण प्रयासमा जीवन जिउनुको सफल चित्रण। यही मान्छेहरुको हुलभित्र म पनि एउटा आधार खोजिरहेको मान्छे जसले कम्तिमा उभिने धरातल पाएकी छे । अब कहाँ , कसरी र के गरेर यात्रा शुरु गर्ने त्यो म मा भर पर्ने कुराहरु हुँन् । इजराएलको बसाइँले मलाई थुप्रै नयाँ कोणहरुबाट जीवन जिउन सिकायो, हिंड्न सिकायो जुन मैले पहिले देख्न असमर्थ थिएँ तव मलाई लाग्यो जब मान्छे चार भित्ता भन्दा बाहिर निस्केर गतिशिल संसारसँग आफुलाई तुलना गर्ने आँट गर्छ त्यसपछी मान्छेहरुले धेरै सम्भावित बाटाहरु भेट्टाउन सक्षम हुन सक्छन्  जहाँ उसले बिना सिमारेखा पूर्ण स्वतन्त्रतामा आफ्नो संसारलाई रंगिन बनाउन तल्लिन रहन्छन् । तर यहाँ आएर कति पाएँ, कति गुमाएँ त्यसमा कुनै गुनासो छैन मेरो तर इजराएल प्रबेशले मेरो जीवनमा महत्वपूर्ण ठाउँ राख्छ ।मलाई त बश लाग्दैछ मेरो जीवन बल्ल शुरु हुँदैछ संघर्षका श्रेणीहरु बन्दै नै छन् , अनुभबका बगेल्टिहरुसँग खेल्ने दिनहरु निर्माणाधीन छन् , जोखिमका चुनौतिहरुसगँ जुध्दै आफ्नो लक्ष्य र उदेश्यहरुलाई निरन्तरता दिने मौकाहरु सिर्जित हुँदै छन् । जीवनमा दोश्रो पल्ट नयाँ देश, भिन्न माहोल, फरक बातावरणसँग आफुलाई कतिको अनुकुल राख्दै यात्रालाई निरन्तरता दिन सक्छु या सक्दिन त्यो भोलिको दिनले बताउने नै छ मात्र यो विश्वाश छ कि चाहे जे जस्तो आँधी बेहरी किन नआओस्, घुम्तिहरुमा जति नै काँडाहरु बनेर बाटाहरुलाइ कठिन किन नबनाओस् तर म जीवनको परिक्षा दिन आशा,भरोसा र कर्म सहित सधैभरि तत्पर रहनेछु। भगवानसँग यही नै प्रार्थना छ , मलाई धर्य धारण दिने शक्ती दिनुहोस्, हरेक आरोह अबरोहसँग लड्ने सामर्थ्य दिनुहोस्। अन्तमा यहाँसम्म आईपुग्न मलाई प्रेरित गर्नुहुने इजराएलकै भुल्नै नसकिने व्यक्तिहरु र मेरा केही बिशेष मित्रहरु धन्यवादका पात्रहरु हुनुहुन्छ साथै मेरा सम्पूर्ण परिवार र चिरपरिचित साथीहरुमा म धेरै नै आभारी छु। उहाँहरुले म प्रति लागाउनुभएको गुन मैले शायदै अक्षरमा सिमित गर्न सक्छु इजराएलको भुमीलाई बिदा गर्दै विश्वको अर्को कुनाबाट छिट्टै नै भेट्ने बाचा सहित यहाँहरुलाइ अन्तिम कोशेलीको रुपमा सुम्पिदैँ सलोम इजराएल ...

गजल

3

Category:

जब रातहरु सन्नाटासगैँ ढल्दै जान्छ
तब जलन मुटुको झन बल्दै जान्छ ।।

अतितका तितामिठा सगाँलो हरुमा
एकल साँझ मन बिस्तारै गल्दै जान्छ ।।

स्वतन्त्र फक्रिन दिएनौ त के भयो र?
ऋतु अनुसार फुलहरु फुल्दै जान्छ ।।

बिचैमा साथ छोडि गए पनि मायालु
तैपनि यात्रा त जीवनको चल्दै जान्छ ।।

बामे सर्ने प्रयासमा धेरै चोटि लडेनि
जिउदैँ कयौँ घुम्तिहरु छल्दै जान्छ ।।

बाँकी नै छ ..

2

Category:


बिशाल आकाशको एउटा सानो टुक्रा
मेरो पछ्यौरीको छेउ भित्र गाँठो पार्दै
त्यही मेरो स्वर्ग बनाउने हिम्मत पलाएको छ..
मनको गमलाभित्र सपनाको फुलबारीमा
निश्चिन्त फुलिरहने मेरा ब्यग्र इच्छाहरुलाई फलाउँदै फुलाउँदै
कोपिलामा रङ भर्न भरपुर प्रयासमा
मस्त निदाएका भावनाहरु गहिरो निन्द्राबाट झसँग ब्युँझिए झैँ
एक एक गर्दै जुर्मुराइ रहेछन् ..
तर ,
यसपाली चाँही सचेतमा आँखाहरु उघारिरहेछन्..
फेरी प्यारालाइसिस नहुने विश्वाश सहित ,
एउटा दरिलो अठोठ लिएर..
चेतनाको आगोहरु लिएर ..

एकै टुक्रा आकाशमा पनि बिना सिमा रेखा
यसैलाई खोज्न पाइलाहरु निरन्तर भौँतारिरहेछन्..
र त जति हिड्यौ उति नै नयाँ बाटाहरु निर्माण हुँदै जान्छन्..
भावनाहरु आकाशिदैँ उसरी नै रहरहरु उक्लिदैछन्..
इन्द्रेणीका रङ्हरु छर्दै जीवन रङमञ्चमा उत्रिदैँछन्..
त्यसैले ,
जति बाँचे भन्छु जीवन झन् गहिराइमा यो भासिदैँ जाँदा
मलाई लाग्दैछ ,
म मेरो आकाशभित्र सयर गर्न अझै सिगैँ यात्रा बाँकी नै छ..
मेरो मुल घर सम्म पुग्न कति झर्नु र उक्लनु बाँकी नै छ ..
जीवनलाई ठोस परिभाषित गर्न पुरै जीवन जिउन बाँकी नै छ ..