गजल

2

Category:

तीज आयो भन्दै सबै फुरफुर भा'छ बरी लै
सिन्दुर्,पोते,चुरा र रातो साडी ला'छ बरी लै

दिदीबहिनी,साथीसँग दर खाई आमाको काखमा
माइतीको आँगनमा छमछम नाची गा'छ बरी लै

छैन माइती लिन आउनलाई न त स्वामी ज्यु नै
मै दुखी कहाँ जाउँ, पिडाले मन खा'छ बरी लै

सारा खोसीए सौभाग्य मेरो,उजाड बनाइदिए मलाई
मनको बह आँसु सगैँ एकान्तले धुई रा'छ बरी लै

वाध्यतामा बाँच्नुपर्ने कस्तो चलन हो यो हाम्रो ?
परिवर्तनको साथ हैन,खोक्रो सान्तवना पा'छ बरी लै

मनै त हो विधुवाको पनि के ले छेक्न सक्छ र ?
कसले बुझ्ने विवशता यो, सोध्न आ'छ बरी लै


विधुवा दिदीबहिनीहरु जो बिभिन्न कारणहरुले गर्दा आफ्ना माइती र श्रीमानहरु गुमाउनु भएको छ, उहाँहरुकै अन्तरमनका भावनाहरुलाई प्रतिनिधित्व गर्दै यो गजलको प्रयास उहाँहरुमा समर्पित गरेकी छु। कसैको भावना प्रति ठेस पुग्न गएमा माफी चाहन्छु ।

परदेशी माया

4

Category:

देउराली भर्‍ज्याङ्लाई साक्षी राख्दै
पाखा, पखेराहरुलाई माया मार्दै
तिमी पस्यो मुग्लान पारी ,
मेरो आँखाबाट दुर भैइ यहाँ एक्लै छाडी..

मेलापातमा भुले कहिले म त
गाउँ र बेसीँ गर्दै दिनहरु बिताएँ..
रोधीँ र घाँटुहरुमा तिमीलाई कति सम्झें,
मान्छेहरुको हुलमा पनि आफुलाई नितान्त एक्लो पाएँ..

औंला भाँची भाँची दिनहरु बिताउथेँ,
पिढीँको डिलमा बस्दै तिम्रै बाटो कुरी बस्थेँ,
कति उराठिला हुँदा रहेछन् प्रतिक्षाका दिनहरु..
सार्‍है पिडादायी हुँदा रहेछन् बिछोडका यी पलहरु..

दिन बिते,हप्ता बिते, बिते कयौं महिनाहरु,
न त पाए पत्र तिम्रो न त कुनै खबर नै..
आँफैले सान्तवना दिदैं मनलाई सम्हाल्दै गएँ..
भोलिको आशमा,अतितका दिनहरुसँग डुबुल्की मार्दै गएँ..

तर कल्पना, कल्पनामै सिमित रहयौ,
आएनन् कुनै मन बुझाउने चिट्ठीहरु..
मेरो माया कुशल नै छौ र तिमी त्यहाँ ?
कतै घोर दु:खमा परेको त छैनौ परदेशमा ?
मेरा आशुँहरुको चित्कारले छोएन होला तिम्रो मुटुमा ?

सोच्छु कतै तिमीले गाउँले माया भुलिदियौ कि ?
भगवानलाई भाकी खाएका कसमहरु तोडिदियौ कि ?
साथै बुनेका सारा सपनाहरु बिर्सिदियौ कि ?
यी सङ्ला खोला नालाहरुलाई भुलि ,
बिदेशी रमझमलाई पो अगाँल्यौ कि ?