आत्म उद्घोष

2

Category:

उ एकतमासले आकाश तिर हेरिरहेछ
वादलको घुम्टोले सुर्यलाइ विस्तारै छोप्दै
रातलाइ स्वागत गर्दैछ ।
छिनछिनमा प्लेनका आवाजहरुले उ झस्किन्छे
एकहुल चरी हरु चिरविर गर्दै
वासस्थानतिर फर्किदैँ होलान् यतिखेर ।
टिलपिल रोशनी को उपस्थितिमा
सन्नाटाको वायुमण्डलभित्र हराउँदै
अनुत्तरित प्रश्नहरु सोधिरहदोँ हो, खोजिरहदोँ हो आँफैसँग ।


बुर्का भित्र मात्र लुकाइएको मुहारको मुल्य कहाँ हुन सक्ला ?
एउटा नोकरको परिचय त्यो भन्दा अरु केहि होला ?
कसैको डर र दवाबमा जीवन बचाँइनुको अर्थ बाँच्नु हो त ?
तर,
मान्छेको भुगोलमा मान्छेले मान्छेलाइ किन बुझ्दैनन् ?
स्वतन्त्रता सवैको अधिकार हो,
समानता ईतिहासदेखिको माग हो,
आफ्नै जैविक मान्यता र चाहना अनुसार
जीवन यापन गर्न पाउनु हरेक नगरिकको हक हो ।

त्यो कानुनले किन संसार भरि पूर्णता पाएन ?
बेलायत होस् कि भुटान, नेपाल होस् कि भारत
अन्यायमा पिल्सिनेहरु पिल्सि नै रहेछन्
गोरा र ठाकुरहरुले छात्ती फुलाइ नै रहेछन् ।

अहँ, उ आत्म समर्पण गर्न पटक्कै तयार भईन ।
सास फेर्नुकै निम्ती कसैको इसारामा नाच्ने पुतली उ भईन ।
उ जान्दछे,
जवसम्म उ आफुबिरुद्ध उभिएका पिसासुहरुसित डराउँछे ,
तवसम्म उ एक कैदी सरह हुन्छे
जसको आत्मा स्वत अस्तित्व र परिचयमा सधैं भड्किरहन्छ ।

त्यसैले,
आज उसका आफ्नै मुल्य र सिद्दान्तहरुका निम्ती घोर लडेर आएकी छे ।
उसको आत्म सम्मान उपर जितेर आएकी छे ।
जीवन बाँच्नुको वास्तविकता बुझेर आएकी छे ।
आज उ आफैंमा सच्चा बिजेता घोषित भएकी छे ।