ओईलिएको साईनो

5

Category:




जहिले जुन र ताराहरु लुक्छन् आकाशको छात्तीभित्र
चकमन्न अध्याँरोमा
कहाली लाग्दो, निस्सार समयको एउटा पाटो बन्छ ।
ठीक तिमीले मलाई त्यस्तै
औसीँका दिनहरु उपहार दिएर गयौ ।
त्यसैले अचेल म ,
हररात विल्कुल शुन्य सन्नाटाको गोलार्धमा पिल्सिरहेछु ।
प्रत्यक रात रित्तो अझै रित्तो बन्दै गईरहेछु ।
अनी उही औसीँमय गोलार्धमा ,
अमुल्य समयहरु जानी नजानी फ्याँकीरहेछु ।

तर,
आज मलाई त्यो दैनिकि बिरुद्ध हुन मन लाग्यो
म आँफैसँग लडेर आज यो ब्यर्थको गोलार्धभित्र
समाहित हुन दिईरहेकी छैन ।
मैले त मात्र समर्पण गरेकी थिएँ
शरीर दुई भए पनि आत्मा एकै बनेर
जीवनका ओकाली,ओरालीहरु सगैँ हिडौँला भनि
चोखो कसम खाएकी थिएँ
आस्था,भरोसा र त्यागको त्रिबेणीमा
मेरो वर्तमान र भबिष्यहरु बिना सम्झौता
तिम्रै नाममा जोडीदिएकी थिएँ ।

अब ,
तिमी नै भन ,
तिमी प्रति निश्छल भावनामा समर्पित हुनु
र बदलामा पीडा मात्र पाउनु के मैले ठुलो भुल गरेँ र ?
मैले मेरो अस्तित्वलाई तिम्रो स्वाभिमानसँग स्वीकार गर्दा
कँही, कतै कमी देखियो र ?
आँखाहरुमा नकोरिएका सपनाहरु बुन्नु
अनी बाचा, बन्धनभित्र बाँधिने रहरहरुमा
तिम्रो स्वतन्त्रताको हनन पो गरे कि ?
तिम्रो लागि प्रेम सस्तो खेल भएछ भने
मलाई किन यति सार्हो महँगो र गर्हौ भईरहेछ ?

त्यसैले ,
आज यो मन कठोर भएर उभिएको छ र भन्दैछ,
भो अबदेखि तिमी मलाई बिथोल्न नआउ ।
चर्केको मुटुभित्र झन ब्यथा बढाउन नआउ ।
निर्जिव हुन लागेका भावनाहरु लाई
फेरी ठेस पुर्याउन नआउ ।
आशा र सपनाहरु भुलेको मान्छेलाई
ब्यर्थमा झस्काउन नआउ ।
नयाँ पाइलाहरुको शुरुवातमा तगारो बनि 
मेरो जीवनमा तिमी भुलेर पनि नआउ ।।