खबरदार ... !

3

Category:

मानवता भित्र दानवता खल्बलाएपछि
तुच्छ भावनाले ओतप्रोत भएका
राक्षसी मस्तिस्कहरु
दिउँसै रतन्धो लागेर
अन्धकारमा जिउने धर्तीका भारहरु
जसले फरक छुट्ट्याउन नसक्ने रहेछ
जसले नदेख्ने रहेछ भिन्नता
नारी प्रतिको संवेदना
जो आफ्नै आमा, दिदीबहिनी, साथी र जीवनसाथीको रुपमा
प्रतिक लिएर उभिएकी छे
जहिले ति कामुक आँखाहरु उन्मुक्त भई
एउटा कालो छाँया सहित निर्दोष नारी माथि पर्छ
उ जस्तै मानव तर नारी
जसको एक एक गरिकन अस्तित्व लुटि
कालो ढब्बा लगाइ छोड्छ
उ भित्रको उकुसमुकुस प्यासलाइ मेटाउँछ
एउटा पशुजस्तै बिना संकोच
आफ्नै आत्मलाई गिराएर
शार्रिरीक त्रिश्नाका तरेलीहरु अघाउन्जेल पुरा गर्छ
तब घोर पुरुषार्थ गरे झैँ त्यो पल
उ एकछिन रमाउँछ

अनी फेरी ,
उही नर पिचासहरु कृत्रिमताको मुकुन्डो लगाइ
खिस्स दाँतहरु देखाई आदर्श मान्छे बनि हिडिँरहन्छ
अझ उल्टो लज्जास्पद शब्दहरु पिडितमाथि फ्याँक्दैँ
छाती ठोकी निस्पिर्की बोलिरहन्छ
उपहासका बोलिहरु बारुद झैँ बर्साइरन्छ
अनी उ जान्छे सहारा खोज्दै
धाउँछे न्यायका ढोकाहरु चिच्याउँदैँ
प्रत्यक मान्छेहरुलाई घटना सुनाउदैँ
प्रत्यक पटकका बर्णनहरुमा उ दोहोरि नै रहन्छे
कहिले कसैको सहनाभुतिको पात्र बन्छे
त कहिले कसैको हाँसोको उदाहरण बन्छे

तर ,
त्यो चित्कारले कुनै स्वरुप पाउँदैन
सहानाभुतिका हातहरुले गन्तब्य भेट्टाउँदैन
अदालतका कठघराबाट केही राहत मिल्दैन
आफ्नो इज्जत लुटिनुको कुनै भर्पाइ पाउँदैन
भने ,
कहाँ छ सरकार अनि हक अधिकार ?
कहाँ छ शान्ती सुरक्षा र प्रतिबद्धता ?
कहाँ छ कानुन अनि समानता ?

तर , अब खबरदार !
किनकी ,
एउटा नारीलाई तिमीले बेहोस बनाएर
तिमी आफुलाई पुरुषार्थ ठान्छौं भने
त्यो तिम्रो बिल्कुलै संकुचित सोचाइ मात्र हुनेछ
खुम्चिएको सानो दुलोभित्र बाँचिरहेको
एउटा मुसो जस्तो हुनेछ
त्यसैले , तिमी यो बुझिराख कि ,
नारी कमजोर मात्र छैन
नारी एक्लो मात्र छैन
नारी सहनशील मात्र छैन
नारी कर्तब्यनिष्ठ मात्र छैन


प्रहरीबाट कार्यालयमै सामुहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको घटनालाई आधार बनाएर रचिएको कविता तपाईंहरुको माझ पस्कीएँ , आशा छ सवैलाई स्विकारोक्ती हुनेछ होला भन्दै सुझाब रसल्लाहको अपेक्षामा..

देवकोटा सतबार्षिकी कार्यक्रम र दिपावली साँझ

1

Category:

यो बर्ष महाकवी लक्ष्मी प्रशाद देवकोटाको सतबार्षिकी परेको पुनित उपलक्ष्यमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) इजरायल च्याप्टरले पनि त्रिदिवसीय कार्यक्रम गर्ने योजना गर्‍यो र यसै अनुरुप शुक्रबार साँझ देवकोटाको सम्झना स्वरुप सयवटा दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुरुवात गरियो र दोश्रो दिनमा नेपाली राजदुतावास बाट उपस्थित हुनु भएका प्रमुख, उपप्रमुख र सचिबहरुको उपस्थिती तथा इजराएलमा नेपाली समुदायको हकहितको लागि बिभिन्न उद्देश्यहरु लिई स्थापना भएका संघ संस्थाहरुको प्रतिनिधिको उपस्थितिमा शुरु भएको उक्त दिनको कार्यक्रममा उहाँहरुले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो भने त्यही अवसरमा शुभ दिपावलीको शुभकामना पनि आदान प्रदान गर्नुभएको थियो र कार्यक्रमको दोश्रो चरणमा अनेसास मै सम्न्धित हुनु रहनु भएको कवी, कवयत्री तथा गजलकारहरुले आ-आफ्नो रचना बाचन गर्नुभयको थियो र अन्त्यमा अनेसासकै अध्यक्ष श्री सुनिल संगम दाइबाट त्यो दिनको कार्यक्रम बिसर्जन गरिएको थियो । तेश्रो तथा अन्तिम दिन अनेसासकै हात्तेमालोमा निकालेको "मेरो नेपाल" नामक साहित्यिक पत्रिकाको बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा लोकार्पण गरी त्रिदिवसीय सतबार्षिकी कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो।


अनी हामीलाई नेपाली नारी आवाज संस्थाबाट शनिवार साँझ हुन लागिरहेको दिपावली साँझ र लक्ष्मीपुजा कार्यक्रमको निम्तो आएको थियो त्यसैले हामी सवै एकट्ठा भई त्यहाँ पुग्यौँ। सयौँ नेपालीहरुको उपस्थिती रहेको त्यो खुल्ला लेभिन्स्किको पार्कमा रोमान्चक वातावरण थियो , पुरै चौर खचाखच भरिएका थिए सवैजना कार्यक्रमको तीव्र प्रतिक्षामा थिए भने background नेपाली गीत संगीत बजिरहेकै थियो। केही छिनपछि लक्ष्मीको पुजा आराधना गरि दियोहरु बाली बिस्तारै कार्यक्रमको शुरुवात गरिएको थियो र तिहारको गीतमा नाच र देउँसी भईलो पनि खेलिएको थियो जसले तिहारको तिर्सना मेटाइदिएको थियो भने भारतीयहरुको पनि दिवाली परेको कारण सवै मिलिजुली यो कार्यक्रम आयोजना गरिएको थियो भने बिभिन्न संस्थामा आबद्द भएका इजराएली ब्यक्तिहरुको अतुलनिय सहयोगमा कार्यक्रमले मुर्त रुप पाएको थियो जहाँ थुप्रै इजराएलीहरु पनि कार्यक्रम हेर्नको लागि उपस्थित भएका थिए । रोचक नेपाली नाचहरु सगैँ भारतीयहरुको गुजराती नाच र डाँडिया नाचले कार्यक्रमलाई थप आकर्षण प्रदान गरेको थियो र कार्यक्रम अझ रोमान्चित त त्यँहा निर बन्यो जहाँ इजराएलीहरुले भजन किर्तन गाइरहेका थिए । हामीहरु यहाँ आई डिस्को, क्लबको क्षणिक आनन्दमा आफ्नो धर्म संस्क्रिति भुलिरहेको बेला बिदेशी मान्छेहरुले यती धेरै उत्सुकता जनाएको देख्दा हाम्रो अत्याधुनिक बिचार धारा र जीवनशैली माथि कता कता गिज्यारहे जस्तो भान भयो मलाई तर जस्तो भएपनि कार्यक्रमको अवधिभर रमाइलो गरेर नै मनाइयो अनी साथसाथै लक्ष्मी पूजाको प्रसाद ग्रहण गर्ने अवसर पनि मिलेको थियो, मनमा अति नै सन्तोष लागिरहेको थियो त्यतिबेला, यिनै सम्झनाहरुको कोशेली आज यहाँ तपाईंहरु माझ बाँडेकी छु ।











सम्झौता

0

Category:


जीवनका गोरेटोहरुलाई पछ्याउँदै जाँदा
कति ठोक्कीएँ हुँला यात्राहरुमा
कति लुटिएँ हुँला अन्जान परिस्थितीहरुमा
कति आत्तिएँ हुँला दु:खहरुमा
कति मात्तिएँ हुँला सुखहरुमा
बश अनुभबहरु बटुल्दै गएँ
आफुलाई दाँज्दै गएँ
समयको बनावटसगैँ तिखारिदैँ गएँ
अहँ, यतिले मात्र जीवन भरिदैन रहेछ,
अनि सम्झौता यही निर गर्नु पर्ने रहेछ ।।

मान्छे न हो , फेरी
धेरै सपनाहरु बुनियो आँखाहरुमा
धेरै रहरहरु साँचियो मनमा
धेरै आशाहरु तुनियो मस्तिस्कमा
तर,
थोरै मात्र खुशी पाएँ, धेरै त आँशुमा नै उभ्याएँ
असफलता नै हात परेपनि
निरासताकै टोपी पहिर्‍याउनु परेपनि
जीवन रथ त अगाडि बढाउनै पर्ने
पाइलाहरुलाई जीवन्तता दिनै पर्ने
फेरी सम्झौता त्यही निर गर्नु पर्ने रहेछ ।।

सास रहुन्जेल आश हुन्छ भन्छन्
घोडा चढ्ने मान्छे लड्छ भन्छन्
त्यसैले ,
जति नै लडे पनि
जति नै भाग्यले ठगे पनि
जति नै कर्मले परिक्षा लिए पनि
जति सिथिल अनुभब गरे पनि
फेरी सम्झौता त्यही निर गर्नु पर्ने रहेछ ।।

अर्को नयाँ सम्झौतामा ,
नौला आशाहरु लिई
आत्मबिश्वासलाई नव जीवन दिई
सपनाहरुलाई फेरी सँगालेर
आस्थाहरुलाई फेरी मालामा उनेर
जीवनलाई ठोस आकार दिनुपर्ने
नियति नै रहेछ जीवनको
आखिर सम्झौता नै सहारा रहेछ हरेक नव युगको
हो, अनी फेरी सम्झौता यहीँ निर गर्नु पर्ने रहेछ ।।

तिहार : संक्षिप्त चिनारी र संस्मरण

1

Category:

दशैँले बिदा मागे लगत्तै फेरि तिहारका रमझमहरु घरभित्र भित्रिने तर्खर गर्दैछ। साँचै भन्नुपर्दा दशैँमा भन्दा तिहारमा मलाई बिशेष रमाइलो लाग्छ। चारैतिर दियोको टिलपिल टिलपिल उज्यालो हेरिरहुँ झैँ लाग्ने सुन्दर सजावटसँग एउटा बस्तिलाई पूर्ण सुन्दरता थपिदीए झैँ भान हुन्छ। देउँसी, भईलो जस्ता आफ्नै मौलिक परम्पराले तिहारलाई सुन माथि सुगन्ध थपिदिन्छ अनी गोदावरी,सयपत्री र मखमली फुलहरुले प्रकृतिलाई नै बैँश भरिदिए जस्तो लाग्छ। घरमा आमाले पकाउनु हुँदै गरेको सेलरोटीको बासनाले तिहारको आभास दिलाउँछ र बजारमा धनकी लक्ष्मीलाई पूजा,आराधना गर्न राखिएको सामाग्रीहरु, आफ्नै घरको सिलिङ, झ्याल तथा ढोकाहरुमा सजाउन राखिएका आकर्षित बस्तुहरुको सजावटले तिहारको आगमनलाई बिछट्टै सुन्दर ढगँले प्रस्तुत गरियको हुन्छ। तिहारलाई दिपावली,द्दुतिया, र दिवाली जस्ता पर्यायवाची शब्दहरुबाट पनि चिनिन्छ। तिहार बिशेष गरेर दिदीबहिनी र दाजुभाइबिचको पर्व पनि भनिन्छ किनकी यसको आस्था र विश्वाश अनुसार दिदीबहिनिहरुले आफ्ना दाजुभाइहरुलाइ सप्तरङी टिका लगाइ उनिहरुको उन्नति र प्रगति अनी सु-स्वास्थ्यको कामना गर्दछन् र कहिले नओइलिने मखमली फुलको माला पहिर्‍याइ दिर्घायुको कामना गर्दछन भने दाजुभाइहरुले जीवनमा कहिले दु:ख,कष्टहरुसँग झेल्न नपरोस् भनि कतिले घरको संघारमा गई ओखर फुटाउने गर्छन्।

पाँच दिन बिशेष तरिकाले मनाइने यो उज्यालोहरुको चाडमा पहिलो दिन कागलाइ पूजा गरिन्छ, दोश्रो दिन कुकुरलाई, तेश्रो दिन गाइलाई पूजा गरिन्छ भने सोही दिनको बेलुकी धुमधाम सित लक्ष्मीपूजा गरिन्छ। घरको छत, आँगन , झ्याल ढोका सबैतिर दियोहरु बाली चारैतिर उज्यालो बनाइन्छ र त्यही साँझदेखी नै देउँसि,भैलो खेल्न सुरु गरिन्छ। भोलिपल्ट गोबर्द्धन पूजा गरेर चौंथो दिनलाई बिदा गरिन्छ भने पाचौँ अर्थात अन्तिम दिन भाईटिका वा भाईपुजा गरेर तिहारलाई बिधिबत रुपमा सम्पन्न गरिन्छ।
ठाउँ, जातिय बिबिधता,रितिरिवाज र संस्कृतिको आधारमा फरक फरक नाम दिई आ-आफ्नै मौलिक तरिकाले मनाय पनि आखिर तिहारको उद्देश्य चाँहि एउटै हो।
यही पर्व नजिकिदैँ गर्दा म आफुलाई पनि अलग राख्न सक्दिन। तीनबर्षको बिछोडपछी फेरी स्वदेशमा गैइ आफ्नो परिवारसँग तिहार मनाउने सौभाग्य मिलेको थियो पोहोर साल, कहिलेदेखि साँचेका सपनाहरु अनि रहरहरु केहि हदसम्म पुरा पनि भए र तिहार निकै हर्षोउल्लास साथ मनाइयो। धेरै समयपछी परिवारका सवै सदस्यहरु भेला भई तिहार मनाउन पाउँदा हामी सवैजना दङ्ग र उत्साहित थियौँ। मनमा त्यसै त्यसै रमाइलो लागेर आयको थियो, घरमा गमलाभरी गोदावरी,सयपत्री जस्ता रङिबिरङी फुलहरुले पुरै घरलाई शुशोभित बनाइ राखेको थियो। ति कलिला बिरुवाहरु फुल बनेर ढकमक्क नफुले सम्म आमाले कति जतन गरेर हुर्काउनु भयो भनेर भन्नुभएको थियो र अहिले पनि मनै लोभिने गरेर आँखा अगाडि नाचिरहेका छन्। मैले फोनमा सोधेकी थिएँ उहाँलाई , यसपाली पनि त्यसरी नै फुलहरु फुलाउनु भयो होला है भन्दै तर उँहा त यति दुखि भयर भन्नुभयो , फुलहरु त फुलेका छन् तर मनमा उल्लास छैन,हर्ष छैन। तिमीहरु यति टाढा छौ, जे भयपनि यहाँ अपुरो हुन्छ, तिमीहरु बिना सवै अधुँरा लाग्छन्। पोहोर पो तिमीहरु थियौँ, जोश जाँगर थियो अनि सवैतिर झलमल्ल थियो, यसपाली त सवै रित्तो रित्तो भए झैँ लागेको छ। एकै सासमा एकैचोटि आमाले कति धेरै गुनासोहरु पोख्नुभयो। हुन पनि आमाको मन न हो रमाइलो लागोस् पनि कसरी तर हामी पनि त कँहा खुशी छौँ र परदेशमा। यस्तै चाडपर्वहरुमा त उहाँहरुको अनुपस्थितिमा पानी बिनाको माछा जस्तै हुन्छौँ, बिरानो मुलुकमा झन उराठिन्छौँ, बाटो बिराएर रणभुल्लमा परेको एउटा निर्दोष बालक जस्तै तर यी सवै पिडाहरु ओकलेर उहाँहरुलाई झन दुखी बनाउन को साटो आफुलाई सम्हालेर हाँसी हाँसी यस्तो उस्तो भनेर राहत दिने प्रयत्न गर्छु ता की उहाँहरुलाई मन राख्ने बाटो मिलोस् । शायद यो सवैमा लागु नहुन सक्छ, मैले मेरो आफ्नै नितान्त ब्यक्तिगत भावनाहरु र व्यबहारहरु शब्दमा पोखिरहेकी छु यस्तै गरी -

शरद ऋतुको मधुर मौसममा
पर्वहरुको उन्मादले
हिला, मैला बातावरणलाई
मिठा रस भरिरहेको बेला
मेरी आमा
परदेशी सन्तानहरुको पर्खाइमा
दिन रात औलाहरु भाँची
आशा र मिलनका दियोहरु बाल्दै
मनको दैलो उघारै राखी
पलपल जागै बस्दी हुँन्
खबर केही नआउँदा,
आँखाले देख्न नपाउँदा
सुक्क सुक्क गर्दै
पछ्यौरीले मुख छोपी एक्लै
बेदनाका आँसुहरु कति झार्दी हुँन् ..

यिनै संस्मरणका मिठा सम्झनाहरुलाई तितो यथार्थसँग तुलना गर्दै तिहारको माहोलमा दाजु तपाईंलाई पनि अति धेरै सम्झेकी छु। तपाईं त्यो मरुभुमिमा कर्तब्यपथको यात्रामा हिडिरहनु भएको छ होला म पनि यहाँ आफ्नो कर्मभुमिमा लडिरहेकी छु। मलाई विश्वाश छ तपाईं हाम्रो यो चाडमा त्यो कोसौं दुरी टाढाबाट पनि तपाईंले हामीलाई बेजोड सम्झिरहनु भएको छ । गएको साल हामीले कति धेरै रमाइलो गरेको,तपाइको स्मरणमा आज पनि ताजै छ होला। मेरो यसपालिको तिहार त यिनै सम्झनाका लागि खिचेका तस्विरहरुको सहारामै बित्ने भयो। आमासँग कुरा गरेकी थिएँ, आवाज सुन्दा साँचै नरमाइलो लाग्यो। उहाँलाई त केही झैँ पनि लागेको छैन रे, दशैँ गयो अब तिहार आउँदैछ झन बिरक्त लाग्दैछ भन्नुभयो। मैले त सम्झाउने प्रयास गरेँ र कुरो अन्तैतिर मोडाएँ र फोन राखेपछी बिछोडका आँसुहरुसँग एकैछिन आफुलाई पगालेँ। तपाईंलाई पनि त्यस्तै हुन्छ होला है त्यहाँ ? के गर्नु भाग्य भनौँ या कर्मको खेलमा पौडिडैँ जादाँ एउटै परिवार पनि चारैतिर छरिएर अलग्गिएर बस्नुपरेको छ। त्यो पछाडिको आफ्नै बाध्यता, विवसता र लक्ष्यहरु त छन् नै तरपनि कतिबेला आफ्नोहरुसँग टाढियर बस्नुपर्दाको पिडाले मन कटक्क खाँदो रहेछ तर जे भएपनि आशा त अझै मरेको छैन, संघर्षरत यात्रामा कहिलेकाहिँ बिछोडिनु परेपनि भोलिको उज्जवल भबिष्यको परीकल्पनासगैँ आजका झिना,मसिना त्यागहरुलाई सम्झेर चित्त बुझाउने बाटो हामी सवैले रोज्नुपर्छ। आखिर ढिलोचाँडो एकदिन त हामी आफ्नै जन्मभुमिमा फर्केर त जान्छौँ नै त्यसपछि हाम्रो मिलनका दिनहरुमा बिछोडका शब्दहरु जोडीने छैनन् भन्ने पूर्ण आशा लिएकी छु। तपाईं पनि आफ्नो लक्ष्यसम्मा पुग्न निरन्तर पाइलाहरु अघि बढाइ रहनुहोला। आज यो सानो लेख मार्फत नै तपाईंलाई सम्झेर शुभ दिपावलीको अबसरमा शुभकामनाकका शुभेच्छाहरुसगैँ तपाइको उत्तरोत्तर प्रगति, सु-स्वास्थ्य र दिर्घायुको कामना गरेकी छु। सप्तरङी टिकाहरु लगाइदिन नपाए पनि सप्तरङी इन्द्रेणी झैँ रङ फिजाएर जीवनमा नौला उमगंहरु छर्न सक्नुहोला भनि प्रार्थना गरेकी छु , मखमली फुलका मालाहरु पहिर्‍याइदिन नपाए पनि मखमली फुल झैँ दिगो भइरहनु र दीपावलीको दीप जस्तै रोशनी छरेर अध्याँरोलाइ छोपी सधैं उज्यालोतिर तपाईंका खुट्टाहरु लम्किरहोस् र तपाइका हर इच्छा अनी लक्ष्यहरु चाँडै नै पुरा होउन् भन्ने कामना गर्दछु। पोहोर साल जस्तै सगैँ बसेर हाँस्दै, रमाउँदै सवै एकै ठाउँ जम्मा भई खाना खान नपाएर त के भयो र ? यसपाली आमाले बगैँचा भरी रोप्नुभएको फुलहरुले तपाईंको गलामा मुस्कुराउने संयोग नपाएर के भयो र ? तर एकदिन ति सवै कुराहरुले सार्थकता पाउनेछ भन्ने मेरो बलियो अभिलाषाका साथ फेरी पनि परदेशी बहिनीको तर्फबाट परदेशी दाजुलाई तिहारको धेरै धेरै सम्झन्,माया र शुभकामनाका शब्दहरु उपहार स्वरुप टक्र्‍याउँदै यो सालको तिहार यसै गरी भावनामा बहेर मनाउन वाध्य छु म ...

गोदावरी, सयपत्री बगैँचाभरी फुले
मखमली त झन् गमला भरी झुले

आफु त यहाँ परदेशमा एक्लै राजै
दशैँ न तिहार सधैं काममा नै भुलेँ

नझारे नि आँसु आमा! बाले है दियो
सपनिमै आँगन्,दलान चारैतिर डुलेँ

सधैं हिडिरहनु शिखरको बाटो दाजै
जीवन भरी सप्तरङी टिका झैँ खुले

बाधा, पिडा ओखरमा फुटाउनेछु मैले
कामना,प्रार्थना अबिरल मनभित्रै तुलेँ