तीज आयो भन्दै सबै फुरफुर भा'छ बरी लै
सिन्दुर्,पोते,चुरा र रातो साडी ला'छ बरी लै
दिदीबहिनी,साथीसँग दर खाई आमाको काखमा
माइतीको आँगनमा छमछम नाची गा'छ बरी लै
छैन माइती लिन आउनलाई न त स्वामी ज्यु नै
मै दुखी कहाँ जाउँ, पिडाले मन खा'छ बरी लै
सारा खोसीए सौभाग्य मेरो,उजाड बनाइदिए मलाई
मनको बह आँसु सगैँ एकान्तले धुई रा'छ बरी लै
वाध्यतामा बाँच्नुपर्ने कस्तो चलन हो यो हाम्रो ?
परिवर्तनको साथ हैन,खोक्रो सान्तवना पा'छ बरी लै
मनै त हो विधुवाको पनि के ले छेक्न सक्छ र ?
कसले बुझ्ने विवशता यो, सोध्न आ'छ बरी लै
विधुवा दिदीबहिनीहरु जो बिभिन्न कारणहरुले गर्दा आफ्ना माइती र श्रीमानहरु गुमाउनु भएको छ, उहाँहरुकै अन्तरमनका भावनाहरुलाई प्रतिनिधित्व गर्दै यो गजलको प्रयास उहाँहरुमा समर्पित गरेकी छु। कसैको भावना प्रति ठेस पुग्न गएमा माफी चाहन्छु ।
देउराली भर्ज्याङ्लाई साक्षी राख्दै
पाखा, पखेराहरुलाई माया मार्दै
तिमी पस्यो मुग्लान पारी ,
मेरो आँखाबाट दुर भैइ यहाँ एक्लै छाडी..
मेलापातमा भुले कहिले म त
गाउँ र बेसीँ गर्दै दिनहरु बिताएँ..
रोधीँ र घाँटुहरुमा तिमीलाई कति सम्झें,
मान्छेहरुको हुलमा पनि आफुलाई नितान्त एक्लो पाएँ..
औंला भाँची भाँची दिनहरु बिताउथेँ,
पिढीँको डिलमा बस्दै तिम्रै बाटो कुरी बस्थेँ,
कति उराठिला हुँदा रहेछन् प्रतिक्षाका दिनहरु..
सार्है पिडादायी हुँदा रहेछन् बिछोडका यी पलहरु..
दिन बिते,हप्ता बिते, बिते कयौं महिनाहरु,
न त पाए पत्र तिम्रो न त कुनै खबर नै..
आँफैले सान्तवना दिदैं मनलाई सम्हाल्दै गएँ..
भोलिको आशमा,अतितका दिनहरुसँग डुबुल्की मार्दै गएँ..
तर कल्पना, कल्पनामै सिमित रहयौ,
आएनन् कुनै मन बुझाउने चिट्ठीहरु..
मेरो माया कुशल नै छौ र तिमी त्यहाँ ?
कतै घोर दु:खमा परेको त छैनौ परदेशमा ?
मेरा आशुँहरुको चित्कारले छोएन होला तिम्रो मुटुमा ?
सोच्छु कतै तिमीले गाउँले माया भुलिदियौ कि ?
भगवानलाई भाकी खाएका कसमहरु तोडिदियौ कि ?
साथै बुनेका सारा सपनाहरु बिर्सिदियौ कि ?
यी सङ्ला खोला नालाहरुलाई भुलि ,
बिदेशी रमझमलाई पो अगाँल्यौ कि ?
ब्यथाहरु मनमै लुकाइ हाँस्नुपर्छ किन?
खुशीहरुलाई काखा लगाइ बाँच्नुपर्छ किन?
जीवन हो घाम छाँया,मिठो छ भन्दा
मुस्कान थोरै,आँसु धेरै साँच्नुपर्छ किन?
परिस्थितिको दासी भइ सधैँभरी हामी
नचाहदाँ पनि बन्धनलाई बाँध्नुपर्छ किन ?
नजरको दोष भनौ या समयको खेल हाम्रो
अतितको भुललाई बर्तमानमा दाँज्नुपर्छ किन?
जिउनु त पर्छ,मनको बाँधलाई रोक्दै पनि
टुटेफुटेको मनलाई फेरि गाँस्नुपर्छ किन ?
तिमी जुन...
अँधेरीमा ढकमक्क बलेकी छ्यौ
त्यो सुनसान रातमा,
मन्द शीतल पवनमा..
कहिले बादलहरुको घुम्टोहरुसँग
आफ्नो दिब्य मुहार लुकाउदैँ
कहिले जुनकिरी जस्तै ताराहरुसँग
लुकामारी खेल्दै..
प्रकृतिका चक्रहरुलाई आत्मसात गरी
रात्री आकाशलाई आफ्नै बशमा राख्दै..
सारा अन्धकार धर्तीमा
प्रकाशका किरणहरु छर्दै..
उस्तै गरी हररात चम्किरहेछौ
तिमी जुन...
जो अपार छ आँफैमा
जो निश्चल छ व्यबहारमा
जो एकाकार छ संसारमा
यिनै प्राकृतिक संरचनालाई
पूर्णता दिने क्रममा..
तिमी बिशाल आकाशको छात्तीमा
एक भैइकन पनि सबल छौ
तिमी जुन...
तिमीलाई छुन,तिमी भा ठाउँ पुग्न
तिमीलाई नै दाँज्छन हरेक प्राणी आज
मानब जीवनमा अन्योन्याश्रित
सम्बन्ध गाँसेकी
साथै यो पुरै भौतिक संसारकै
तिमी एउटा अभिन्न अँग
तिमी जुन...
माया गरी साँचिरहन्छु प्रीतभरी तिमीलाई
मन भित्र बाँधिरहन्छु सधैंभरी तिमीलाई
तिम्रो मोहनी नयन भित्र डुबिरहन पाउँ
जिबनका हरपल तिमी सगैँ रमिरहन पाउँ
मेरा सारा जिबन,आत्मा पनि तिमीलाई
म भित्रका प्यास जति सारा तिमीलाई
सम्हालेकी छु मुटु मेरो,तिमीलाई दिउँला भनि
पर्खेकी छु दिनरात्, तिमिसगैँ साटुँला भनि
म भन्नु नै तिमी हौ, मेरा सबै तिमीलाई
सजाउनु सधैं दिलमा अब,अर्पिदैछु तिमिलाइ
जिबनका सुख दु:ख साँच्न पाए हुन्थ्यो
अधरमा मुस्कान छरी बाँच्न पाए हुन्थ्यो
धेरै छन् ओकाली ओराली यात्राहरुमा हाम्रो
यसैसँग सुन्दर भबिष्य गाँस्न पाए हुन्थ्यो
हार्नु अनि जित्नु त जिबनको पाटो यहाँ
कमजोर नभइ आँसुमा नि हाँस्न पाए हुन्थ्यो
हिंड्नु छ अझै धेरै लक्ष्य सम्म पुग्न
चुनौतीलाई सामना गर्दै आँट्न पाए हुन्थ्यो
होलान्, आउँलान् थुप्रै संघर्षका मैदानहरु
फल्दै,फुल्दै अनुभबहरु बाँड्न पाए हुन्थ्यो
आज राती सपनीमा तिमी सुटुक्क आयौ
मेरो मनोकामनालाई पूर्ण बनाइदियौ..
तीजको पर्व नजिकिदैँ गर्दा ,
आमाको आभास दिलाई फेरी बिलाई गयौ..
म त हरेक रात पर्खने गर्छु तिमीलाई,
पलपल तिम्रै सम्झनामा बिताउने गर्छु..
तिमी त टाढा छौ म देखि धेरै टाढा
तर तिमीलाई म भित्रै हरपल अगाँल्ने प्रयत्न गर्छु..
खै ! आमा किन हो अचेल तिम्रो सम्झनाले,
साह्रै सताउने गर्छ मलाई ..
शायद तिमीले पनि त्यहाँ मलाई
बेजोड सम्झिरहेको हुनुपर्छ..
प्रतिक्षाको घडी हेर्दै,
दिनरात बिताइरहेको हुनुपर्छ..
आमा कहिलेकाही एक्लो भई बहकिदाँ,
तिमी मेरो सामुन्ने नहुँदाको पिडाले झन उराठिन्छु..
तिम्रो माट्रुशुलभ कोमल स्पर्शमा,
आकुल ब्याकुल यो मनलाई
थोरै भएपनि शीतलता दिन चाहन्छु..
म शब्दमा त ब्यक्त गर्न सक्दिन कहिले,
तिम्रो अभाब म मा कति खट्किएको छ भनेर
जब जब म कमजोर हुन्छु, निरास हुन्छु..
तिम्रो ममतामयी काख र प्रेरणादायी साथहरुको,
अनुपस्थितिमा म एकदमै बिचलित हुन्छु..
त्यसैले त म सात समुन्द्र पारी देखि ,
प्रत्यक रात तिमीलाई पुकारीरहन्छु..
यो मेरो तुहिएको, हतासिएको मनलाई
तिम्रै मार्गनिर्देशनमा,
मैले चालेका हरेक पाइलाहरुलाई
सफल गोरेटोहरुमा दोर्याउन चाहन्छु..
