दशैँ आयो भन्दा भन्दै आजभोलि गर्दै पुर्णिमाको दिन पनि नजिकिदैछ र अर्को बर्षको लागि थाँति राखेर ठिक एक बर्षपछि भेट हुने बाचा राख्दै बिदा हुनलाई संघारमा कुरी बसेको छ। नेपालमा हुँदा त आफ्नो परिवार, आफन्तहरुसगँ मनाइन्थ्यो । खै किन हो त्यतिखेर धेरै लगाव चाँही थिएन शायद नजिकको तिर्थ हेला भन्छन्, यही उक्ती चरितार्थ भयो होला त्यो समय किनकी हामी मान्छे जब घर आँगनदेखि टाढा हुन्छौ, आफ्नो परिवार्,आफन्त र साथीभाईको स्नेह र मित्रतादेखि दुर हुन्छौ अनी आफ्नो मौलिकता र संस्कृती देखि कोसौँ टाढा हुन्छौ हो, त्यतिखेर हामीलाई सवै कुराको यति धेरै महत्व लागेर आउँदो रहेछ, त्यतिखेर नै अनुभब गरिदोँ रहेछ, बिछोड के हो ? माया, ममता के हो ? आफ्नो जन्मभुमीदेखि टाढा हुनुको पिडा के को ? झन् त्यो माथि यस्तै दशैँ, तिहार जस्ता चाडपर्वहरु आइदिने हो भने साँचै मुटुमा एक किसिमको भक्कानो उठेर आउँछ, मनको आकाशमा चारैतिर कालो बादलले ढाकी विवशताका हुरीहरु आँसु बनि आँखाबाट कति सजिलै झर्छन्। कोलाहलमा पनि आफु नितान्त एक्लो भए झैँ हुन्छ र जताततै शुन्यताहरुले आफुलाई खाइरहे जस्तो हुन्छ मानौं संसारको सवैभन्दा दुखी प्राणी म नै हुँ, मलाई मात्र सन्तापहरुले घेरिरहेको छ, यस्तो चाडबाडको बेलामा परिवार,आफन्त र साथीभाईहरुसँग रमाइलो गर्नुको सट्टा यो मरुभुमीमा त्यही एउटा पेट पाल्नको लागि एक्लै संघर्ष गर्नुपर्ने म कस्तो अभागि मान्छे ? किन मलाई भगवानले खुशीहरुको भाग लगाइ दिएनन् ? किन मलाई आफ्नोपन देखी यति धेरै दुर बनाइदिए ? ... यस्तै यस्तै प्रश्नहरुको अन्तरद्वन्दमा फेरि वास्तविकतालाइ पनि त कहाँ भुल्न सकिन्छ र ? आखिर चाहेका ति सवै खुशीहरु र मनोकांक्षाहरु आज नै पुरा नभए पनि पोलिरहेको मनलाई शितलता छर्न आँफै नै अघि सरि भिभिन्न बाटोहरु खोजी जानी नजानी, सकी नसकी एकछिन भएपनी मल्हम पट्टी बाँध्ने उपायहरु त हामीले खोजी नै रहनु पर्छ बिरानो मुलुकमा पनि ।
ढुङ्गा खोज्दा देउता मिल्यो भने झैँ मलाई पनि सानो घरेलु निमन्त्रणा आइपुग्यो ल है यसपाली त दशैँ सवै मिलिजुली यहाँ पार्कमा मनाउनुपर्छ भन्ने खबर सुनियो र हत्तपत मैले त भन्दिहाले भईहाल्छ नि धेरै राम्रो, म त बिल्कुल राजी छु बरु के के गर्नुपर्छ भनी हाल्नुस् भने । अहिले त मैले काम गर्ने ठाउँमा थुप्रै नयाँ दिदिबहिनीहरु र दाजुभाइहरु आउनुभएको छ, हामी सवै मिलेर मनाउने हो भने शायद दशैँ तिहारको झझल्को धेरै नै कम हुन्छ होला। पहिलेको जस्तो अवस्था छैन अब, शुरुशुरुमा एकजना नेपाली भेट्न पनि कति मुस्किल पर्थ्यो काम गर्ने ठाउँतिर अहिले त जहिँतहीँ नेपालीहरु सजिलै भेटिन्छन्, उतिधेरै न्यास्रो लाग्दैन जस्तो लाग्छ मलाइ ।
अन्त्यमा सवै जनाको सल्लाहमा पार्कमा दिउँसो टिका ग्रहण गरी खाना खाने निर्णय भयो । कोही छुट्टीमा जानुभएकोले उपस्थित हुन सक्नुभएन त कोही आफ्नै भिभिन्न कारणबश हामीसँग सामेल हुन सक्नुभएन , नरमाइलो त लाग्यो नै तैपनी जति जम्मा भयौँ रमाइलो गरेर नै समय बितायौँ। सवै भन्दा ठुलो दिदीको हातबाट टिका ग्रहण गर्ने अवसर मिल्यो र नेपालमै जस्तो सेलरोटी,चिउरा, अचार, तरकारी, खसीको मासु जस्ता परिकारहरु सबै भेला भई खान पाउँदा हामी सवै यति खुशी देखिन्थ्यौँ कि त्यतिखेरको बातावरण नै एउटा संगीतमय बनेको थियो, हाँसो र मुस्कानका गुन्जायमान धुनहरु चारैतिर छरपस्त छरिएको थियो र केही समयको लागि मानौं हामी नेपालमा आफ्नै परिवार माझ छौँ , सवै दु:ख पिडाहरु बिर्सिएर दशैँको तिर्सना मेटाउने एउटा सुन्दर माहोल बन्यो यसपाली पार्कको दशैँ ।
यस्तै रमाइला क्षणहरुलाई जीवनभरी संगालिरहन तस्विरहरु खिच्न पनि पछी परिन र यि मध्य केही रमाइला तस्विरहरु तपाईंहरु माझ बाँडेकी छु। यस्तै रमाइला क्षणहरु सधैं सधैं आईरहोस्, परदेशमै भएपनि समय र परिस्थितिले साथ दिएसम्म मिलिजुली बसौँ, दु:ख सुखहरु आपसमा बाडौँ र एकर्काको सहारा बन्न सकौं र बनौँ भन्ने मेरो कामना र प्रार्थना सहित नमरी बाँचे कालैले साँचे अर्को दशैँको प्रतिक्षामा अहिलेलाइ बिदा !
18 Years of this space
-
How does this blog just exist? As I saw the date 08/08, I remembered my
blog out of nowhere today. And today, on the day this blog was created some
18 year...
1 month ago
