गजल

2

Category:

जुनी जुनी भरिलाई माया तिमिसगैँ लाएँ
कहिले नछुटिने कसम तिमीसगैँ खाएँ

एक्लास जीवनमा तिमी बहार बनि आयौ
आँखाभरी नअट्ने सपना तिमीसगैँ पाएँ

मन्-मन्दिर , गाउँ शहर सवैतिर चहाँरे
केवल तिम्रै वरिपरी मेरा नयनहरु धाएँ

खै तिमीसँग के छ र जादु त्यस्तो प्रिय ?
हर खुशी तिमी नै,आखिरमा तिमीसगैँ आएँ

तिमीले मलाई आभास गर्यौ कि गरेनौ कुन्नि
आत्मादेखि म तिम्रो मनको बस्ति-बस्तिमा छाएँ

मुस्कानहरु त सधैं फुलिरहुन् गमला भरि
बाधा, पिडा सगैँ बाँड्न तिम्रो हात थमाएँ

ओईलिएको साईनो

5

Category:




जहिले जुन र ताराहरु लुक्छन् आकाशको छात्तीभित्र
चकमन्न अध्याँरोमा
कहाली लाग्दो, निस्सार समयको एउटा पाटो बन्छ ।
ठीक तिमीले मलाई त्यस्तै
औसीँका दिनहरु उपहार दिएर गयौ ।
त्यसैले अचेल म ,
हररात विल्कुल शुन्य सन्नाटाको गोलार्धमा पिल्सिरहेछु ।
प्रत्यक रात रित्तो अझै रित्तो बन्दै गईरहेछु ।
अनी उही औसीँमय गोलार्धमा ,
अमुल्य समयहरु जानी नजानी फ्याँकीरहेछु ।

तर,
आज मलाई त्यो दैनिकि बिरुद्ध हुन मन लाग्यो
म आँफैसँग लडेर आज यो ब्यर्थको गोलार्धभित्र
समाहित हुन दिईरहेकी छैन ।
मैले त मात्र समर्पण गरेकी थिएँ
शरीर दुई भए पनि आत्मा एकै बनेर
जीवनका ओकाली,ओरालीहरु सगैँ हिडौँला भनि
चोखो कसम खाएकी थिएँ
आस्था,भरोसा र त्यागको त्रिबेणीमा
मेरो वर्तमान र भबिष्यहरु बिना सम्झौता
तिम्रै नाममा जोडीदिएकी थिएँ ।

अब ,
तिमी नै भन ,
तिमी प्रति निश्छल भावनामा समर्पित हुनु
र बदलामा पीडा मात्र पाउनु के मैले ठुलो भुल गरेँ र ?
मैले मेरो अस्तित्वलाई तिम्रो स्वाभिमानसँग स्वीकार गर्दा
कँही, कतै कमी देखियो र ?
आँखाहरुमा नकोरिएका सपनाहरु बुन्नु
अनी बाचा, बन्धनभित्र बाँधिने रहरहरुमा
तिम्रो स्वतन्त्रताको हनन पो गरे कि ?
तिम्रो लागि प्रेम सस्तो खेल भएछ भने
मलाई किन यति सार्हो महँगो र गर्हौ भईरहेछ ?

त्यसैले ,
आज यो मन कठोर भएर उभिएको छ र भन्दैछ,
भो अबदेखि तिमी मलाई बिथोल्न नआउ ।
चर्केको मुटुभित्र झन ब्यथा बढाउन नआउ ।
निर्जिव हुन लागेका भावनाहरु लाई
फेरी ठेस पुर्याउन नआउ ।
आशा र सपनाहरु भुलेको मान्छेलाई
ब्यर्थमा झस्काउन नआउ ।
नयाँ पाइलाहरुको शुरुवातमा तगारो बनि 
मेरो जीवनमा तिमी भुलेर पनि नआउ ।।

आँफैसँग टाढिएको भावनाहरु

3

Category:

मध्यान्न रात अनि सुनसान वातावरणमा
एक्लिएका भावनाहरु
कोठाभित्रका चार भित्ताहरुको साथमा
घडीको टिकटिक आवाजसगैँ बिना गन्तब्य, बिना उदेश्य
कलम आज किन त्यसै त्यसै पौडिन खोज्दैछ ।
तर ,
भावनाहरु कताकता शुन्यतामा सालिन भए जस्तो लाग्छ
आँफै आँफैमा हराए झैँ लाग्छ
कि त बहकिन तयार नै छैनन्
वा मैले बहकाउन सकिरहेकी छैन ।

फेरी, यो बलले गर्ने कुरा पनि त होइन
यो त स्व-स्फुर्त बोल्न सक्नुपर्छ
जसले हरेक पाठकको मन्,मुटु छुन सकोस् ।
भावना, भावना भएर उर्लिनुपर्छ
सिर्जनाका रङहरु लिएर रगिँनुपर्छ
एउटा माहुरीले जसरी फुलबाट रसोस्वादन गर्छ ,
त्यसरी नै रसयुक्त फुल भएर फुल्नुपर्छ
र बगैँचामा बास्ना छर्न सक्नुपर्छ
अनी मानव मस्तिष्कमा ठोक्किने गरी
झट्का लिएर उभिनुपर्छ ।
जसले रचनाकारलाई सन्तुष्टिको आभास दिलाउन सकोस्
र एउटा बिना आकृतिको पृष्‍ठभुमीलाई
मुर्त रुप दिन दिन सकेकोमा थोरै भएपनी
खुशी बाँड्न र बढाउन सकोस् ।

तर ,
यी सवै सवै आजकल
म देखि रिसाए झैँ गर्छन् ,
घुर्की देखाए झैँ गर्छन् ,
म बाट अलग्गिएर बसुँ भने जस्तो पनि गर्छन् ।
शायद समय र परिस्थिती अन्जान बनिदिएर पो हो कि ?
मन जताततै मनपरि तरगिँएर पो हो कि ?
चाहे धेरै दिन नै म बाट बिछोडिएर किन नबसोस्
मनभित्रको ज्वालामुखीलाई भित्रभित्रै गुम्साएर किन नराखोस्
तर केही अफसोच हुने छैन
किनकी , म तिमीबाट कहिल्यै टाढा हुँदिन ।
बरु म कुरुँला र आँफैसँग गुनासो गरिरहुँला
अनी हाम्रो यो भावनात्मक साईनो
जन्म जन्मानन्तर बचाइँ राखुँला ।
जब सम्म रहन्छ भौतिक शरीर ,
तब सम्म अमर पिरती गाँसीरहुँला ।।

गजल

4

Category:

मानिस एउटै तर कृत्रिम रुप लाएको देखेँ
झुटको खेतीमा नतमस्तक भई धाएको देखेँ

गरीब दुखी मेरेको मरै के फरक पर्छ र ?
फकाइ फुल्याइ परिश्रमी हातहरु खाएको देखेँ

रुकुम्,रोल्पा उस्तै गरी चिच्याइरहेछन् सहारामा
बिकासका गीत यहाँ अन्धकारमा गाएको देखेँ

गाँस्,बाँस र कपास बिना छटपटिदैँछन् वस्तीहरु
यता बंगला, गाडी बिलासिता झन् छाएको देखेँ

मेहेनती काँधहरुले पाएनन् अटुट साथहरु
इमान्दारिता बेच्दै खोक्रो सम्मान पाएको देखेँ

गजल

9

Category:

साँचो माया म मेरै माटोलाइ लाउँथे
गीत मिलनको म रोधीँमा नै गाउँथे

आज भएँ सवैदेखि कोसौँ धेरै टाढा
नत्र हिजो जस्तै गाउँबेसी म धाउँथे

हुन्न रै'छ सधैँभरि एक्नासे जीवन
बरु खरले नै घरको छानो म छाउँथे

कसो गरि फर्काउँ म बितेको त्यो पल
हुदोँ हो त चरी झैँ पखेटा हाली आउथेँ

मन त्यहाँ तन यहाँ सम्झना हरपल
आँशु जति झरे नि समिपमा म पाउँथे

खबरदार ... !

3

Category:

मानवता भित्र दानवता खल्बलाएपछि
तुच्छ भावनाले ओतप्रोत भएका
राक्षसी मस्तिस्कहरु
दिउँसै रतन्धो लागेर
अन्धकारमा जिउने धर्तीका भारहरु
जसले फरक छुट्ट्याउन नसक्ने रहेछ
जसले नदेख्ने रहेछ भिन्नता
नारी प्रतिको संवेदना
जो आफ्नै आमा, दिदीबहिनी, साथी र जीवनसाथीको रुपमा
प्रतिक लिएर उभिएकी छे
जहिले ति कामुक आँखाहरु उन्मुक्त भई
एउटा कालो छाँया सहित निर्दोष नारी माथि पर्छ
उ जस्तै मानव तर नारी
जसको एक एक गरिकन अस्तित्व लुटि
कालो ढब्बा लगाइ छोड्छ
उ भित्रको उकुसमुकुस प्यासलाइ मेटाउँछ
एउटा पशुजस्तै बिना संकोच
आफ्नै आत्मलाई गिराएर
शार्रिरीक त्रिश्नाका तरेलीहरु अघाउन्जेल पुरा गर्छ
तब घोर पुरुषार्थ गरे झैँ त्यो पल
उ एकछिन रमाउँछ

अनी फेरी ,
उही नर पिचासहरु कृत्रिमताको मुकुन्डो लगाइ
खिस्स दाँतहरु देखाई आदर्श मान्छे बनि हिडिँरहन्छ
अझ उल्टो लज्जास्पद शब्दहरु पिडितमाथि फ्याँक्दैँ
छाती ठोकी निस्पिर्की बोलिरहन्छ
उपहासका बोलिहरु बारुद झैँ बर्साइरन्छ
अनी उ जान्छे सहारा खोज्दै
धाउँछे न्यायका ढोकाहरु चिच्याउँदैँ
प्रत्यक मान्छेहरुलाई घटना सुनाउदैँ
प्रत्यक पटकका बर्णनहरुमा उ दोहोरि नै रहन्छे
कहिले कसैको सहनाभुतिको पात्र बन्छे
त कहिले कसैको हाँसोको उदाहरण बन्छे

तर ,
त्यो चित्कारले कुनै स्वरुप पाउँदैन
सहानाभुतिका हातहरुले गन्तब्य भेट्टाउँदैन
अदालतका कठघराबाट केही राहत मिल्दैन
आफ्नो इज्जत लुटिनुको कुनै भर्पाइ पाउँदैन
भने ,
कहाँ छ सरकार अनि हक अधिकार ?
कहाँ छ शान्ती सुरक्षा र प्रतिबद्धता ?
कहाँ छ कानुन अनि समानता ?

तर , अब खबरदार !
किनकी ,
एउटा नारीलाई तिमीले बेहोस बनाएर
तिमी आफुलाई पुरुषार्थ ठान्छौं भने
त्यो तिम्रो बिल्कुलै संकुचित सोचाइ मात्र हुनेछ
खुम्चिएको सानो दुलोभित्र बाँचिरहेको
एउटा मुसो जस्तो हुनेछ
त्यसैले , तिमी यो बुझिराख कि ,
नारी कमजोर मात्र छैन
नारी एक्लो मात्र छैन
नारी सहनशील मात्र छैन
नारी कर्तब्यनिष्ठ मात्र छैन


प्रहरीबाट कार्यालयमै सामुहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको घटनालाई आधार बनाएर रचिएको कविता तपाईंहरुको माझ पस्कीएँ , आशा छ सवैलाई स्विकारोक्ती हुनेछ होला भन्दै सुझाब रसल्लाहको अपेक्षामा..

देवकोटा सतबार्षिकी कार्यक्रम र दिपावली साँझ

1

Category:

यो बर्ष महाकवी लक्ष्मी प्रशाद देवकोटाको सतबार्षिकी परेको पुनित उपलक्ष्यमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) इजरायल च्याप्टरले पनि त्रिदिवसीय कार्यक्रम गर्ने योजना गर्‍यो र यसै अनुरुप शुक्रबार साँझ देवकोटाको सम्झना स्वरुप सयवटा दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुरुवात गरियो र दोश्रो दिनमा नेपाली राजदुतावास बाट उपस्थित हुनु भएका प्रमुख, उपप्रमुख र सचिबहरुको उपस्थिती तथा इजराएलमा नेपाली समुदायको हकहितको लागि बिभिन्न उद्देश्यहरु लिई स्थापना भएका संघ संस्थाहरुको प्रतिनिधिको उपस्थितिमा शुरु भएको उक्त दिनको कार्यक्रममा उहाँहरुले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो भने त्यही अवसरमा शुभ दिपावलीको शुभकामना पनि आदान प्रदान गर्नुभएको थियो र कार्यक्रमको दोश्रो चरणमा अनेसास मै सम्न्धित हुनु रहनु भएको कवी, कवयत्री तथा गजलकारहरुले आ-आफ्नो रचना बाचन गर्नुभयको थियो र अन्त्यमा अनेसासकै अध्यक्ष श्री सुनिल संगम दाइबाट त्यो दिनको कार्यक्रम बिसर्जन गरिएको थियो । तेश्रो तथा अन्तिम दिन अनेसासकै हात्तेमालोमा निकालेको "मेरो नेपाल" नामक साहित्यिक पत्रिकाको बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा लोकार्पण गरी त्रिदिवसीय सतबार्षिकी कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो।


अनी हामीलाई नेपाली नारी आवाज संस्थाबाट शनिवार साँझ हुन लागिरहेको दिपावली साँझ र लक्ष्मीपुजा कार्यक्रमको निम्तो आएको थियो त्यसैले हामी सवै एकट्ठा भई त्यहाँ पुग्यौँ। सयौँ नेपालीहरुको उपस्थिती रहेको त्यो खुल्ला लेभिन्स्किको पार्कमा रोमान्चक वातावरण थियो , पुरै चौर खचाखच भरिएका थिए सवैजना कार्यक्रमको तीव्र प्रतिक्षामा थिए भने background नेपाली गीत संगीत बजिरहेकै थियो। केही छिनपछि लक्ष्मीको पुजा आराधना गरि दियोहरु बाली बिस्तारै कार्यक्रमको शुरुवात गरिएको थियो र तिहारको गीतमा नाच र देउँसी भईलो पनि खेलिएको थियो जसले तिहारको तिर्सना मेटाइदिएको थियो भने भारतीयहरुको पनि दिवाली परेको कारण सवै मिलिजुली यो कार्यक्रम आयोजना गरिएको थियो भने बिभिन्न संस्थामा आबद्द भएका इजराएली ब्यक्तिहरुको अतुलनिय सहयोगमा कार्यक्रमले मुर्त रुप पाएको थियो जहाँ थुप्रै इजराएलीहरु पनि कार्यक्रम हेर्नको लागि उपस्थित भएका थिए । रोचक नेपाली नाचहरु सगैँ भारतीयहरुको गुजराती नाच र डाँडिया नाचले कार्यक्रमलाई थप आकर्षण प्रदान गरेको थियो र कार्यक्रम अझ रोमान्चित त त्यँहा निर बन्यो जहाँ इजराएलीहरुले भजन किर्तन गाइरहेका थिए । हामीहरु यहाँ आई डिस्को, क्लबको क्षणिक आनन्दमा आफ्नो धर्म संस्क्रिति भुलिरहेको बेला बिदेशी मान्छेहरुले यती धेरै उत्सुकता जनाएको देख्दा हाम्रो अत्याधुनिक बिचार धारा र जीवनशैली माथि कता कता गिज्यारहे जस्तो भान भयो मलाई तर जस्तो भएपनि कार्यक्रमको अवधिभर रमाइलो गरेर नै मनाइयो अनी साथसाथै लक्ष्मी पूजाको प्रसाद ग्रहण गर्ने अवसर पनि मिलेको थियो, मनमा अति नै सन्तोष लागिरहेको थियो त्यतिबेला, यिनै सम्झनाहरुको कोशेली आज यहाँ तपाईंहरु माझ बाँडेकी छु ।