माया गरी साँचिरहन्छु प्रीतभरी तिमीलाई
मन भित्र बाँधिरहन्छु सधैंभरी तिमीलाई
तिम्रो मोहनी नयन भित्र डुबिरहन पाउँ
जिबनका हरपल तिमी सगैँ रमिरहन पाउँ
मेरा सारा जिबन,आत्मा पनि तिमीलाई
म भित्रका प्यास जति सारा तिमीलाई
सम्हालेकी छु मुटु मेरो,तिमीलाई दिउँला भनि
पर्खेकी छु दिनरात्, तिमिसगैँ साटुँला भनि
म भन्नु नै तिमी हौ, मेरा सबै तिमीलाई
सजाउनु सधैं दिलमा अब,अर्पिदैछु तिमिलाइ
जिबनका सुख दु:ख साँच्न पाए हुन्थ्यो
अधरमा मुस्कान छरी बाँच्न पाए हुन्थ्यो
धेरै छन् ओकाली ओराली यात्राहरुमा हाम्रो
यसैसँग सुन्दर भबिष्य गाँस्न पाए हुन्थ्यो
हार्नु अनि जित्नु त जिबनको पाटो यहाँ
कमजोर नभइ आँसुमा नि हाँस्न पाए हुन्थ्यो
हिंड्नु छ अझै धेरै लक्ष्य सम्म पुग्न
चुनौतीलाई सामना गर्दै आँट्न पाए हुन्थ्यो
होलान्, आउँलान् थुप्रै संघर्षका मैदानहरु
फल्दै,फुल्दै अनुभबहरु बाँड्न पाए हुन्थ्यो
आज राती सपनीमा तिमी सुटुक्क आयौ
मेरो मनोकामनालाई पूर्ण बनाइदियौ..
तीजको पर्व नजिकिदैँ गर्दा ,
आमाको आभास दिलाई फेरी बिलाई गयौ..
म त हरेक रात पर्खने गर्छु तिमीलाई,
पलपल तिम्रै सम्झनामा बिताउने गर्छु..
तिमी त टाढा छौ म देखि धेरै टाढा
तर तिमीलाई म भित्रै हरपल अगाँल्ने प्रयत्न गर्छु..
खै ! आमा किन हो अचेल तिम्रो सम्झनाले,
साह्रै सताउने गर्छ मलाई ..
शायद तिमीले पनि त्यहाँ मलाई
बेजोड सम्झिरहेको हुनुपर्छ..
प्रतिक्षाको घडी हेर्दै,
दिनरात बिताइरहेको हुनुपर्छ..
आमा कहिलेकाही एक्लो भई बहकिदाँ,
तिमी मेरो सामुन्ने नहुँदाको पिडाले झन उराठिन्छु..
तिम्रो माट्रुशुलभ कोमल स्पर्शमा,
आकुल ब्याकुल यो मनलाई
थोरै भएपनि शीतलता दिन चाहन्छु..
म शब्दमा त ब्यक्त गर्न सक्दिन कहिले,
तिम्रो अभाब म मा कति खट्किएको छ भनेर
जब जब म कमजोर हुन्छु, निरास हुन्छु..
तिम्रो ममतामयी काख र प्रेरणादायी साथहरुको,
अनुपस्थितिमा म एकदमै बिचलित हुन्छु..
त्यसैले त म सात समुन्द्र पारी देखि ,
प्रत्यक रात तिमीलाई पुकारीरहन्छु..
यो मेरो तुहिएको, हतासिएको मनलाई
तिम्रै मार्गनिर्देशनमा,
मैले चालेका हरेक पाइलाहरुलाई
सफल गोरेटोहरुमा दोर्याउन चाहन्छु..
नजानि नजानि पनि आज गुन्न मन लाग्यो
नजाने गाउँको बाटो फेरी बुन्न मन लाग्यो
छैन राम्रो,मिठा शब्द न त उस्तै मिल्ने छन्द
तैपनि किन हो खै कनिकुथी तुन्न मन लाग्यो
साहित्य आकाशलाई नै साक्षी राखी आज
बिशुद्ध माटोमा फुल भई फुल्न मन लाग्यो
बालेकी छु विश्वासको दियो, छुनलाई त्यो तारा
छैन दुरी धेरै,आशाका ताराहरु गुन्न मन लाग्यो
सिक्दै जाउँला, लेख्दै जाउँला यसैगरी अब
प्रयास गरे असम्भब छैन चुन्न मन लाग्यो
साँचेकी छु सुख दु:ख, बाँडेकी छु यात्रा
पराई नसम्झे,आफन्त झै सुन्न मन लाग्यो
गल्ती भए माफ पाउँ, सही भए साथ
सधैंजसो मित्रताको माला उन्न मन लाग्यो
तिमी र म,मायाको साथहरु मिठो मिठो
सगैँ बुनेका,पिरतीको बातहरु मिठो मिठो
गन्तब्य त हामी दुबैको एउटै थियो
घुम्तिहरुका ती यादहरु मिठो मिठो
कल्पनामा हराइ भबिष्य उनेथ्यौँ सगैँ
साथै सगाँलेका आशहरु मिठो मिठो
कहिले घुर्क्याइ नबोलि बस्दा तिमी
प्रियतमको कोमल हातहरु मिठो मिठो
तिमी बिना एक्लो हुँदा आज
स्मृतिका पिपल पातहरु मिठो मिठो
एउटै मुटु दुइतिर धड्किदा खेरि
भुलेका ती मातहरु मिठो मिठो
.jpg)
नुन छैन,तेल छैन,छैन जीबनजल
अकालमै म्रुत्युको सिकार भैइरहेछन ती बझौरेहरु..
सरर प्लेनमा दृष्यावलोकन गर्दै भ्रमण गर्छन्
हाम्रा नेता भनौदाहरु..
फेरी ती सोझा,गरिब जनताहरुलाई
उस्तै गरी पहिर्याउँछन आश्वासनका मालाहरु..
जब फर्कन्छन कान्तिपुरी नगरी
कानमा तेल हालेजस्तै केही थाहा नपाए झै गर्छन्..
अनि यता हाम्रो स्वास्थ्य मन्त्री चाँही
जर्मनको हावामा सास फेर्दै फुर्सद छैन..
यता जाजरकोटदेखि राजधानीसम्म
चित्कार नै पुग्दैन..
कहिले औषधीको अभाब त
कहिले स्वास्थ्यकर्मीको..
असहाय र बिरामी जनताका सेवकहरु पनि
आफ्नै ज्यानको मोहमा रणभुमिमा डराइ,
सुटुक्क सुरक्षित स्थानतिर सर्छन ..
कठै ती बझौरेहरु! नेपाली हुनुको पिडामा
मनभरी बह बोकी कोही बँसाई सर्दैछन..
कोही आफ्नै भुमिलाई गर्हौ मुटुले सलाम गर्दै
छिमेकी मुलुकतिर पलायन हुँदैछन..
खै त देशले के रक्षा गर्न सक्यो र आफ्ना जनताहरुको?
कहिले प्रत्याभुति दिलाउन सक्यो र सुरक्षित भबिष्यको?
सबैजसो पश्चीमेलीहरु नराम्रोसित प्रभाबित भैरहँदा पनि
के ठोस पहल गर्न सक्यो र सरकारले ?
त्यो बिकराल माहोललाई मात्र मौन भैइ नियालिरहे..
धिक्कार छ! हाम्रो नेपाल सरकारलाई
ज्यादा त ती कर्तब्यबिमुढ नेताहरुलाई..
जो बस्तुस्थिती जान्दा जान्दै पनि
मानबताको गहिराइबाट अलिकति पनि
माथि उठ्न नसकी बस मुकदर्शक भैइ हेरिरहेछन्,
ती विवस जनताहरुलाई..
जो झिनो आशामा अझै
जीबनदान र आधारभुत आवश्यकताहरुको
शरणार्थी झै भिख माग्दैछन्..
यस्तो गरौँ,उस्तो गरौँ
यहाँ जाउ, त्यँहा जाउ
यी सबै मनका ईशारा..
तर वास्तवमा कसलाई के थाहा ?
कहाँ छ यो मन? कस्तो छ यो मन?
आभास गर्छौ आँफैभित्र,
तर आकार छैन..
छ यो सबैभित्र सधैं ,
तर ठोस पहिचान छैन..
कहिले अनायासै बाटोहरु बिराइदिदाँ
सम्हालिउँ भन्छ..
कहिले नियन्त्रणमा राख्न खोज्दा
थाहै नपाई भागिदिन्छ..
कहिले त्यसै अत्तालिदिन्छ
फेरि एकैछिनमा कहाँ कहाँ उड्न पुग्छ..
कोही पराइलाई एकै पलमा
आफ्नो ठानिदिन्छ..
कसैलाई बर्षौ देखि जाने पनि
पराइ बनाइदिन्छ ..
एक अञ्जुली मुस्कानसगैँ
सारा ब्यथा भुलिदिन सक्छ..
कसैको खुशीको निम्ती
आफुलाई बलिदान गरिदिन सक्छ..
कहिले खुशीहरुको लहरसँग
कल्पनामा रमाउन पुग्छ..
कहिले आँसुहरुको सागरमा
पुरै संसार नै अध्याँरो देख्छ..
गुमाउँदाको पिडामा पनि यो
त्यागको उत्सब मनाउन सक्छ..
कहिले पाउनुको हर्षमा
दोसाँधमा पनि बाँधिन सक्छ..
तर म त अझै अनभिज्ञ नै भएँ,
बुझ्न सकिन रहस्य यो मनको..
जान्न सकिन अर्थ यो मनको..
तपाईंहरु नै भन्नुस् न
के होला यो मन ?
कस्तो होला यो मन ?
