दशैँ दशैँको आफ्नै महत्व र परिभाषा लिएर आउ
परम्परा र संस्कृती जगेर्नाको जाग्रिति लिएर आउ
चाडपर्वसगैँ भित्रिने विकृति,बिसंगतिहरुलाइ नअगाँलिकन
पारस्परिक मेलमिलाप र एकताको भावना लिएर आउ
धनीका महलहरुमा मात्र सधैं किन रमझम दशैँको ?
प्रत्यक गाउँ,बस्तिमा खुशीयालीको बहार लिएर आउ
हत्या र अपराधको माहोलमा यसपालिको दशैँले
दिगो शान्ती र सुरक्षाको प्रत्याभुती लिएर आउ
राष्ट्रियता र अखण्डतालाई निरन्तर जोगाइरहन
हरेक नेपालीमा अटुट साहस र सामर्थ्य लिएर आउ
अब हामी युवा जनशक्तिको पालो हो देश बनाउने
बिकासको निम्ती ज्ञान र चेतनाको लहर लिएर आउ
वडादशैँको अवसरमा शुभकामनाको सुभेच्छाहरु सगैँ
परिवर्तनको लागि सकारात्मक सोच र बिश्वास लिएर आउ
मनभित्र उठेका छालहरु
दिमागमा उब्जिएका तरंगहरु..
ब्यक्त नगरिएका भावनाहरु..
वा ब्यक्त गर्न प्रयास गरिदाँ पनि
गुम्सेर र गुम्साएर राख्न खोजेका
पिजँडा भित्रका ब्यथाहरु..
शिर्षक बिनाका कती
अन्त्यहिन कथाहरु..
न्याय नपाएर अदालतको ढोकामा
घच्घच्याइरहेका निर्दोषका लामबद्ध केसहरु..
गाँस, बास र कपासको अभावमा
छट्पटाउदैँ ज्यान गुमाएका
बिचरा! हामी गरीब जनताहरु..
अन्याय र अत्याचारको बिरुद्ध लड्डै
नेताहरुको खिचातानीलाई,
चर्को उपहासको रुपमा आफुलाई उभ्याइ
आफ्नो देश र माटोलाई बचाउन
गरिएका कयौँ नरनारीहरुका प्रयासहरु..
सबै, सबै मिश्रित भावनाले
प्रतिबिम्बित भई आज यो चित्रकार
क्यानभासको दुनियाँमा हराउँदै,
कतै विना रङ त कतै रङ्हरुसँग पोतिदैँ,
शब्दहरुमा ओकल्न नसकेका
हर ती असहय् रेखाहरुलाई
यि मुर्त अनी अमुर्त चित्रहरुमा
मैले ठड्याएकी छु,उतार्ने प्रयास गरेकी छु..
उत्पीडनका एहसासहरुलाई
प्रत्यक कोणहरुमा छरी
उदागं हुने जमर्को गरेकी छु..
स्वतन्त्र नखुलेका किताबका पानाहरु ,
आज रङ र चित्रहरु मार्फत
एउटा छुट्टै परिचय लिई मानिसहरुको भिडमा
खुलाउने र बोल्ने कोसिस गरेकी छु ..
तिमीलाई स्वीकारोक्ती होस् या नहोस्,
तिमीले बुझ या बुझेर पनि बुझपचाउ,
तर आज म सन्तुष्टको सास फेरिरहेकी छु..
गर्हौ अनी निस्सासिएका भावनाहरुलाई पोखी
मन हलुको र आत्म शान्तिको
महसुस गरिरहेकी छु ..
प्रकृतिकै उत्कृष्ट उपहार
सजीवहरुमा सबैभन्दा सर्वश्रेस्ठ
विवेक र शुशिलताले भरिपूर्ण
मानव रुप धारण गरेको
हे मान्छे ! तँ कस्तो भाग्यमानी !
तर खै किन बुझ्दैनन् मान्छेहरुले,
जीवन पछीको मृत्यु त
एउटा शास्वत सत्य हो..
भेट्नु र छुट्नु त जीवनको रीत हो..
दु:ख अनी सुख त जैबिक प्रकृया हो..
हार्नु र जित्नु त जीवनभरी
चलिरहने खेल हो..
कस्तो विडम्वना !
सबै कुराको चेतना भईकन पनि
मान्छे त्यसैमा अल्झिरहन्छ..
त्यही भुमरीमा फसिरहन्छ..
यथार्थलाई पर सारी
क्षणिक सुखको निम्ति
हरपल उस्तै गरी तड्पिरहन्छ..
न त्यो भवसागरको दलदलबाट
उ उत्रिन सक्छ..
न त कुनै ठोस वस्तुको पहिचान गरी,
जीवनमा अनन्त खुशी र सुखका
बहारहरु छर्न सक्छ..
त्यसैले हे मान्छे ! तिमी उठ !
तिमी जाग त्यो निन्द्राबाट,
यी सारा सांसारिक मोहबाट माथि उठेर
आफुलाई एकचोटि फर्केर हेर..
मान्छे हुनुको अर्थलाई
निस्वार्थ मनले नियाली हेर..
यो अमुल्य उपहार अनि समयलाइ
जीवनको तमासामा त्यसै खेर नफाल..
भौतिक सुखलाई नअगाँलिकन,
आत्मिक सन्तुष्तिलाई स्विकार्ने प्रयास गर..
हो, त्यँही मान्छेको पूर्ण खुशी छरिएको छ..
हो, त्यँही मान्छे हुनुको परिभाषा लुकेको छ..
मायाको बगैँचा सुन्दर हुन्छ भनि डुलेकी थिएँ
सुन्दरतामा जीवन बिताउँला भनि झुलेकी थिएँ
नमिल्ने रहेछ खुशी सबैलाई आँखाले देखे जस्तो
प्रेमको प्याला अश्रु धारासगैँ एक्लै घुलेकी थिएँ
हुँदो रहेछ पिरती पनि मुटुको बिझाउने काडाँ
त्यही काडाँलाई फुलमा बदल्छु भनि भुलेकी थिएँ
कसलाई पोखुँ,आफ्नै मान्छे पराइ भईदिएपछी
तरगँ,उमगँ बाडौँला भनि मनभित्र तुलेकी थिएँ
छैन उत्सव कहीँ,कतै मिलनका घडीहरुमा पनि
आत्मा गाँठो पार्दै फुस्रो मुस्कानमा खुलेकी थिएँ
कसमहरु सबै भुलि गए, सपनाहरु सबै उडी गए
बाँकी छैन केही,एक्लोपनलाई आँफैभित्र हुलेकी थिएँ
हिन्दूहरुको महान् पर्व हरितालिका तीजको अवसरमा इजराएलमा हुने विभिन्न कार्यक्रमहरुमा सरिक हुने मौका मिल्नु साँचै खुशी र सुखको अनुभुति हो तर बिडम्बना मेरो कामको अवस्था चाँहि अलिक गम्भिर भएको कारणले पछील्लो केही समयदेखि कुनै पनि समारोहरुमा सम्मिलित भई अनुभबहरु बटुल्ने अवसर मिलेकै छैन । चारभित्ता हेरेर ल्यापटप सगैँ पुरै संसार सयर गर्दै आफुलाई सुसुचित गराउनु, भुलाउनु र उस्तै परे फकाउनु नै मेरो दिनचर्या भनौ या मनलाई राहत दिने स्रोत बनिसकेको छ , सत्य भन्नु पर्दा यो मेरो समयसगैँ धेरै नै नजिकको मित्र भईसकेको छ । यसैको मद्दतले मैले धेरै कुराहरु जान्ने, बुझ्ने मौका पाएकी छु र मेरो जीवनमा थुप्रै नौला आयामहरु थपिदिने श्रेय यसलाई नै जान्छ भन्दा अत्युक्त नहोला । शायद यो नभएको भए म त्यतै कतै सिमिततामा अल्झिन्थे होला र झाँगिने मौका पाउँदिन थे होला र आज यहाँ ब्लगको दुनियाँ मार्फत तपाईंहरुसगँ भलाकुसारी गर्ने मिठो अवसर कहाँ मिल्थ्यो होला र ?
कुरो तीज बिशेष तिर नै अघी बढाऔ - नेपाली दिदीबहिनीहरुको संख्या इजराएलमा उच्च नै छ, यसैको हिसाबले भन्नुपर्दा नारीहरुको महान् पर्व तीजको रमझममा पनि उहाँहरुको चहलपहल बढि हुनु स्वभाविक नै हो , यिनै अवस्थाहरुलाई ध्यानमा राख्दै यहाँ रहेका विभिन्न संस्थाहरुले सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी एकअर्कासँग खुशीहरु साटासाट गर्दै एकैछिन भएपनी दु:ख , पिडाहरु भुल्ने बातावरण सिर्जना गर्ने ब्यवस्था मिलाइदिनु सबै नेपालीहरुको निम्ती पक्कै गर्वको कुरा हो भने हरेक बर्ष तीजको अवसरमा कृषि क्षेत्रका नेपाली दाजुभाइहरुको आफ्नै कार्य र समर्पणमा इजराएलमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुलाई दर ख्वाउने निम्तो गर्ने परम्परा सर्हानीए छ । परदेशमा एउटा माइतीको रुपमा उभिई आफन्तको आभास दिलाउने महान् प्रयास आफैमा उत्कृष्ट छ र सधैंभरी धन्यवाद तथा आभारको पात्र हुन्हुन्छ ।
साथीहरु सबै भेला भई रातो साडी वा रङिचङी पहिरनहरुमा निकै सजिएर ब्रत बसेर पूजा, आराधना गरी आफ्नै अपार्टमा अथवा कुनै कार्यक्रममा सरिक भई निकै हर्षउल्लास साथ तीज पर्व मनाउनुभयो ।
मेरो पनि आइतवारको दिन केही घण्टा फुर्सद मिलेको थियो, त्यसैले म लगायत दिदी र अरु साथीहरु हुइकियौं उही नेपालीहरु जम्मा हुने ठाउँमा । त्यहाँ पुग्दा त मलाई लाग्यो म कतै नेपालमा नै छु , पार्कभरी नेपालीहरुले भरिएको, सबैजना फुरफुर भई यताउता गरिरहनु भएको र सबैको अनुहारमा एउटा छुट्टै चमकता थियो, रौनकता थियो खुशीको, आनन्दको । त्यही पार्कमा दिदिबहिनीहरु मादल ठोकी तीजका गीतहरु गाएर छमछमी नाचिरहनु भएको द्र्श्य देख्दा मानौ यो नेपालको पशुपतिमा हुने मेला भन्दा कम छैन, त्यसरी नै मेरो पनि मनै लोभियो र छेउमै गई कम्तिमा थपडी बजाएर भएपनी मनलाई केही हदसम्म सान्तवना र सन्तुष्टि दिलाउन सफल भए र साथै केही तस्वीरहरु क्यामेरामा पनि कैद गरेँ अनी ढिलै भएपनि ब्लगको भित्तामा टाँगिहालेँ। उहाँहरुले गीत मार्फत आफुले भोगेका पिडाहरु ब्यक्त गर्नुभएको थियो, आफ्नो प्राण भन्दा प्यारो श्रीमान्, छोराछोरी तथा सम्पूर्ण परिवारबाट टाढा हुनुको मजबुरीलाई गीतबाट पोख्नुभएको थियो र ब्यंग्यात्मक तरिकाले रोजगारदाता, एजेन्सी तथा दलालहरुलाई पनि गिती शब्दहरुबाट घोचपेच गर्नुभएको थियो ।
आखिर यहाँको बसाइमा तितो अनुभब नगर्नुभएको नेपाली शायद कमै भेटिन्छ होला। भाषागत हिसाबले,आधारभुत ज्ञानको अभाब, आफ्नो अधिकार र कर्तब्यको बारेमा पूर्ण जानकारी नहुनु आदी यसका प्रमुख कारणहरु हुन् जस्तो लाग्छ मलाई । तर जे भएपनी नेपाली दिदिबहिनीहरु साँचिकै महान्, परिश्रमी, सहनशील र आँटिला हुनुहुन्छ। गर्व गरौँ उहाँहरुको साहस प्रति र साथ दिऔँ हरेक दु:ख सुखमा ... अन्त्यमा देवादि देव महादेवले हामी सबैको रक्षा गरुन् र संघर्षसँग लड्ने अटुट शक्ती दिउन् भन्ने प्रार्थना र कामना सहित तीजको लहर गयो बरि लै !
बिष हो माया तर किन पिउँछ मान्छे
थाहा छैन पिरती किन लाउँछ मान्छे
धोका त हुनु सक्थ्यो एकदिन तर
आस्थाका दियोहरु निभाउनु थियो
साउनको झरीमा एक्लै रुनुपर्दा यहाँ
एक्लो पनलाई साथी बनाउनु थियो
फाटेको मनलाई किन सिउँछ मान्छे
जीवनको तमासा किन जिउँछ मान्छे
के थाहा उसलाई अर्थ यो मायाको
जो बिचैमा साथ छोडि जान्छ भने
दुई मुटुको मिलन के थाहा जसलाई
जो धड्कनको चाल बुझ्दैन भने
टुटेका आशा किन सँगाल्दछ मान्छे
जिउन सपना किन अगाँल्दछ मान्छे ।


