साँचो माया म मेरै माटोलाइ लाउँथे
गीत मिलनको म रोधीँमा नै गाउँथे
आज भएँ सवैदेखि कोसौँ धेरै टाढा
नत्र हिजो जस्तै गाउँबेसी म धाउँथे
हुन्न रै'छ सधैँभरि एक्नासे जीवन
बरु खरले नै घरको छानो म छाउँथे
कसो गरि फर्काउँ म बितेको त्यो पल
हुदोँ हो त चरी झैँ पखेटा हाली आउथेँ
मन त्यहाँ तन यहाँ सम्झना हरपल
आँशु जति झरे नि समिपमा म पाउँथे
मानवता भित्र दानवता खल्बलाएपछि
तुच्छ भावनाले ओतप्रोत भएका
राक्षसी मस्तिस्कहरु
दिउँसै रतन्धो लागेर
अन्धकारमा जिउने धर्तीका भारहरु
जसले फरक छुट्ट्याउन नसक्ने रहेछ
जसले नदेख्ने रहेछ भिन्नता
नारी प्रतिको संवेदना
जो आफ्नै आमा, दिदीबहिनी, साथी र जीवनसाथीको रुपमा
प्रतिक लिएर उभिएकी छे
जहिले ति कामुक आँखाहरु उन्मुक्त भई
एउटा कालो छाँया सहित निर्दोष नारी माथि पर्छ
उ जस्तै मानव तर नारी
जसको एक एक गरिकन अस्तित्व लुटि
कालो ढब्बा लगाइ छोड्छ
उ भित्रको उकुसमुकुस प्यासलाइ मेटाउँछ
एउटा पशुजस्तै बिना संकोच
आफ्नै आत्मलाई गिराएर
शार्रिरीक त्रिश्नाका तरेलीहरु अघाउन्जेल पुरा गर्छ
तब घोर पुरुषार्थ गरे झैँ त्यो पल
उ एकछिन रमाउँछ
अनी फेरी ,
उही नर पिचासहरु कृत्रिमताको मुकुन्डो लगाइ
खिस्स दाँतहरु देखाई आदर्श मान्छे बनि हिडिँरहन्छ
अझ उल्टो लज्जास्पद शब्दहरु पिडितमाथि फ्याँक्दैँ
छाती ठोकी निस्पिर्की बोलिरहन्छ
उपहासका बोलिहरु बारुद झैँ बर्साइरन्छ
अनी उ जान्छे सहारा खोज्दै
धाउँछे न्यायका ढोकाहरु चिच्याउँदैँ
प्रत्यक मान्छेहरुलाई घटना सुनाउदैँ
प्रत्यक पटकका बर्णनहरुमा उ दोहोरि नै रहन्छे
कहिले कसैको सहनाभुतिको पात्र बन्छे
त कहिले कसैको हाँसोको उदाहरण बन्छे
तर ,
त्यो चित्कारले कुनै स्वरुप पाउँदैन
सहानाभुतिका हातहरुले गन्तब्य भेट्टाउँदैन
अदालतका कठघराबाट केही राहत मिल्दैन
आफ्नो इज्जत लुटिनुको कुनै भर्पाइ पाउँदैन
भने ,
कहाँ छ सरकार अनि हक अधिकार ?
कहाँ छ शान्ती सुरक्षा र प्रतिबद्धता ?
कहाँ छ कानुन अनि समानता ?
तर , अब खबरदार !
किनकी ,
एउटा नारीलाई तिमीले बेहोस बनाएर
तिमी आफुलाई पुरुषार्थ ठान्छौं भने
त्यो तिम्रो बिल्कुलै संकुचित सोचाइ मात्र हुनेछ
खुम्चिएको सानो दुलोभित्र बाँचिरहेको
एउटा मुसो जस्तो हुनेछ
त्यसैले , तिमी यो बुझिराख कि ,
नारी कमजोर मात्र छैन
नारी एक्लो मात्र छैन
नारी सहनशील मात्र छैन
नारी कर्तब्यनिष्ठ मात्र छैन
प्रहरीबाट कार्यालयमै सामुहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको घटनालाई आधार बनाएर रचिएको कविता तपाईंहरुको माझ पस्कीएँ , आशा छ सवैलाई स्विकारोक्ती हुनेछ होला भन्दै सुझाब रसल्लाहको अपेक्षामा..
यो बर्ष महाकवी लक्ष्मी प्रशाद देवकोटाको सतबार्षिकी परेको पुनित उपलक्ष्यमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) इजरायल च्याप्टरले पनि त्रिदिवसीय कार्यक्रम गर्ने योजना गर्यो र यसै अनुरुप शुक्रबार साँझ देवकोटाको सम्झना स्वरुप सयवटा दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुरुवात गरियो र दोश्रो दिनमा नेपाली राजदुतावास बाट उपस्थित हुनु भएका प्रमुख, उपप्रमुख र सचिबहरुको उपस्थिती तथा इजराएलमा नेपाली समुदायको हकहितको लागि बिभिन्न उद्देश्यहरु लिई स्थापना भएका संघ संस्थाहरुको प्रतिनिधिको उपस्थितिमा शुरु भएको उक्त दिनको कार्यक्रममा उहाँहरुले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो भने त्यही अवसरमा शुभ दिपावलीको शुभकामना पनि आदान प्रदान गर्नुभएको थियो र कार्यक्रमको दोश्रो चरणमा अनेसास मै सम्न्धित हुनु रहनु भएको कवी, कवयत्री तथा गजलकारहरुले आ-आफ्नो रचना बाचन गर्नुभयको थियो र अन्त्यमा अनेसासकै अध्यक्ष श्री सुनिल संगम दाइबाट त्यो दिनको कार्यक्रम बिसर्जन गरिएको थियो । तेश्रो तथा अन्तिम दिन अनेसासकै हात्तेमालोमा निकालेको "मेरो नेपाल" नामक साहित्यिक पत्रिकाको बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा लोकार्पण गरी त्रिदिवसीय सतबार्षिकी कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो।
जीवनका गोरेटोहरुलाई पछ्याउँदै जाँदा
कति ठोक्कीएँ हुँला यात्राहरुमा
कति लुटिएँ हुँला अन्जान परिस्थितीहरुमा
कति आत्तिएँ हुँला दु:खहरुमा
कति मात्तिएँ हुँला सुखहरुमा
बश अनुभबहरु बटुल्दै गएँ
आफुलाई दाँज्दै गएँ
समयको बनावटसगैँ तिखारिदैँ गएँ
अहँ, यतिले मात्र जीवन भरिदैन रहेछ,
अनि सम्झौता यही निर गर्नु पर्ने रहेछ ।।
मान्छे न हो , फेरी
धेरै सपनाहरु बुनियो आँखाहरुमा
धेरै रहरहरु साँचियो मनमा
धेरै आशाहरु तुनियो मस्तिस्कमा
तर,
थोरै मात्र खुशी पाएँ, धेरै त आँशुमा नै उभ्याएँ
असफलता नै हात परेपनि
निरासताकै टोपी पहिर्याउनु परेपनि
जीवन रथ त अगाडि बढाउनै पर्ने
पाइलाहरुलाई जीवन्तता दिनै पर्ने
फेरी सम्झौता त्यही निर गर्नु पर्ने रहेछ ।।
सास रहुन्जेल आश हुन्छ भन्छन्
घोडा चढ्ने मान्छे लड्छ भन्छन्
त्यसैले ,
जति नै लडे पनि
जति नै भाग्यले ठगे पनि
जति नै कर्मले परिक्षा लिए पनि
जति सिथिल अनुभब गरे पनि
फेरी सम्झौता त्यही निर गर्नु पर्ने रहेछ ।।
अर्को नयाँ सम्झौतामा ,
नौला आशाहरु लिई
आत्मबिश्वासलाई नव जीवन दिई
सपनाहरुलाई फेरी सँगालेर
आस्थाहरुलाई फेरी मालामा उनेर
जीवनलाई ठोस आकार दिनुपर्ने
नियति नै रहेछ जीवनको
आखिर सम्झौता नै सहारा रहेछ हरेक नव युगको
हो, अनी फेरी सम्झौता यहीँ निर गर्नु पर्ने रहेछ ।।
दशैँले बिदा मागे लगत्तै फेरि तिहारका रमझमहरु घरभित्र भित्रिने तर्खर गर्दैछ। साँचै भन्नुपर्दा दशैँमा भन्दा तिहारमा मलाई बिशेष रमाइलो लाग्छ। चारैतिर दियोको टिलपिल टिलपिल उज्यालो हेरिरहुँ झैँ लाग्ने सुन्दर सजावटसँग एउटा बस्तिलाई पूर्ण सुन्दरता थपिदीए झैँ भान हुन्छ। देउँसी, भईलो जस्ता आफ्नै मौलिक परम्पराले तिहारलाई सुन माथि सुगन्ध थपिदिन्छ अनी गोदावरी,सयपत्री र मखमली फुलहरुले प्रकृतिलाई नै बैँश भरिदिए जस्तो लाग्छ। घरमा आमाले पकाउनु हुँदै गरेको सेलरोटीको बासनाले तिहारको आभास दिलाउँछ र बजारमा धनकी लक्ष्मीलाई पूजा,आराधना गर्न राखिएको सामाग्रीहरु, आफ्नै घरको सिलिङ, झ्याल तथा ढोकाहरुमा सजाउन राखिएका आकर्षित बस्तुहरुको सजावटले तिहारको आगमनलाई बिछट्टै सुन्दर ढगँले प्रस्तुत गरियको हुन्छ। तिहारलाई दिपावली,द्दुतिया, र दिवाली जस्ता पर्यायवाची शब्दहरुबाट पनि चिनिन्छ। तिहार बिशेष गरेर दिदीबहिनी र दाजुभाइबिचको पर्व पनि भनिन्छ किनकी यसको आस्था र विश्वाश अनुसार दिदीबहिनिहरुले आफ्ना दाजुभाइहरुलाइ सप्तरङी टिका लगाइ उनिहरुको उन्नति र प्रगति अनी सु-स्वास्थ्यको कामना गर्दछन् र कहिले नओइलिने मखमली फुलको माला पहिर्याइ दिर्घायुको कामना गर्दछन भने दाजुभाइहरुले जीवनमा कहिले दु:ख,कष्टहरुसँग झेल्न नपरोस् भनि कतिले घरको संघारमा गई ओखर फुटाउने गर्छन्।
पाँच दिन बिशेष तरिकाले मनाइने यो उज्यालोहरुको चाडमा पहिलो दिन कागलाइ पूजा गरिन्छ, दोश्रो दिन कुकुरलाई, तेश्रो दिन गाइलाई पूजा गरिन्छ भने सोही दिनको बेलुकी धुमधाम सित लक्ष्मीपूजा गरिन्छ। घरको छत, आँगन , झ्याल ढोका सबैतिर दियोहरु बाली चारैतिर उज्यालो बनाइन्छ र त्यही साँझदेखी नै देउँसि,भैलो खेल्न सुरु गरिन्छ। भोलिपल्ट गोबर्द्धन पूजा गरेर चौंथो दिनलाई बिदा गरिन्छ भने पाचौँ अर्थात अन्तिम दिन भाईटिका वा भाईपुजा गरेर तिहारलाई बिधिबत रुपमा सम्पन्न गरिन्छ।
ठाउँ, जातिय बिबिधता,रितिरिवाज र संस्कृतिको आधारमा फरक फरक नाम दिई आ-आफ्नै मौलिक तरिकाले मनाय पनि आखिर तिहारको उद्देश्य चाँहि एउटै हो।
यही पर्व नजिकिदैँ गर्दा म आफुलाई पनि अलग राख्न सक्दिन। तीनबर्षको बिछोडपछी फेरी स्वदेशमा गैइ आफ्नो परिवारसँग तिहार मनाउने सौभाग्य मिलेको थियो पोहोर साल, कहिलेदेखि साँचेका सपनाहरु अनि रहरहरु केहि हदसम्म पुरा पनि भए र तिहार निकै हर्षोउल्लास साथ मनाइयो। धेरै समयपछी परिवारका सवै सदस्यहरु भेला भई तिहार मनाउन पाउँदा हामी सवैजना दङ्ग र उत्साहित थियौँ। मनमा त्यसै त्यसै रमाइलो लागेर आयको थियो, घरमा गमलाभरी गोदावरी,सयपत्री जस्ता रङिबिरङी फुलहरुले पुरै घरलाई शुशोभित बनाइ राखेको थियो। ति कलिला बिरुवाहरु फुल बनेर ढकमक्क नफुले सम्म आमाले कति जतन गरेर हुर्काउनु भयो भनेर भन्नुभएको थियो र अहिले पनि मनै लोभिने गरेर आँखा अगाडि नाचिरहेका छन्। मैले फोनमा सोधेकी थिएँ उहाँलाई , यसपाली पनि त्यसरी नै फुलहरु फुलाउनु भयो होला है भन्दै तर उँहा त यति दुखि भयर भन्नुभयो , फुलहरु त फुलेका छन् तर मनमा उल्लास छैन,हर्ष छैन। तिमीहरु यति टाढा छौ, जे भयपनि यहाँ अपुरो हुन्छ, तिमीहरु बिना सवै अधुँरा लाग्छन्। पोहोर पो तिमीहरु थियौँ, जोश जाँगर थियो अनि सवैतिर झलमल्ल थियो, यसपाली त सवै रित्तो रित्तो भए झैँ लागेको छ। एकै सासमा एकैचोटि आमाले कति धेरै गुनासोहरु पोख्नुभयो। हुन पनि आमाको मन न हो रमाइलो लागोस् पनि कसरी तर हामी पनि त कँहा खुशी छौँ र परदेशमा। यस्तै चाडपर्वहरुमा त उहाँहरुको अनुपस्थितिमा पानी बिनाको माछा जस्तै हुन्छौँ, बिरानो मुलुकमा झन उराठिन्छौँ, बाटो बिराएर रणभुल्लमा परेको एउटा निर्दोष बालक जस्तै तर यी सवै पिडाहरु ओकलेर उहाँहरुलाई झन दुखी बनाउन को साटो आफुलाई सम्हालेर हाँसी हाँसी यस्तो उस्तो भनेर राहत दिने प्रयत्न गर्छु ता की उहाँहरुलाई मन राख्ने बाटो मिलोस् । शायद यो सवैमा लागु नहुन सक्छ, मैले मेरो आफ्नै नितान्त ब्यक्तिगत भावनाहरु र व्यबहारहरु शब्दमा पोखिरहेकी छु यस्तै गरी -
शरद ऋतुको मधुर मौसममा
पर्वहरुको उन्मादले
हिला, मैला बातावरणलाई
मिठा रस भरिरहेको बेला
मेरी आमा
परदेशी सन्तानहरुको पर्खाइमा
दिन रात औलाहरु भाँची
आशा र मिलनका दियोहरु बाल्दै
मनको दैलो उघारै राखी
पलपल जागै बस्दी हुँन्
खबर केही नआउँदा,
आँखाले देख्न नपाउँदा
सुक्क सुक्क गर्दै
पछ्यौरीले मुख छोपी एक्लै
बेदनाका आँसुहरु कति झार्दी हुँन् ..
यिनै संस्मरणका मिठा सम्झनाहरुलाई तितो यथार्थसँग तुलना गर्दै तिहारको माहोलमा दाजु तपाईंलाई पनि अति धेरै सम्झेकी छु। तपाईं त्यो मरुभुमिमा कर्तब्यपथको यात्रामा हिडिरहनु भएको छ होला म पनि यहाँ आफ्नो कर्मभुमिमा लडिरहेकी छु। मलाई विश्वाश छ तपाईं हाम्रो यो चाडमा त्यो कोसौं दुरी टाढाबाट पनि तपाईंले हामीलाई बेजोड सम्झिरहनु भएको छ । गएको साल हामीले कति धेरै रमाइलो गरेको,तपाइको स्मरणमा आज पनि ताजै छ होला। मेरो यसपालिको तिहार त यिनै सम्झनाका लागि खिचेका तस्विरहरुको सहारामै बित्ने भयो। आमासँग कुरा गरेकी थिएँ, आवाज सुन्दा साँचै नरमाइलो लाग्यो। उहाँलाई त केही झैँ पनि लागेको छैन रे, दशैँ गयो अब तिहार आउँदैछ झन बिरक्त लाग्दैछ भन्नुभयो। मैले त सम्झाउने प्रयास गरेँ र कुरो अन्तैतिर मोडाएँ र फोन राखेपछी बिछोडका आँसुहरुसँग एकैछिन आफुलाई पगालेँ। तपाईंलाई पनि त्यस्तै हुन्छ होला है त्यहाँ ? के गर्नु भाग्य भनौँ या कर्मको खेलमा पौडिडैँ जादाँ एउटै परिवार पनि चारैतिर छरिएर अलग्गिएर बस्नुपरेको छ। त्यो पछाडिको आफ्नै बाध्यता, विवसता र लक्ष्यहरु त छन् नै तरपनि कतिबेला आफ्नोहरुसँग टाढियर बस्नुपर्दाको पिडाले मन कटक्क खाँदो रहेछ तर जे भएपनि आशा त अझै मरेको छैन, संघर्षरत यात्रामा कहिलेकाहिँ बिछोडिनु परेपनि भोलिको उज्जवल भबिष्यको परीकल्पनासगैँ आजका झिना,मसिना त्यागहरुलाई सम्झेर चित्त बुझाउने बाटो हामी सवैले रोज्नुपर्छ। आखिर ढिलोचाँडो एकदिन त हामी आफ्नै जन्मभुमिमा फर्केर त जान्छौँ नै त्यसपछि हाम्रो मिलनका दिनहरुमा बिछोडका शब्दहरु जोडीने छैनन् भन्ने पूर्ण आशा लिएकी छु। तपाईं पनि आफ्नो लक्ष्यसम्मा पुग्न निरन्तर पाइलाहरु अघि बढाइ रहनुहोला। आज यो सानो लेख मार्फत नै तपाईंलाई सम्झेर शुभ दिपावलीको अबसरमा शुभकामनाकका शुभेच्छाहरुसगैँ तपाइको उत्तरोत्तर प्रगति, सु-स्वास्थ्य र दिर्घायुको कामना गरेकी छु। सप्तरङी टिकाहरु लगाइदिन नपाए पनि सप्तरङी इन्द्रेणी झैँ रङ फिजाएर जीवनमा नौला उमगंहरु छर्न सक्नुहोला भनि प्रार्थना गरेकी छु , मखमली फुलका मालाहरु पहिर्याइदिन नपाए पनि मखमली फुल झैँ दिगो भइरहनु र दीपावलीको दीप जस्तै रोशनी छरेर अध्याँरोलाइ छोपी सधैं उज्यालोतिर तपाईंका खुट्टाहरु लम्किरहोस् र तपाइका हर इच्छा अनी लक्ष्यहरु चाँडै नै पुरा होउन् भन्ने कामना गर्दछु। पोहोर साल जस्तै सगैँ बसेर हाँस्दै, रमाउँदै सवै एकै ठाउँ जम्मा भई खाना खान नपाएर त के भयो र ? यसपाली आमाले बगैँचा भरी रोप्नुभएको फुलहरुले तपाईंको गलामा मुस्कुराउने संयोग नपाएर के भयो र ? तर एकदिन ति सवै कुराहरुले सार्थकता पाउनेछ भन्ने मेरो बलियो अभिलाषाका साथ फेरी पनि परदेशी बहिनीको तर्फबाट परदेशी दाजुलाई तिहारको धेरै धेरै सम्झन्,माया र शुभकामनाका शब्दहरु उपहार स्वरुप टक्र्याउँदै यो सालको तिहार यसै गरी भावनामा बहेर मनाउन वाध्य छु म ...
गोदावरी, सयपत्री बगैँचाभरी फुले
मखमली त झन् गमला भरी झुले
आफु त यहाँ परदेशमा एक्लै राजै
दशैँ न तिहार सधैं काममा नै भुलेँ
नझारे नि आँसु आमा! बाले है दियो
सपनिमै आँगन्,दलान चारैतिर डुलेँ
सधैं हिडिरहनु शिखरको बाटो दाजै
जीवन भरी सप्तरङी टिका झैँ खुले
बाधा, पिडा ओखरमा फुटाउनेछु मैले
कामना,प्रार्थना अबिरल मनभित्रै तुलेँ
परदेश हिंडेको पनि दिन्,हप्ता,महिना र बर्ष गन्दै तीन बर्ष बितिसकेछ।शुरुका दिनहरुमा निकै सम्स्याहरुसँग झेल्नु परेपनि बिस्तारै यहाँको माहोलसँग घुमफिर हुँदै जाँदा कहिले कामको सिलसिलामा ब्यस्त हुँदा वा कहिले आफ्नो ब्यक्तिगत जीवनको चाँजोपाँजो मिलाउदाँ मिलाउदै यति लामो समय बितिसकेछन्। आफ्नो देश्,घरपरिवार र साथीहरुको याद नआएको त होइन पुर्वको दिनहरुमा पनि तर त्यो समय एकदमै छटपटी छुटिरहेको थियो। प्रतिक्षाका सिमारेखाहरु थाकिसकेका थिए, धर्यधारण गर्ने शक्तिमा कमि हुँदै आइरहेको थियो, कारण केही समय भएपनि बिरानो मुलुकलाई सलाम गरेर धेरैपछि आफन्तहरु बिच खुशीहरु साटासाट गरी आफुलाई जीवन्त बनाइराख्नुपर्ने थियो। पहिले नै सोचेकी थिएँ यसपालि छुट्टी लिएर दशैँ, तिहार नेपालमा मनाउन जानुपर्ला भनेर तर दुर्भाग्यबश दशैँमा चाँही जान सकिएन तर तिहारमा जान निधो भयो, लगभग तीन हप्ताको छुट्टीमा। कम खुशी थिईन म त्यतिखेर यधपि बिदा थोरै मिलेपनि लामो समय पछीको भेटघाट अनी मिलनका दिनहरु सम्झेर मन त्यसै फुरुगँ भएको थियो। म अझै राम्ररी सम्झिन्छु पल पल बिताउन मुस्किल परेको थियो त्यतिखेर मलाई, लाग्थ्यो घडीका सुईहरु पनि बिश्राम गरी गरी चलिरहेछन्। न त रातमा मस्त निद्रा लाग्थ्यो यदी लागिहाले पनि सपनामा आफ्नै घरतिर डुलिरहेको हुन्थें,कहिले प्लेनमा उडीरहेको त कहिले साथीहरुसँग गुनासो पोखिरहेको, थुप्रै थुप्रै तर्कनाहरु आइरहन्थे मनमा। ज्यादै गार्हो भईरहेको थियो त्यो दिन कुर्नलाई जहिले म नेपालको लागि उड्ने तयारीमा थिएँ, अन्तत त्यो दिन पनि आयो रातको १२ बजे को flight मा Ethiopia को बाटो हुँदै उडियो। म पहिले नै सुसुचित थिये कि यात्रामा नेपालीहरु बिरलै भेटिन्छन् किनकी धेरै जसो नेपालीहरु खाडी मुलुक हुँदै जान्छन् तर मेरो ठीक बिपरित थियो। एक किसिमको उत्सुकताले मनमा डेरा जमाइरहेको थियो भने अर्को तिर आँखाभरी उही मिलनका क्षणहरु वरिपरी घुमिरहन्थे।
रातको यात्रापछि बिहान सबेरै Ethiopia को राजाधानी Adisababa स्थित Bhole international airpaort मा पुगियो जहाँको system मलाई अति नै उचित लाग्यो किनकी यदी यात्रीको 6 hrs भन्दा बढी transit छ भने उनिहरुलाई lodging and fooding को ब्यवस्था सार्है systametic तरिकाले हुँदो रहेछ। अफ्रिका मध्यकै एउटा गरिव देश भएपनि त्यहाँको ब्यवस्थित कार्यप्रणाली देख्दा खुशी लाग्यो सोही rules and regulation अनुसार म आदेशानुसार होटेलमा जान बस कुरी बस्दै थिएँ,त्यही क्रममा एउटा candian महिलासँग भेट भयो। उहाँले पनि बस नै कुरिरहनुभएको त्यही एउटै होटेलमा जान, त्यसपछी चिनापर्ची साटासाट् गरियो र कुराकानी गर्दै होटेल पुगियो, त्यहाँ पुगेपछी हामीलाई रुम दिईयो, ओल्लो ढोका र पल्लो ढोकाको। त्यस्पछी breakfast गर्न सगैँ गयौँ। उहाँ पनि through NGO अफ्रिकन देशहरुमा समाजसेवीको रुपमा काम गर्नुहुदोरहेछ। बसाइ पहिले England अहिले Canada मा भन्दै हुनुहुन्थ्यो, एकदम फरासिलो मित्र, थोरै समयमा नै धेरै कुराको आदानप्रदान गरियो। म यात्रामा एक्लो भएकोमा रत्तिभर दुखी थिईन बरु मन मनले ढुङ्गा खोज्दा देउता मिले झैँ लाग्यो। त्यसपछी हामी lunch मा भेट्ने बाचा सहित रूमतिर लाग्यौँ र केही समयमा सगैँ lunch गरेपछि हामी दुवैको flight बेलुकी ९ बजे पछी भएको हुनाले बाहिर तिर घुम्न जाउँ भन्ने सल्लाह भयो र होटेलको ड्राइभर लिई museaum तिर लाग्यौँ। धेरै नौला कुराको द्र्श्याबलोकन गरियो, एउटा भर्खरको युवकले अंग्रेजीमा एक्-एक बेलिबिस्तार लगाइरहेको थियो, त्यसपछी हामीले उसलाई केही tips दिएर त्यहाँबाट बिदा भयौँ र होटेलको ड्राइभर बाट केही कुराहरुको जानकारी भयो र सोधियो पनि, उहाँबाट नै थाहा भयो Adi sababa को मतलब A new flower जसले आजको Ethiopia लाई संकेत गरिरहेको छ।त्यसपछि होटेलमा फर्केर चियानास्ता गरी बाहिर एकछिन डुल्न गयौँ। त्यो मित्रको यहाँ दोश्रो पटक भ्रमण भएको हुँदा केही अप्ठ्यारो भएन, त्यही मौकामा धेरै कुराहरु हेर्ने मौका पाएँ, त्यहाँको वस्ति, बातावरण , जीवनशैली अनी बिकासका पुर्वाधारहरु विसट्रित रुपले बुझ्न नपाए पनि जति देखियो त्यतिले नै केही हदसम्म त्यो देशको नक्सा अड्कल गर्न सकिन्थ्यो अनी त्यही सानो visit मा सम्झनाको लागि केही सामान किने र हामी फर्कियौँ त्यसपछि dinner पनि सगैँ गरियो र फेरी भेट होला नहोला, सम्झनाको लागि केही फोटोहरु पनि खिचियो। उहाँले खै के भएर हो कुन्नी तर मेरो साथमा मोबाइल भएको कारणले मैले उहाँको mial id note गरेँ अनी अझै सम्झेकी छु, उहाँले भन्दै हुन्हुन्थ्यो फोटोहरु मेल मा सेन्ड गर्नु ईमेल हरु पठाइराख्न हामी internet मा भेट हुँदै गरौँला है तर दु:खको कुरा नेपाल पुगेपछि mobile exchange गरेर चलाऊँदा पछि सोधपुछ गर्दा त त्यो delete भईसकेछ, म साँचै दुखी भएँ त्यो पल किनकी मैले हाम्रो मित्रतालाई त्यतिमै टुग्याउँन पटक्कै चाहेकी थिईन तर त्यो हुन गयो भुलमा। शायद उहाँले मेरो मेल कुरी बस्नु भयो या भएन तर मैले उहाँलाई अझै बिर्सेंकी छैन र कहिले बिर्सन्न पनि मात्र क्षमा प्रार्थी छु।
हामी dinner पछि रूमतिर लाग्यौँ सामानहरु मिलाउन अनी एउटा अधबैँश महिला जो मेरो रूम सफा गर्न आउनुभएको थियो र बेला-बेलामा खाना तयार भयो भनेर आउनु हुन्थ्यो। हामी दुबैले एकअर्कालाई नबुझेपनि साँकेतिक भाषामै उहाँको केही कुरा थाहा पाएँ, ३ छोराछोरी छन्, लोग्ने खाली पिउँछन्, रेखादेख गर्दैनन्। उहाँको अनुहारमा पिडाका भावहरु मैले पढेँ, खै किन हो मन यति नरमाइलो भएर आयो केही दिन मन लागिरहेको थियो तर त्यतिखेर के कारणले दिन सकिन। जब बेलुकी रुमबाट सवै सामानहरु airport मा जान बस कुरी बसेँ। मैले त्यो दुखी महिलाको निम्ती एउटा scarf , बच्चाहरुलाइ केही मिठाइहरु र केही डलर दिई मनलाई सन्तुष्ट दिलाएँ, अरु त म के गर्न सक्थे र आखिर म पनि त उस्तै हुँ तर उनीलाई भेट्न सकिन तल अफिस मा नै उनीलाई दिनुहोला भन्दै बुझाईदिएँ अनी अति मिलनसार canadian साथीलाई अन्तिम अंकमाल गरी धन्यवाद दिदै मेल मा भेटौँला भन्ने विश्वाशमा हामी छुट्टीयौ।
मन एकातिर हर्षित थियो भने केही मात्रामा दुखी पनि थिएँ। त्यसपछि भोलिपल्ट १२ बजे तिर India को दिल्ली स्थित Indira Gandhi Airport मा अवतरण भईयो र केही समयको transit पछी छिट्टै काठमाडौं को लागि उडियो , त्यसको केही समय पछि नै नेपालको मनोरम द्र्श्यहरु अवलोकन गर्ने सुनौलो अबसर मिल्यो । आहा ! कति सुन्दर त्यो हरीयाली, प्राकृतिक छटा अनी मनमोहक हिमाल चुलिहरु बश आँखा नै नचिम्ली बादलले नढाकुन्जेल सम्म अनवरत हेरी नै रहेँ, रमाउदैँ गएँ, धन्य सम्झे आफुलाई मनमनै । धेरैपछिको त्यो तिर्सना बिस्तारै मेटिन थाले जस्तो लाग्यो। बिस्तारै फाट्टफुट्ट घरहरु देखिन थाले, खेतका रहरलाग्द गर्हाहरु अनी ठाउँ ठाउँमा साना साना घरहरुले रुमालमा छुप्प छुप्प बुट्टा भरे झैँ लाग्यो। प्लेन बिस्तारै ओर्लिदैँ थियो र अन्तत्गत्वा ३ बर्षपछि माट्रुभुमीमा पहिलो पाइला राखियो धक फुकाएर , पाइलाहरु छिटो छिटो अघी बढ्डै थिए कि साँचेका रहर अनी कल्पनाहरु केही क्षणपछि नै वास्तबिकतामा परिणत हुँदैछ।
केही समयको पर्खाइपछी आफ्नो सामानहरुमा ट्रलिमा राखेर घिसार्दै यी आँखाहरुले परिचित अनुहारहरु खोज्दै थिए। एक्कासी दाइले नानी भनेको आवाज सुने अनी ममिलाई देखेँ। दुवैजनासँग अगाँलोमा बाँधिएँ। आँखाहरुबाट हर्षासुँ खसिरहेको थियो, मन यति तरंगित भएको थियो कि मैले शब्दमा ब्यक्त गर्न सकिन त्यतिखेरका पलहरु बश उहाँको अगाँलोमा बाँधिदा यस्तो सुखानुभति भईरहेको थियो कि मैले धेरैपछि फेरी मात्रुशुलभको भाबहरु पाइरहेको थिएँ, आनन्दको केही सिमा थिएन र सामानहरु राखी बासस्थानतिर हुइकियौँ। कुरा गर्दै बाटोमा आँखाले भ्याउन्जेल हेर्दै थिये। उस्तै सडक, उस्तै पेटीहरु, घरहरु कुनै कुनै अझै उस्तै, बाटोमा गाडीका अब्यबस्थित लामहरु अनी उस्तै ट्राफिक जाम अनी मान्छेहरु को भिड पनि हिजो जस्तै तर अली बढी चहलपहल थियो, रङिचङी फुलहरुले र बत्तिहरुले पसलहरु सिगाँरिएका थिए, हर्षोल्लासको माहोल थियो किनकी त्यो आजकै जस्तो लक्ष्मीपुजाको दिन थियो । घर पुगेर सवैसगँको औपचारिक कुराकानीपछी लागि लक्ष्मीपुजाको तयारीतिर , थकाईको रत्तिभर अनुभब थिएन, म एक किसिमको पूर्णताको महसुस गरिरेहेकी थिएँ। उहाँहरुले सवै तयार गरिसक्नुभएछ पहिले नै तर दीप प्रज्ज्वलन चाँही म बाट नै शुरु भयो। घरको हरेक कुना काप्चाहरु नियालेर हेरेँ। सवै मिलिजुली पूजाआजा गरियो। छरछिमेकका भाईबहिनीहरु देउसिरे भन्दै गाइरहेको सुनिन्थ्यो । हामी सवैजना लामो समयको अन्तरालमा एक हुँदा हर्षले झुमेका थियौँ धेरैपछिको बिछोडपछी निकै रमाइलोका साथ मनायौँ। त्यो दिनको लक्ष्मीपुजा स्मरणमा अझै ताजै छ अब अर्को भेट नभएसम्म त्यही नै सहारा बन्ने छ परदेशमा । यसपालिको लक्ष्मीपुजा यसरी नै मनाउदैँछु अतितलाई सम्झेर..यही पावन अबसरमा यहाँहरु सवैलाई दीपावलीको हार्दिक मंगलमय शुभकामना...अनी आजकै दिन महाकवि लक्ष्मी प्रसाद देवकोटाको सप्तबार्षिकीको उपलक्ष्यमा पनि उहाँप्रति भावपूर्ण श्रदा सुमन अर्पण गर्दैछु ...
र साथमा यात्राका केही तस्विरहरु ...
म आँफैभित्र हराइरहेको बेला
रणभुल्लमा परि बाटो बिलाइरहेको बेला
मेरा खुट्टाहरु लर्खराइरहेको समय
आस्थाहरुको दियो बिस्तारै निभ्दै गर्दा
किनारा जस्तै पन्छिएर बस्न खोज्दा
अनायासै कहाँबाट तिमीसँग भेट भयो
साथीत्वको चोखो नातामा बाँधिएर
हामी हिड्दै थियौं..
तर मन न हो ,
भावनाहरु आपसमा मेल खाँदा
समयसगैँ एकआपसमा नजिकिदैँ जाँदा
थाहै नपाई प्रित बस्दोरहेछ
चाल नै नपाई यो मनले
कसैलाई चाहदोँ रहेछ ।
अनी फेरी भत्किएको सपनाको महलमा
नयाँ उमगँहरु पलाउँदो रहेछ
खुशीहरुसँग जिउने आशा जाग्दो रहेछ
मिलनका कल्पनाहरुसित घनिभुत हुँदै
एउटा बलियो आधार मिल्दो रहेछ बाँच्नलाई ।
तिम्रो अटल विश्वासले
मेरो आत्मबिश्वासमा आयाम थपिदिदाँ
तिम्रो आगमन मेरो जीवनमा
एउटा सुनौलो उपहार जस्तै
भगवानले दिनुभएको आशिर्बाद जस्तै
किनकी,
तिम्रा निश्चल आँखाहरुमा मेरा खुशीहरु लुकेको देखेँ
तिम्रो चोखो स्पर्शमा केवल कोमलता पाएँ
तिम्रो भावनाहरुमा मात्र मेरो प्रतिछायाँ पाएँ
तिम्रो अगाँलोमा बाँधिदा मैले सुरक्षित महसुस गरेँ
तिम्रो विश्वाशमा मैले जिउने आधार भेट्टाएँ
तिम्रो प्रबेशमा मैले पुनर्जीवन पाएँ ..
त्यसैले ,
मैले मेरो मन, मुटु, आत्मा
सवै सवै तिमीलाई अर्पिसकेकी छु
अब म तिम्रो लागि जिउनेछु
हाम्रो लागि बाँच्नेछु
सगैं साँचेका सपनाहरुको निम्ति आँट्नेछु
बिच बाटोमा हाम्रो यात्रा सुरु भए पनि
तिमीसगैँ यो यात्रा नै अन्तिम यात्रा हुनेछ
मेरो जीवन्,खुशि,सपना अनी यथार्थता
केवल तिम्रै नामसँग जोडिनेछ ...









