समुन्द्र र म

7

Category:


तिमी बगिरहेकै छौ निरन्तर-निरन्तर
म किनारमा बसी अबलोकन गरिरहेछु..
कहिले छाल बनि उर्लिन्छ्यौ त
कहिले शान्त भैइ छल्किरहन्छ्यौ..
यो पसिना छुट्ने गर्मीमा पनि
तिमी मन्द पबन बनि शीतलताको आभास दिन्छ्यौ..

म जति दृष्यावलोकन गरिरन्छु तिमीलाई
तिमी उती नै अनन्त,म पुग्न सक्दिन त्यो बिन्दुसम्म..
मात्र केबल कल्पनामा डुबुल्की मार्दै तिमीसँग झुम्न सक्छु..
ढुङ्गा र किनाराहरुसँग मितेरी गाँस्दै तिमी
क्षितिज पारी कहाँ हो कहाँ बगिरहन्छौ उस्तै गरी..
कति आए होलान् बादल,बर्षा र प्रचन्ड घाम
तर ओत लाग्न जान्दैनौ तिमी ..
शिषिरको तुषारो न ग्रिष्मकालीन याम
खै त फरक खोज्न जान्दैनौ तिमी ..

शायद तिमी अनुभब गरिरहेकी छौ
सागर तिम्रो गन्तब्य बनि तिम्रै पर्खाइमा कुरिरहेको छ..
त्यसैले तिमी कसैसँग केही प्रतिकार नगरी
बिना गुनासो र मागहरु बिना नै
हिडिरहन्छौ यात्रामा आदी देखि अनादी सम्म..
झरना,खोला अनि नदीहरुका संगम भै
बिशाल सागरको गहिराइभित्र समाहित हुने उमंगमा..

म उभ्याउन चाहन्छु आफुलाई आज तिमीसँग
र दाँजिरहेछु आँफैलाई मेरो पृष्‍ठभुमिसँग..
म एउटा मान्छे जो सजीबहरुकै सर्बश्रेष्ठ कोटीमा राखिएको छ..
म बग्न सक्दिन तिमी जस्तै अटुट
म अल्झिन्छु,टुक्रिन्छु र कहिलेकाँही त्यसै अलमलिन्छु..
म बन्न सक्दिन तिमी जस्तो अमुर्त र अजर
म प्रतिकार गर्छु र बाँच्नको निम्ती संघर्ष गरिरहन्छु..
तर तिमी मेरो हिम्मत हुन सक्छौ र प्रेरणाको स्रोत पनि
म हिंड्न सकुँ निरन्तर मेरो लक्ष्यसम्म पुग्न
जसरी तिमी एकनास बगिरहन्छौ सागरको मिलनमा..
म रम्न सकुँ र यो जिबनलाई सार्थक बनाउन सकुँ
तिमी जस्तै निष्पक्ष आदर्श एउटा मानबको रुपमा..

टुहुरोको ब्यथाहरु

3

Category:


हे दैब! तिमीले मेरो संसार चुँडाइ लग्यौ किन?
अन्धकारमा धकेलि सबैबाट रित्तो बनाइदियौ किन?
सडक पेटी नै मेरो बासस्थान भयो अब..
फ्यालेका बासी,सडेगलेका खाना नै मेरो आहार भयो अब..
ति फोहोरका डुङँरहरुसँग खेल्दैमा मेरो बालपन गए अब..
जाउँ कहा,कसलाई गुहारुँ? आफु नै लुटिँदा खेरी..
बाल अधिकाराको त के कुरा ?
गुलियो नारा र बिदेशीका डलर मात्रै
रित्याउने भाँडो भएपछि..
अब केबल एउटा धौ बाँकी भयो,
यो जिबनरथ लाई अघी बढाउँ म कसरी ?

पुकारीरहेछु एक्लै यहाँ आकाशमा हेर्दै तिमीलाई
चित्कार तिमीले मेरो सुन्यौ कि सुनेनौ ?
तिम्रो यो तारालाई फुलको थुगाँ बनाउछु भन्थ्यौ,
तर आज तिम्रो अनुपास्थितिमा
कोपिलामै रङहिन भएछु..


तिम्रो ममताको आभासले मलाई सधैं पिरोलिरहन्छ..
तिम्रो काखमा अरु झै लडिबुडी खेल्न मन लाग्छ..
मान्छेहरुले मलाई उपहासको पात्र बनाउँदा कहिले,
म टुक्रिन्छु सिसा जस्तै,
अबिरल बग्दछन आँसुका धाराहरु उस्तै..


त्यसैले आइदेउन तिमी मात्र अन्तिम पटक फेरि,
बाँधिदेउन मलाई तिम्रो न्यानो अगाँलो भरि..
म हेर्न चाहन्छु संसार तिम्रो आँखाबाट..
र फक्रिन चाहन्छु म तिम्रै कोमल स्पर्श,माया र प्रेरणाबाट..
म लम्किन चाहन्छु बिजयपथमा तिम्रै हात्तेमालो बाट..
र पूर्ण बनाउन चाहन्छु आँफैलाई त्यो एक्लोपनबाट..
बिन्ती छ! आइदेउन तिमी मेरो छायाँ बनि फेरि,
म प्रतिक्षारत छु तिम्रै लागि सपनामै भएपनि..

भो नसोध मलाई

9

Category:



भो नसोध मलाई मेरो जन्मभुमिको बारेमा,
भित्रभित्रै कहाली रोइरहेको बेला।।
भो नहाँस तिमी मेरो राष्ट्रियता प्रति,
अखण्डता एक एक भैइ टुक्रिरहेको बेला।।
भो नदेखाउ मलाई चन्द्र सुर्य जडित,
मेरो देशको पहिचान बोकेको झन्डा,
एक्लै रोई आँसुहरुको ढिक्कासँग फर्फराइरहेको बेला।।
भो नझस्काउ मलाई मेरो माट्रुभुमिको बारेमा,
नेपाल आमाको आँसु पुछ्न नसकिरहेको बेला।।
भो नभन मलाई नेपाली एकता र बिजयको बारेमा,
एकीकरणका ईतिहासहरु दिनदिनै बिर्सिरहेको बेला।।
भो नसम्झाउ मलाई हाम्रा वीर सहिदहरुको बारेमा,
उनका रगत र पसिनाहरुको मुल्य खेर गैइरहेको बेला।।
भो नसोध मलाई बुद्ध जन्मेको धर्तीको बारेमा,
अशान्तिको दियो दनदनी बलिरहेको बेला।।
भो नजिस्काउ मलाई हाम्रो सगरमाथाको उचाईसगैँ,
लाजले सानो भैइ शिर झुकाइरहेको बेला।।
भो नसोध मलाई हाम्रो परम्परा र संस्कृतिको बारेमा,
पुर्बीय सभ्यताले बलियो जरा गाडिरहेको बेला।।
भो नसम्झाउ मलाई मेलापात र लाखे नाचहरुको बारेमा,
समयको प्रभाबसगैं लोप भैइरहेको बेला।।
भो नसोध मलाई देशका सक्षम जनसक्ति हरुको बारेमा,
गाउँ,बस्ती,सहर र देश रित्तो भैइरहेको बेला।।
भो बर्णन नगर मलाई राजनीतिज्ञ त कुटनितिज्ञ हरुको बारेमा,
छेपारोको रुप देखाइ सत्रु हँसाइरहेको बेला।।
भो नसुनाउ मलाई हाम्रा खोक्रा नेताहरुको बारेमा,
खुट्टा तान्ने खेलमा लछारिदैँ पछारिदैँ देश लुटिरहेको बेला।।
भो नसोध न मलाई मेरो अस्तित्वको बारेमा,
हाम्री साझा आमाको अस्मितामा ठेस लागिरहेको बेला।।
भो खिल्ला नगर न मेरो माटोको सुबासको बारेमा,
जहाँ सार्बभौमसत्ता अलि अलि गर्दै बेचिरहेको बेला।।
भो सान्त्वना नदेउ मलाई म बेसहारा भएपनि,
एकार्काप्रतिको सदभाब र सहयोगी हातहरु हराइरहेको बेला।।
भो दया नगर्नु है मलाई,म बाट सबै खोसिए पनि,
भित्रै देखि कमजोर भैइ देश दुखिरहेको बेला ।।

2

Category:

म एउटा सोझो हली

म मेरो नाम बाट कहाँ चिनिन्छु र ?
सादर भाब राखी मलाई को बाट बोलाइन्छ र ?
हात मुख जोर्न खर्चिन्छु पसिना म,
रात दिनै अर्काकै धर्तीमा॥
जति दु:ख गरेनि मन खुशी पार्न गार्हो छ साहुको,
धनको धनी भएपनि म त साँचै गरीब छ उनको..
काम चाँही देख्दैनन्,दाममा भने आँखा गाँढेकै छ..
उस्तै हिजो थियो कम्लहरिको कथा,
आज पनि त्यस्तै दासीको ब्यथा सल्बलाइरहेकै छ॥
समाज हुर्किरहेकै छ शोषित बर्गबाट,
जसरी तसरी गरीब निमुखा हरुलाई,
खुट्टा मुनि राख्ने चलन अझै पनि जारी नै छ।

लम्किन्छु हलो ,जुवा र हँसियाका साथ बिहानी घामसगैँ,
र पाथी बोकी फर्किन्छु खरको छानामा,
जुनको उज्यालोसगैं भोलिको आशामा॥
जहान बच्चा पर्खि बस्छन मलाई,
मुख ताकी बस्छन मेरो,पेटको भारी बिसाउनलाई..
म नहुँदो हो त,त्यो माटोको अगेना पनि
सुनसान भैइ टोलाइरहन्थ्यो होला॥
अरु त त्यस्तै भयो,
भोकको तिर्सना पनि पानीले मेटाउदैं,
निदरीको काखमा गुटुमुटु हुन नि धौ-धौ पर्थ्यो होला..
सुनेको छु,देखेको छु मैले पनि संसार,
मानिसहरु भब्य बंगलाहरुमा,
ती बिलासीताका बस्तुहरुसँग रमाइरहेका छन॥
आफुलाई हेर्यौ यतै प्वाल्,उतै प्वाल,
बर्षामा पानी चुहिएर ठाउँ ठाउँमा
कुचिएका भाँडा थाप्नुपर्ने..
जाडोहरुमा ती कठोर शितहरुसगँ,
न्यानो कपडाहरु बिना काँपिरहनु पर्ने॥
अरु बच्चाहरु कापी कलम च्यापी स्कुल जाँदै गर्दा,
कठै! मेरो नानीहरु त्यो भत्केको आँगनको डिलमा बस्दै
टुलुटुलु ओझेल नपरुन्जेल हेरिरहन्छन॥
ति अबोध र निर्दोष बालपनलाई
मैले चाहेर नि सिङार्न नसक्दा,
मेरो मन त्यसै त्यसै भक्कानिन्छ..

गर्न सम्म दु:ख गरेकै छु,घाम्,पानी,जाडो केही नभनि ,
न चोरेको छु,न त कसैलाई ढाँटेर बाँचेको छु..
दिन प्रतिदिनको कथा उस्तै,ब्यथा त्यस्तै
दुई छाक टार्न पनि मलाई यस्तो पिर,
गर्न सक्दिन म पुरा यिनका आधारभुत आवश्यकताहरु..
म सोच्न वाध्य छु अहिले ,
मैले थानेको थिएँ,यिनिहरु मै मेरो सामर्थ्य हुन..
तर मैले कसरी भुले मेरो कटु सत्य?
म एउटा मात्र बिबश हली..
जो बन्चित छ,समानताको आवाजहरुबाट..
जो लुटिएको छ,आफ्नै जिन्दगी,सपना र रहरहरुबाट..
जो कोसौ टाढा छ,सुख,शान्ती र सुनौलो भबिष्यबाट..
जो गरिबिको रेखामुनि जिबन गुजारिरहेको छ..
जो सामन्तीहरुको थिचोमिचोमै पिल्सिरहनु परेको छ..
जो पसिनाको खोला बगाइ एक पाथी चामलकै निम्ती,
सारा जिबन ओझेलमा पार्नु परेकै छ..
र म बाँचिरहन्छु उस्तै गरी अनि मेरा सन्तानहरुले,
मेरै बिडोँ नथामी कहाँ सुख पायो र ?
त्यही बाँच्नु र बचाउनुको पिडामा त अड्किरहनु परेको छ..

परिवर्तनका ढोकाहरु हाम्रो पहुँचमा कहाँ पुग्नु?
अझै आफ्नो पहिचान गुमाउनु छदैँछ..
उज्यालो गोरेटाहरुको सिर्जना कसरी गर्नु ?
म कालो अक्षर भैंसी बराबर जस्तै छु..
नियम कानुनका किताबहरु मलाई के थाहा?
त्यो एकमुठी सास धान्नमा नै म ब्यस्त हुनुपरेको छ..
जिबनस्तर उकास्ने बिभिन्न सैदान्तिक र व्याबहारिक
तरिकाहरुले मलाई कसरी छुन्छ ?
म केबल अरुको सुन्नु र आदेश मान्नुमा नै
कर्तब्यनिष्ठ ठहर्नु परेको छ..
अनि भनन मेरा अनन्त बिरह र बिलौनाहरु सुन्ने कसले?
जो अरुको निम्ती आजको एक्काइसौँ शताब्दीमा,
मात्र एउटा अनपढ,पाखे,झुत्रे गाउँलेको रुपमा चिनेको छ..
त्यसैले म सधैं झै ती निराशाका बादलहरुमा रुम्मलिदैँ,
कहिले चाहेर जिबन बाँच्न चाहन्छु..
र कहिले नचाहेर पनि हाँस्न चाहन्छु..
त्यही खेतका डल्लाहरुसँग..
त्यही हँसिया र कुटो कोदालो हरुसँग..
त्यही गाइगोरुका अपरिचित भाषाहरुसँग..
त्यही एकपाथी चामल पाउने आशासँग..
त्यही परिवारको खाँचो टार्ने सानो सपनासँग..
हो,म एउटा बिल्कुल सोझो हली...


मित्रताको नाममा समर्पित

4

Category:

मैले चाहे भन्दा धेरै,मैले मागे भन्दा ठुलो उपहार हौ तिमी ,
किनकी तिमी मेरो साथी,मेरो मनको साथी जिबनभरी..
जबजब म हड्बडाउँछु,तिमी त्यँहा हुँन्छौ सम्हाल्न मलाई,
मेरा कमजोरीहरु औल्याइदिन र मलाई राहत दिन..
बुझाउन मलाई अनि बाटोहरु देखाइदिन..
तिमी त हौ मेरो भरोसाको प्रतिमुर्ती,
जसरी तिमी हरेक दु:ख सुखमा त्यही हुँन्छौ ..
तिम्रो न्यानो सहानुभुति सहित देखा पर्छौ ..
जहिले म एक्लो महसुस गर्छु,
तिमिले एक्लोपनको आभास हुन दिदैनौ..
जब म थकित भैइ सपनाहरु धमिलो देख्न थाल्छु,
तिमीले सुनौलो आशाहरु जगाइदिन्छौ..
थाहा छैन म कसरी अभिब्यक्त गरुँ आँफैलाई,
तर तिमीले हजारौं बाटोहरु पहिल्याइदिन्छौ..
न त तिमीले मलाई हतास हुने मौका दिन्छौ,
न त निरास भैइ सुन्यमा कतै हराउन दिन्छौ..
तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,
मेरो सफल जिबनको सिढिँहरु बन्न सक्छौ..
तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,
अटल विश्वाश र संजिबनी हुन सक्छौ ..
त्यसैले त म भन्ने गर्छु तिमीलाई,
तिमीबिना शायद म अपुरो छु,अँधुरो हुनेछु..
केबल यस्तै भैरहनु,परिवर्तन नहुनु कहिलेपनि,
म तिमीलाई गुमाउन चाहन्न,
तिमी मेरो प्रत्यक पलहरुको साथी..
भौतिक रुपले हामीलाई अलग्याए पनि,
तिमी त्यही हुनेछौ मेरो आडमा..
तिम्रा न्यानो साथहरु त्यही हुनेछन,
हाम्रो मित्रताको हातहरु कहिले बदलिने छैनन् ..
म साँचै भाग्यमानी ठान्छु आँफैलाई,
तिम्रो आगमन मेरो लागि एउटा छुट्टै पहिचान ..
अपेक्षा गर्छु म तिमीबाट,हर कोणहरुबाट,
तिमी त हौ मेरो पाइला-पाइलाको साथी..
शब्दहरुमा आभार ब्यक्त गर्न सक्दिन म,
मेरो जिबनमा तिमी हुनुको अर्थ..
मात्र एउटा कामना छ अन्तर हृदय बाट नै,
तिमी नै भैइदेउ मेरो जनम्-जनमको साथी..

2

Category:

मुर्त कर्णालीको अमुर्त सुस्केराहरु
आयो बैरी नजानिदोँ पाराले,आफ्नो भन्नु सारा बगायो
बाँकी छैन केही त्यँहा,आखिरमा उठिबास नै गरायो
न त सपनामा कहिल्यै देखेको थिए,
न त बिपनामा कहिलै कल्पना गरेको थिए,
तर एकै पलमा जिबन बदलिदियो कुनै खेल जस्तै
गाँस्,बास र कपासको स्रोतहरुबाट जरैदेखि उखेलिदियो।

क्षताबिक्षेत भए घरहरु,गाइगोठहरु र निर्माणाधिन बिकासहरु
अन्न बाली बगाइ लाग्यो मात्र बालुवाको बगर बनाइ छड्यो
सप्पै सप्पै नाश भए क्षणभरमै आफ्नै आँखा अगाडि।
आबेशमा बग्दै आएको भेलसगैँ सपनाहरु बगाइ लगे,
सम्हाली राखेको आशाका त्यान्द्राहरु जबर्जस्ती चुँडाइ लगे।
कस्तो कहाली लाग्दो त्यो क्रुर समय सम्झिँदा पनि अत्यास लाग्ने
कस्तो निस्ठुरी हो दैब पनि?त्यो अन्याय रमिता झै हेरिरहने।

अब कहाँ जाउ यो लाला बाला बोकी ?
कसले देला मलाई साहस र सन्तुष्टी ?
कसरी बनाउ म गरिखाने बाटो ?
मानो भर्नु नै रहेछ यहाँ सबैभन्दा गार्हो।
पेट नभरेर ट्वाल्ल मेरो मुखमा रुदै हेर्दा,
म मरेजस्तै हुन्छु,आँफैलाई धिक्कार्छु।
त्यो एकसरो कपडा पनि शरिरमा पुरै धाकिदिन नसक्दा,
म आफुलाई नितान्त नामर्द झै महसुस गर्छु।
टुक्रिसकेको छु पुरै म जब देख्छु मेरा भोलिका ताराहरु,
त्यसै त्यसै तितरबितर भैरहेछन मेरै वरिपरी।
तह लगाउ म उनिहरुलाई कसरी ?
उज्यालो र सुनिश्चित भबिष्यको बाटोहरु डोरयाउ म कसरी?

ओत लाग्ने ठाउँ छैन कतै,
बर्षा न गर्मी, जाडो न घाम,
छैन फरक, पार्दैन फरक
तुषारोमा काँपिरहेकै छन,
टन्टलापुर घाममा डढिरहेकै छन,
उही खाली पेटमै,उस्तै जिउने झिनो आशमै।

प्राकृतिक प्रकोपले यसरी नाङै पारिदिएपछी,
आफ्नै भुमीले यसरी श्राप दिएपछी,
हामी त आफ्नै ठाउँमा पराइ भएछौ।
बस्तिहरु खोज्दै जाँदा,आफ्नै आमाको काखमा,
परदेशीहरुबाट शरणार्थी जस्तै लखेटिएछौ।
कति दिदीबहिनीहरु आफ्ना अस्मिता लुटाइरहेका छन,

परालको छाना भित्र पनि धम्की र त्रासकै
छहारीमा जिबन गुजारिरहेका छन।
लोभ र लालचमा अपहरित भैरहेकै छन,
आफन्तबाटै बेपत्ता भैइ बस्तु जस्तै
मोलतोल गरि बासनाकै लागि बेचिएकै छन।

ब्यथा बुझिदिने हामीलाई छन कि कतै?
हाम्रा दु:ख र मजबुरीका आवाजहरु सुन्ने होला र कतै?
छन र कोही हाम्रा पिडित पुकारहरुलाई बिगुलमा फुकी हिंड्ने?
खै शान्ती र सुरक्षा कहाँ ?
मानब अधिकारका नाराहरु कहाँ?
नेताहरुका चिल्ला भाषणहरु कहाँ?
नेपाली नागरिक हुनुको हक र अधिकारहरु कहाँ?

तर हामीलाई कसले सुन्ने ?
सरकार र नेता भन्नु पनि उस्तै हो,
आफ्नै दुनो सोझ्याउनै ब्यस्त ।
हक र अधिकारहरुको निम्ति लड्ने संघसंस्थाहरु पनि त्यस्तै हो,
बिदेशी सहयोगको हातहरु थापि आफ्नै गोजी भरिरहने।
आखिर हामी पर्‍यो उस्तै गरीब जनता,
निमुखा भैइ पुरै जिबन आश्वासनकै भरमा अल्झाइरहने।।

1

Category:

अपिल बिधुवाको
कहाँ गए मेरो परिचय?मेरो आफ्नै परिभाषाहरु?
अब रहे म निसंकोच बिधुवा मात्र एउटा निसब्ध बिधुवा।
जसले आफ्नो जिबन रथको सहयात्री गुमाएकी छे,
त्यो सँगसगैँ उसको आफ्नो अस्तित्व नै हराएको छ।

अब उ रहिन उसका लागि हिजो जस्तै,
उसका परिभाषाहरुले साथ दिदैनन अब
किनकी उ बिधुवा भैसकेकी छे,
समाजले उसलाई अर्को नाम दिसकेको छ।
त्यसै क्रममा उसका अस्तित्वहरु,
पनि जलेर खरानीमा राख भैसकेका छन।

उ बाचेँकी थीइ अर्कैको नाममा हिजो सम्म पनि
त्यसैले आज र भोली पनि बाचिरहन्छे अर्कै नामको सहारामा।
उसले सास फेरिरहेपनि पलपल मरिरहेकी छे,
फुस्रो मुस्कान छरिदिएपनि
त्यो वास्तबिक खुशी अब कहाँ मिल्छ र उसलाई?
मिलनका कथाहरुले के फरक पार्छ र उसलाई?

कसलाई के मतलब छ र उ के चाहन्छे ?
कसैले देख्दैनन उ आँसुहरुको सागरमा डुबिरहेकी छे,
आफु बाँच्नुको पिडा र निराशाको बादलहरुमा
आफुलाई घेरिरहेकी छे।
चैत्रको त्यो घाम जस्तै उराठ उराठ भैरहेकी छे,
कसैले बुझ्दैनन उ भित्रभित्रै गुम्सिरहेकी छे,
फेरी पनि त्यो यौबन र खोसीएको सौभाग्यसगैँ,
आफलाई पटक पटक छुरा हानी बाँचिरहेकी छे।
एकचिम्टी सिन्दुर र रङीचङी पहिरनकै निम्ति,
उ हरपल तडपिरहन्छे र फेरी आँफैलाई सम्हालिरहन्छे।

तर उ ब्यक्त गर्न सक्दिन,
उ चाहेर पनि आफुलाई उदांग पार्न सक्दिन।
बरु उ बर्षामा भेल आएर बगाइ लगेजस्तो,
निरस बगरहरु बनि बाँचिदिन सक्छे।
आफ्नै जिबनलाई मरुभुमी बनाइ,
आफुलाई त्यही समर्पण गरिदिन सक्छे ।
तर उ कदापि हामी हुर्किरहेको समाज र संस्कार बिरुद्द
हाम्रो धर्म अनि मुल्य र मान्यताहरु बिरुद्द जान सक्दिन

जसले उसको पुरै जिबन र चाहनाहरुलाई,
सिक्री झै बाँधिरहेको छ।
जहाँ परिवर्तनको सख्त जरुरी छ,
जहाँ नारी र पुरुषको बिचमा गहिरो खाडल छ।
जुन पुरिनुपर्छ र पुरिदिनुपर्छ।
भिन्नताको त्यो अग्लो पर्खाल भत्काइनुपर्छ,
असमानताका तगारोहरु भचाइँनुपर्छ,
र समान ब्यबहार गरिनुपर्छ।

अनि मान्छेहरुको बिचार र हेर्ने दृष्‍टिकोणहरुमा,
फरक ल्याइनुपर्छ र सहर्ष अगाँलिनुपर्छ,
जहाँ बिधुवा पनि एउटा मानब हो,
जो अरुजस्तै स्वतन्त्रतालाई प्रेम गर्छे,
र अरुजस्तै भएर स्वतन्त्र रुपले बाँच्न चाहन्छे।

अन्धो रितिरिवाजहरुसँग उ बाँधिरहन हुँदैन,
र आफुलाई जिउदै मारिरहन हुँदैन।
अन्धकारलाई स्विकारी एकपल्टको मानब जिबनलाई,
फक्रन छोडि फेरी अन्धकारमै डोरयाउनु हुँदैन।

उसलाई पनि तिमी जस्तै हाँस्न र बाँच्न देउ,
बिना संकोच, बिना प्रश्न र लान्छनाहरु बिना
उसलाई पनि तिमी जस्तै हिंड्न र बोल्न देउ।
तब हेर त्यो स्वतन्त्रताको आकाशमा
अबला बिधुवा पनि चरी जस्तै उड्न सक्छे,
मरुभुमी जिबनलाई फेरी एकपटक सास दीई
आशाहरुको धरातलमा इन्द्रेणीका रङ्हरु फलाउन र फुलाउन सक्छे।

थाहा छ उसलाई आफ्नो सिमाना
र चरी हुनुको अर्थ पनि।
यसैगरी "बिधुवा" को उपनाम बिना नै
आफ्नै साधारण भेषमा बिधुवाले पनि,
आफ्नो अस्तित्व कायम राख्न सक्छे।