धमिलो आकाश अनी शान्त पवन
कठ्याङ्रिने यो मौसम,
शिषिर ऋतुको आभास
झ्यालका सिसाबाट छर्लङ देखिने
सेताम्मे हिउँका डल्लाहरु ,
घरका छाना, चोक र बगैँचाहरुमा चुलिएका छन्
अझै बर्सिरहेछन् अनवरत फुस फुस
शायद हिउँसँग यसरी पहिलो पटक
साक्षात्कार भएर हुँदी हो,
मन यसै यसै रोमाञ्चित भएर आउँछ
म एकतमासले हेरिरहन्छु लाटोकोसेरो जस्तै
हलिउडका मुभीहरुमा देखिने सुन्दर द्र्श्यहरु
अधरभरी कल्पिएका काल्पनिक तस्विरहरु
आफ्नै अगाडि प्रस्तुत भईरहदाँ
लाग्छ अहिले भर्खर हाम फाल्दै गएर
हिउँकै ओछ्यानमा लुटुपुटु त्यहि खेलिरहुँ र रमिरहुँ
मन न हो ,
आफ्नाहरु सम्झिदिन्छ ,
दु:ख सुखमा , झरी बादलमा
नितान्त एक्लो खुशी हुने प्रयासमा
वेहिसाब दुखी भएको छ यो मन ।।
म गुन्दैछु यहाँ आफैसगँ,
उफ्फ ! यो समय
जिउने हरेक बहाना बोक्दै एक्लै एक्लै
कयौँ डाडाँ काटीसकेछु,
कति समुद्रहरु पार गरिसकेछु
यथार्थको धरातल सम्म आईपुग्दा,
पानी जस्तै रङ्हिन, स्वादहिन ,गन्धहिन म
अत्याधुनिक टेक्नोलोजीको जमानामा
थोत्रो ब्ल्याक एण्ड ह्वेट टि.भी जस्तो म
फगत रित्तो रित्तो उभिन
नहिच्किचाउने बबुरो म
आज र आफुलाई फ्युजन गर्दै जादाँ
एक पछी अर्को उकालो चढन खोज्ने यो मनलाई
फेरी मनले नै माया गर्दै
एउटा असल यात्री हुनुको
धर्म पालना गरिरहेछु ।।
खोज्न चाहे खुशी चौतारीमा
मौनतामा अल्झिरहे ।
आँधी बेहरी अनी बर्षा र बादल
आकाशै ढाक्ने कुहिरो
मानौँ म कनिकुथी पदचापहरु नाप्दैछु ।
शुन्यतामा हराउन खोज्ने यि विहानीहरु
उषाका लालीहरुले पछ्याउँदैछन् ।
लाग्छ पहाड, तराईको छात्तीभरी
उकुसमुकुस थुप्रीएको छ
तैपनी सदा,सर्वदा बाँचेकै छ र बचाँएकै छ ।
मैले पनि त देउरालीसँगको कसम
अझै भुलेकी छैन ।
संघर्षमय यि समयका झोँकाहरु
आगो भएर दन्किन्छन् पाइला-पाइलामा
उतारचढावका कयौँ ज्वालामुखीको
लाभाहरु बिच म आँफैलाई खोज्दैछु ।
डराउँदिन म ति बुलन्द आवाजहरु देखी
झस्किन्न म नमिठो सपना देखी
किनकी,
अव समय बदलिसकेको छ ।
कालो वादल हटिसकेको छ ।
निरासाको पर्खाल भत्किसकेको छ ।
नेपालीहरुको महान् चाड शुभ विजयादशमी र दीपावलीको पावन अवसरमा मेरा ब्लगर मित्रहरु, फेसबुकका सारा चिर ,परिचित आदरणीय गुरुजन तथा मित्रहरु साथसाथै मेरो ब्लगमा भिजिट गर्नुहुने जान अन्जान मित्रहरु लगायत देश, विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा उतरोत्तर प्रगति, सु-स्वास्थ्य तथा सम्रिद्दिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
म पनि एक परदेशी भएकै नाताले यतिखेर यो विक्षिप्त मन शिशु गजल द्दारा यसरी पोखाएर यहाँहरुलाई समर्पित गरेकी छु ।
यो बर्षको दशैँले हामीहरु माझ सुख,शान्ती र थप उत्साह तथा एकता ल्याओस् ।हामी जे, जहाँ र जस्तो रहेपनि हामीहरुको समय सदा शुभ रहोस् , मेरो यही नै अनन्त कामना ...
दशैँको रमझम, पहेँलै धानहरु झुलेको बेला
हर्षोउल्लासमा नेपाली मनहरु खुलेको बेला
आमा नपर्खनु मेरो लागि,नसोधे है संगीहरु
यता म परदेशमा पागल झैँ एक्लै डुलेको बेला
मनभरी वेदनाका विरुवा रोप्दैछु म यतिखेर
उता मखमली सयपत्री ढकमक्क फुलेको बेला
दिनु है आशिर्वाद परदेशीलाई क्षितिज पारीवाटै
संघर्षको मैदानमा आँफैलाई सारा भुलेको बेला
न हत्केलाले सुर्यलाई छेक्न सक्छु
न मैले बगेको नदीलाई रोक्न सक्छु
म विवस छु आँफैमा
बाँधिएकी छु समय र परिस्थितिको चक्रमा
यधपी लड्दैछु जीतको अभिलाषामा
उक्लिन खोज्दैछु शिखर चुम्ने विश्वाशमा
पराई भुमीमा हतासिदैँ छु एक्लै एक्लै
हजारौँ मानिसहरुको भिडहरुमा
फगत शुन्य शुन्य लाग्ने यी गल्लीहरुमा
म मेरो आफ्नै गन्तव्य खोज्दैछु
नेपालीपनको आभास खोज्दैछु ।
महान् चाड वडादशैँ जघांरमा आईपुग्दा
म क्षितिजपारी मेरो नेपालमा पुगेकी छु
त्यो पावन शरद ऋतु
मन्द मन्द हावाको स्पर्शसगैँ
उमंग अनी तरंगहरुको युगल उल्लासमा
मित्रता र एकतामा सारा दु:ख ,पीडाहरु भुलेर
आफन्त र साथीसंगी माझ
स्वच्छ खुशीयाली मनाउन पाउदोँ हो त
यो देह पराईको आगँनमा
यसरी छ्टपटाउनु पर्थ्यो र ?
मिलनको यो रोमान्चित माहोलमा
बिछोडिनुको वेदनामा पलपल
आफैँलाइ धिक्कार्नु पर्थ्यो र ?
मेरो उपस्थितिमा दिन गन्दै बसेकी
मेरी बिचरी आमाको आशालाई
निराशाको बादलमा धकेल्नु
मेरो रहर कदापि थिएन ।
आमाको काखमा टाउको राखेर
ती कोमल हत्केलाहरुको सुम्सुम्याइमा
बाबाको माया अनी स्वप्निल आनन्दमा
सारा संसार बिर्सेंर एकैछिन भएपनि
निदाउने चाहना मेरो पनि नभएको होइन ।
तर , अफसोच !
म निर्जिव मुर्तिहरुको धरातलमा
रोबोट श्वासप्रश्वास गरिरहेकी छु
जहाँ भावनाहरुको सत्कार हुँदैन,गरिदैँन
त्यसैले,
मैले खेलेको आगँन आज
केवल स्मृतिको आँखिझ्यालबाट चियाउनु पर्दा
मन त्यसै त्यसै बिक्षिप्त भएको छ ।
हो, यतिखेर मेरो मुटु
यिनै सम्झनामा, तिर्सनामा, वित्रिस्नामा
छिया छिया भईरहेको छ ।
औशीँको मध्यरात
जुन निदाइरहेको बेला
एक नितान्त शुन्य मन
मनभित्रको भ्रम
अनकन्टार वस्तीमा
जुनकिरीको टिलपिल उज्यालो
लाटोकोसेरोको राज
रातको मसानघाट ।।
शिषिरले बसन्त खोजे जस्तो
गजलले बहर रोजे जस्तो
पहाड उक्लिन खोज्ने यो मन
कहिले तलाउमा चुर्लुम्म डुब्न खोज्छ
कहिले चट्टानसँग ठोक्किन पुग्छ
अनी,
तर्सेर ब्युँझिन्छ चेतनामा
जोख्न खोज्छ जीवन तराजुमा ।।
कालरात्रीका केही प्रहरहरु
अझै केही बाँकी नै छन्
सुर्योदयले दिनको
स्वागत त गर्नु नै छ ।
पुर्णिमाका स्वर्णिम रातहरु
घमाइला ती दिनहरु
पोल्टाभरी सगाँलेर, सम्हालेर
भड्किरहेको यो अवशेषमा
सदावहार रगीँन इन्द्रेणी सजाउनु छ ।।
उ एकतमासले आकाश तिर हेरिरहेछ
वादलको घुम्टोले सुर्यलाइ विस्तारै छोप्दै
रातलाइ स्वागत गर्दैछ ।
छिनछिनमा प्लेनका आवाजहरुले उ झस्किन्छे
एकहुल चरी हरु चिरविर गर्दै
वासस्थानतिर फर्किदैँ होलान् यतिखेर ।
टिलपिल रोशनी को उपस्थितिमा
सन्नाटाको वायुमण्डलभित्र हराउँदै
अनुत्तरित प्रश्नहरु सोधिरहदोँ हो, खोजिरहदोँ हो आँफैसँग ।
बुर्का भित्र मात्र लुकाइएको मुहारको मुल्य कहाँ हुन सक्ला ?
एउटा नोकरको परिचय त्यो भन्दा अरु केहि होला ?
कसैको डर र दवाबमा जीवन बचाँइनुको अर्थ बाँच्नु हो त ?
तर,
मान्छेको भुगोलमा मान्छेले मान्छेलाइ किन बुझ्दैनन् ?
स्वतन्त्रता सवैको अधिकार हो,
समानता ईतिहासदेखिको माग हो,
आफ्नै जैविक मान्यता र चाहना अनुसार
जीवन यापन गर्न पाउनु हरेक नगरिकको हक हो ।
त्यो कानुनले किन संसार भरि पूर्णता पाएन ?
बेलायत होस् कि भुटान, नेपाल होस् कि भारत
अन्यायमा पिल्सिनेहरु पिल्सि नै रहेछन्
गोरा र ठाकुरहरुले छात्ती फुलाइ नै रहेछन् ।
अहँ, उ आत्म समर्पण गर्न पटक्कै तयार भईन ।
सास फेर्नुकै निम्ती कसैको इसारामा नाच्ने पुतली उ भईन ।
उ जान्दछे,
जवसम्म उ आफुबिरुद्ध उभिएका पिसासुहरुसित डराउँछे ,
तवसम्म उ एक कैदी सरह हुन्छे
जसको आत्मा स्वत अस्तित्व र परिचयमा सधैं भड्किरहन्छ ।
त्यसैले,
आज उसका आफ्नै मुल्य र सिद्दान्तहरुका निम्ती घोर लडेर आएकी छे ।
उसको आत्म सम्मान उपर जितेर आएकी छे ।
जीवन बाँच्नुको वास्तविकता बुझेर आएकी छे ।
आज उ आफैंमा सच्चा बिजेता घोषित भएकी छे ।