बिचरा ! जाजरकोट..

1

Category:

Photo:News of Nepal
नुन छैन,तेल छैन,छैन जीबनजल
अकालमै म्रुत्युको सिकार भैइरहेछन ती बझौरेहरु..
सरर प्लेनमा दृष्यावलोकन गर्दै भ्रमण गर्छन्
हाम्रा नेता भनौदाहरु..
फेरी ती सोझा,गरिब जनताहरुलाई
उस्तै गरी पहिर्‍याउँछन आश्वासनका मालाहरु..
जब फर्कन्छन कान्तिपुरी नगरी
कानमा तेल हालेजस्तै केही थाहा नपाए झै गर्छन्..

अनि यता हाम्रो स्वास्थ्य मन्त्री चाँही
जर्मनको हावामा सास फेर्दै फुर्सद छैन..
यता जाजरकोटदेखि राजधानीसम्म
चित्कार नै पुग्दैन..
कहिले औषधीको अभाब त
कहिले स्वास्थ्यकर्मीको..
असहाय र बिरामी जनताका सेवकहरु पनि
आफ्नै ज्यानको मोहमा रणभुमिमा डराइ,
सुटुक्क सुरक्षित स्थानतिर सर्छन ..

कठै ती बझौरेहरु! नेपाली हुनुको पिडामा
मनभरी बह बोकी कोही बँसाई सर्दैछन..
कोही आफ्नै भुमिलाई गर्‍हौ मुटुले सलाम गर्दै
छिमेकी मुलुकतिर पलायन हुँदैछन..
खै त देशले के रक्षा गर्न सक्यो र आफ्ना जनताहरुको?
कहिले प्रत्याभुति दिलाउन सक्यो र सुरक्षित भबिष्यको?
त्यति बिघ्न हैजाको महामारी फैलिएर
सबैजसो पश्चीमेलीहरु नराम्रोसित प्रभाबित भैरहँदा पनि
के ठोस पहल गर्न सक्यो र सरकारले ?
त्यो बिकराल माहोललाई मात्र मौन भैइ नियालिरहे..

धिक्कार छ! हाम्रो नेपाल सरकारलाई
ज्यादा त ती कर्तब्यबिमुढ नेताहरुलाई..
जो बस्तुस्थिती जान्दा जान्दै पनि
मानबताको गहिराइबाट अलिकति पनि
माथि उठ्न नसकी बस मुकदर्शक भैइ हेरिरहेछन्,
ती विवस जनताहरुलाई..
जो झिनो आशामा अझै
जीबनदान र आधारभुत आवश्यकताहरुको
शरणार्थी झै भिख माग्दैछन्..

मन

3

Category:

यस्तो गरौँ,उस्तो गरौँ
यहाँ जाउ, त्यँहा जाउ
यी सबै मनका ईशारा..
तर वास्तवमा कसलाई के थाहा ?
कहाँ छ यो मन? कस्तो छ यो मन?
आभास गर्छौ आँफैभित्र,
तर आकार छैन..
छ यो सबैभित्र सधैं ,
तर ठोस पहिचान छैन..
कहिले अनायासै बाटोहरु बिराइदिदाँ
सम्हालिउँ भन्छ..
कहिले नियन्त्रणमा राख्न खोज्दा
थाहै नपाई भागिदिन्छ..
कहिले त्यसै अत्तालिदिन्छ
फेरि एकैछिनमा कहाँ कहाँ उड्न पुग्छ..
कोही पराइलाई एकै पलमा
आफ्नो ठानिदिन्छ..
कसैलाई बर्षौ देखि जाने पनि
पराइ बनाइदिन्छ ..
एक अञ्जुली मुस्कानसगैँ
सारा ब्यथा भुलिदिन सक्छ..
कसैको खुशीको निम्ती
आफुलाई बलिदान गरिदिन सक्छ..
कहिले खुशीहरुको लहरसँग
कल्पनामा रमाउन पुग्छ..
कहिले आँसुहरुको सागरमा
पुरै संसार नै अध्याँरो देख्छ..
गुमाउँदाको पिडामा पनि यो
त्यागको उत्सब मनाउन सक्छ..
कहिले पाउनुको हर्षमा
दोसाँधमा पनि बाँधिन सक्छ..
तर म त अझै अनभिज्ञ नै भएँ,
बुझ्न सकिन रहस्य यो मनको..
जान्न सकिन अर्थ यो मनको..
तपाईंहरु नै भन्नुस् न
के होला यो मन ?
कस्तो होला यो मन ?

आश्वासन जडित नेताहरुमा समर्पित

4

Category:

फोटो साभार: अन्नपूर्ण पोष्ट

नयाँ नेपाल बनाउँछु भन्थे हाम्रा नेताहरु
आफ्नै धोती स्याहार्न भ्याउने हो,होइन

घाँटी फुल्ने गरी भाषण गर्छन्
बिचरा!देशको मुहार फेरिएको होइन

संबिधान मात्रै नयाँ नयाँ
नियम कानुन माथिकालाई लाग्ने होइन

हुँदो न खाँदोको आश्वासनसँग
सिद्दान्त छन मिठा,व्यबहारमा लागु हुने हो होइन

बजारमा भाउ बढ्या बढै,छुइ साध्य छैन
अर्थमन्त्री हाम्रो फेरिने हो होइन

गरीब, दुखी जनता मरे मरुन्
तिम्रा ब्यञ्जन घट्ने होइन

सिंगारपटार गर्नु बजेटलाई चारैतिरबाट
कतै झुक्किएर चुहिने त होइन

आफ्नो कुर्सी थमाइ हाल्यौ
अब पीर बाँकी केहीको छैन

नाच्,नचाउ आफ्ना जतिलाई
फेरी यो मौका आउने हो होइन

सकेसम्म घुम्नु स्वदेश्,बिदेश
तिम्रो ढुकुटी रित्तिने होइन

साँचो नेता बनि टोपल्नु
तिम्रो टाउको रत्ती दुख्ने होइन

टेबलमुनि लुकामारी खेल्नु
अख्तियारको आँखा पर्ने हो होइन

मरसिडिजमा उफरखुट्टी लाई यात्रा गर्नु
जनताका पसिनाको मुल्य तोकिने हो होइन

तिम्रै छ दिन, गर्नु जति गर आजै
भोलिको दिनमा तिम्रो भर छैन

समुन्द्र र म

7

Category:


तिमी बगिरहेकै छौ निरन्तर-निरन्तर
म किनारमा बसी अबलोकन गरिरहेछु..
कहिले छाल बनि उर्लिन्छ्यौ त
कहिले शान्त भैइ छल्किरहन्छ्यौ..
यो पसिना छुट्ने गर्मीमा पनि
तिमी मन्द पबन बनि शीतलताको आभास दिन्छ्यौ..

म जति दृष्यावलोकन गरिरन्छु तिमीलाई
तिमी उती नै अनन्त,म पुग्न सक्दिन त्यो बिन्दुसम्म..
मात्र केबल कल्पनामा डुबुल्की मार्दै तिमीसँग झुम्न सक्छु..
ढुङ्गा र किनाराहरुसँग मितेरी गाँस्दै तिमी
क्षितिज पारी कहाँ हो कहाँ बगिरहन्छौ उस्तै गरी..
कति आए होलान् बादल,बर्षा र प्रचन्ड घाम
तर ओत लाग्न जान्दैनौ तिमी ..
शिषिरको तुषारो न ग्रिष्मकालीन याम
खै त फरक खोज्न जान्दैनौ तिमी ..

शायद तिमी अनुभब गरिरहेकी छौ
सागर तिम्रो गन्तब्य बनि तिम्रै पर्खाइमा कुरिरहेको छ..
त्यसैले तिमी कसैसँग केही प्रतिकार नगरी
बिना गुनासो र मागहरु बिना नै
हिडिरहन्छौ यात्रामा आदी देखि अनादी सम्म..
झरना,खोला अनि नदीहरुका संगम भै
बिशाल सागरको गहिराइभित्र समाहित हुने उमंगमा..

म उभ्याउन चाहन्छु आफुलाई आज तिमीसँग
र दाँजिरहेछु आँफैलाई मेरो पृष्‍ठभुमिसँग..
म एउटा मान्छे जो सजीबहरुकै सर्बश्रेष्ठ कोटीमा राखिएको छ..
म बग्न सक्दिन तिमी जस्तै अटुट
म अल्झिन्छु,टुक्रिन्छु र कहिलेकाँही त्यसै अलमलिन्छु..
म बन्न सक्दिन तिमी जस्तो अमुर्त र अजर
म प्रतिकार गर्छु र बाँच्नको निम्ती संघर्ष गरिरहन्छु..
तर तिमी मेरो हिम्मत हुन सक्छौ र प्रेरणाको स्रोत पनि
म हिंड्न सकुँ निरन्तर मेरो लक्ष्यसम्म पुग्न
जसरी तिमी एकनास बगिरहन्छौ सागरको मिलनमा..
म रम्न सकुँ र यो जिबनलाई सार्थक बनाउन सकुँ
तिमी जस्तै निष्पक्ष आदर्श एउटा मानबको रुपमा..

टुहुरोको ब्यथाहरु

3

Category:


हे दैब! तिमीले मेरो संसार चुँडाइ लग्यौ किन?
अन्धकारमा धकेलि सबैबाट रित्तो बनाइदियौ किन?
सडक पेटी नै मेरो बासस्थान भयो अब..
फ्यालेका बासी,सडेगलेका खाना नै मेरो आहार भयो अब..
ति फोहोरका डुङँरहरुसँग खेल्दैमा मेरो बालपन गए अब..
जाउँ कहा,कसलाई गुहारुँ? आफु नै लुटिँदा खेरी..
बाल अधिकाराको त के कुरा ?
गुलियो नारा र बिदेशीका डलर मात्रै
रित्याउने भाँडो भएपछि..
अब केबल एउटा धौ बाँकी भयो,
यो जिबनरथ लाई अघी बढाउँ म कसरी ?

पुकारीरहेछु एक्लै यहाँ आकाशमा हेर्दै तिमीलाई
चित्कार तिमीले मेरो सुन्यौ कि सुनेनौ ?
तिम्रो यो तारालाई फुलको थुगाँ बनाउछु भन्थ्यौ,
तर आज तिम्रो अनुपास्थितिमा
कोपिलामै रङहिन भएछु..


तिम्रो ममताको आभासले मलाई सधैं पिरोलिरहन्छ..
तिम्रो काखमा अरु झै लडिबुडी खेल्न मन लाग्छ..
मान्छेहरुले मलाई उपहासको पात्र बनाउँदा कहिले,
म टुक्रिन्छु सिसा जस्तै,
अबिरल बग्दछन आँसुका धाराहरु उस्तै..


त्यसैले आइदेउन तिमी मात्र अन्तिम पटक फेरि,
बाँधिदेउन मलाई तिम्रो न्यानो अगाँलो भरि..
म हेर्न चाहन्छु संसार तिम्रो आँखाबाट..
र फक्रिन चाहन्छु म तिम्रै कोमल स्पर्श,माया र प्रेरणाबाट..
म लम्किन चाहन्छु बिजयपथमा तिम्रै हात्तेमालो बाट..
र पूर्ण बनाउन चाहन्छु आँफैलाई त्यो एक्लोपनबाट..
बिन्ती छ! आइदेउन तिमी मेरो छायाँ बनि फेरि,
म प्रतिक्षारत छु तिम्रै लागि सपनामै भएपनि..

भो नसोध मलाई

9

Category:



भो नसोध मलाई मेरो जन्मभुमिको बारेमा,
भित्रभित्रै कहाली रोइरहेको बेला।।
भो नहाँस तिमी मेरो राष्ट्रियता प्रति,
अखण्डता एक एक भैइ टुक्रिरहेको बेला।।
भो नदेखाउ मलाई चन्द्र सुर्य जडित,
मेरो देशको पहिचान बोकेको झन्डा,
एक्लै रोई आँसुहरुको ढिक्कासँग फर्फराइरहेको बेला।।
भो नझस्काउ मलाई मेरो माट्रुभुमिको बारेमा,
नेपाल आमाको आँसु पुछ्न नसकिरहेको बेला।।
भो नभन मलाई नेपाली एकता र बिजयको बारेमा,
एकीकरणका ईतिहासहरु दिनदिनै बिर्सिरहेको बेला।।
भो नसम्झाउ मलाई हाम्रा वीर सहिदहरुको बारेमा,
उनका रगत र पसिनाहरुको मुल्य खेर गैइरहेको बेला।।
भो नसोध मलाई बुद्ध जन्मेको धर्तीको बारेमा,
अशान्तिको दियो दनदनी बलिरहेको बेला।।
भो नजिस्काउ मलाई हाम्रो सगरमाथाको उचाईसगैँ,
लाजले सानो भैइ शिर झुकाइरहेको बेला।।
भो नसोध मलाई हाम्रो परम्परा र संस्कृतिको बारेमा,
पुर्बीय सभ्यताले बलियो जरा गाडिरहेको बेला।।
भो नसम्झाउ मलाई मेलापात र लाखे नाचहरुको बारेमा,
समयको प्रभाबसगैं लोप भैइरहेको बेला।।
भो नसोध मलाई देशका सक्षम जनसक्ति हरुको बारेमा,
गाउँ,बस्ती,सहर र देश रित्तो भैइरहेको बेला।।
भो बर्णन नगर मलाई राजनीतिज्ञ त कुटनितिज्ञ हरुको बारेमा,
छेपारोको रुप देखाइ सत्रु हँसाइरहेको बेला।।
भो नसुनाउ मलाई हाम्रा खोक्रा नेताहरुको बारेमा,
खुट्टा तान्ने खेलमा लछारिदैँ पछारिदैँ देश लुटिरहेको बेला।।
भो नसोध न मलाई मेरो अस्तित्वको बारेमा,
हाम्री साझा आमाको अस्मितामा ठेस लागिरहेको बेला।।
भो खिल्ला नगर न मेरो माटोको सुबासको बारेमा,
जहाँ सार्बभौमसत्ता अलि अलि गर्दै बेचिरहेको बेला।।
भो सान्त्वना नदेउ मलाई म बेसहारा भएपनि,
एकार्काप्रतिको सदभाब र सहयोगी हातहरु हराइरहेको बेला।।
भो दया नगर्नु है मलाई,म बाट सबै खोसिए पनि,
भित्रै देखि कमजोर भैइ देश दुखिरहेको बेला ।।

2

Category:

म एउटा सोझो हली

म मेरो नाम बाट कहाँ चिनिन्छु र ?
सादर भाब राखी मलाई को बाट बोलाइन्छ र ?
हात मुख जोर्न खर्चिन्छु पसिना म,
रात दिनै अर्काकै धर्तीमा॥
जति दु:ख गरेनि मन खुशी पार्न गार्हो छ साहुको,
धनको धनी भएपनि म त साँचै गरीब छ उनको..
काम चाँही देख्दैनन्,दाममा भने आँखा गाँढेकै छ..
उस्तै हिजो थियो कम्लहरिको कथा,
आज पनि त्यस्तै दासीको ब्यथा सल्बलाइरहेकै छ॥
समाज हुर्किरहेकै छ शोषित बर्गबाट,
जसरी तसरी गरीब निमुखा हरुलाई,
खुट्टा मुनि राख्ने चलन अझै पनि जारी नै छ।

लम्किन्छु हलो ,जुवा र हँसियाका साथ बिहानी घामसगैँ,
र पाथी बोकी फर्किन्छु खरको छानामा,
जुनको उज्यालोसगैं भोलिको आशामा॥
जहान बच्चा पर्खि बस्छन मलाई,
मुख ताकी बस्छन मेरो,पेटको भारी बिसाउनलाई..
म नहुँदो हो त,त्यो माटोको अगेना पनि
सुनसान भैइ टोलाइरहन्थ्यो होला॥
अरु त त्यस्तै भयो,
भोकको तिर्सना पनि पानीले मेटाउदैं,
निदरीको काखमा गुटुमुटु हुन नि धौ-धौ पर्थ्यो होला..
सुनेको छु,देखेको छु मैले पनि संसार,
मानिसहरु भब्य बंगलाहरुमा,
ती बिलासीताका बस्तुहरुसँग रमाइरहेका छन॥
आफुलाई हेर्यौ यतै प्वाल्,उतै प्वाल,
बर्षामा पानी चुहिएर ठाउँ ठाउँमा
कुचिएका भाँडा थाप्नुपर्ने..
जाडोहरुमा ती कठोर शितहरुसगँ,
न्यानो कपडाहरु बिना काँपिरहनु पर्ने॥
अरु बच्चाहरु कापी कलम च्यापी स्कुल जाँदै गर्दा,
कठै! मेरो नानीहरु त्यो भत्केको आँगनको डिलमा बस्दै
टुलुटुलु ओझेल नपरुन्जेल हेरिरहन्छन॥
ति अबोध र निर्दोष बालपनलाई
मैले चाहेर नि सिङार्न नसक्दा,
मेरो मन त्यसै त्यसै भक्कानिन्छ..

गर्न सम्म दु:ख गरेकै छु,घाम्,पानी,जाडो केही नभनि ,
न चोरेको छु,न त कसैलाई ढाँटेर बाँचेको छु..
दिन प्रतिदिनको कथा उस्तै,ब्यथा त्यस्तै
दुई छाक टार्न पनि मलाई यस्तो पिर,
गर्न सक्दिन म पुरा यिनका आधारभुत आवश्यकताहरु..
म सोच्न वाध्य छु अहिले ,
मैले थानेको थिएँ,यिनिहरु मै मेरो सामर्थ्य हुन..
तर मैले कसरी भुले मेरो कटु सत्य?
म एउटा मात्र बिबश हली..
जो बन्चित छ,समानताको आवाजहरुबाट..
जो लुटिएको छ,आफ्नै जिन्दगी,सपना र रहरहरुबाट..
जो कोसौ टाढा छ,सुख,शान्ती र सुनौलो भबिष्यबाट..
जो गरिबिको रेखामुनि जिबन गुजारिरहेको छ..
जो सामन्तीहरुको थिचोमिचोमै पिल्सिरहनु परेको छ..
जो पसिनाको खोला बगाइ एक पाथी चामलकै निम्ती,
सारा जिबन ओझेलमा पार्नु परेकै छ..
र म बाँचिरहन्छु उस्तै गरी अनि मेरा सन्तानहरुले,
मेरै बिडोँ नथामी कहाँ सुख पायो र ?
त्यही बाँच्नु र बचाउनुको पिडामा त अड्किरहनु परेको छ..

परिवर्तनका ढोकाहरु हाम्रो पहुँचमा कहाँ पुग्नु?
अझै आफ्नो पहिचान गुमाउनु छदैँछ..
उज्यालो गोरेटाहरुको सिर्जना कसरी गर्नु ?
म कालो अक्षर भैंसी बराबर जस्तै छु..
नियम कानुनका किताबहरु मलाई के थाहा?
त्यो एकमुठी सास धान्नमा नै म ब्यस्त हुनुपरेको छ..
जिबनस्तर उकास्ने बिभिन्न सैदान्तिक र व्याबहारिक
तरिकाहरुले मलाई कसरी छुन्छ ?
म केबल अरुको सुन्नु र आदेश मान्नुमा नै
कर्तब्यनिष्ठ ठहर्नु परेको छ..
अनि भनन मेरा अनन्त बिरह र बिलौनाहरु सुन्ने कसले?
जो अरुको निम्ती आजको एक्काइसौँ शताब्दीमा,
मात्र एउटा अनपढ,पाखे,झुत्रे गाउँलेको रुपमा चिनेको छ..
त्यसैले म सधैं झै ती निराशाका बादलहरुमा रुम्मलिदैँ,
कहिले चाहेर जिबन बाँच्न चाहन्छु..
र कहिले नचाहेर पनि हाँस्न चाहन्छु..
त्यही खेतका डल्लाहरुसँग..
त्यही हँसिया र कुटो कोदालो हरुसँग..
त्यही गाइगोरुका अपरिचित भाषाहरुसँग..
त्यही एकपाथी चामल पाउने आशासँग..
त्यही परिवारको खाँचो टार्ने सानो सपनासँग..
हो,म एउटा बिल्कुल सोझो हली...