मित्रताको नाममा समर्पित

4

Category:

मैले चाहे भन्दा धेरै,मैले मागे भन्दा ठुलो उपहार हौ तिमी ,
किनकी तिमी मेरो साथी,मेरो मनको साथी जिबनभरी..
जबजब म हड्बडाउँछु,तिमी त्यँहा हुँन्छौ सम्हाल्न मलाई,
मेरा कमजोरीहरु औल्याइदिन र मलाई राहत दिन..
बुझाउन मलाई अनि बाटोहरु देखाइदिन..
तिमी त हौ मेरो भरोसाको प्रतिमुर्ती,
जसरी तिमी हरेक दु:ख सुखमा त्यही हुँन्छौ ..
तिम्रो न्यानो सहानुभुति सहित देखा पर्छौ ..
जहिले म एक्लो महसुस गर्छु,
तिमिले एक्लोपनको आभास हुन दिदैनौ..
जब म थकित भैइ सपनाहरु धमिलो देख्न थाल्छु,
तिमीले सुनौलो आशाहरु जगाइदिन्छौ..
थाहा छैन म कसरी अभिब्यक्त गरुँ आँफैलाई,
तर तिमीले हजारौं बाटोहरु पहिल्याइदिन्छौ..
न त तिमीले मलाई हतास हुने मौका दिन्छौ,
न त निरास भैइ सुन्यमा कतै हराउन दिन्छौ..
तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,
मेरो सफल जिबनको सिढिँहरु बन्न सक्छौ..
तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,
अटल विश्वाश र संजिबनी हुन सक्छौ ..
त्यसैले त म भन्ने गर्छु तिमीलाई,
तिमीबिना शायद म अपुरो छु,अँधुरो हुनेछु..
केबल यस्तै भैरहनु,परिवर्तन नहुनु कहिलेपनि,
म तिमीलाई गुमाउन चाहन्न,
तिमी मेरो प्रत्यक पलहरुको साथी..
भौतिक रुपले हामीलाई अलग्याए पनि,
तिमी त्यही हुनेछौ मेरो आडमा..
तिम्रा न्यानो साथहरु त्यही हुनेछन,
हाम्रो मित्रताको हातहरु कहिले बदलिने छैनन् ..
म साँचै भाग्यमानी ठान्छु आँफैलाई,
तिम्रो आगमन मेरो लागि एउटा छुट्टै पहिचान ..
अपेक्षा गर्छु म तिमीबाट,हर कोणहरुबाट,
तिमी त हौ मेरो पाइला-पाइलाको साथी..
शब्दहरुमा आभार ब्यक्त गर्न सक्दिन म,
मेरो जिबनमा तिमी हुनुको अर्थ..
मात्र एउटा कामना छ अन्तर हृदय बाट नै,
तिमी नै भैइदेउ मेरो जनम्-जनमको साथी..

2

Category:

मुर्त कर्णालीको अमुर्त सुस्केराहरु
आयो बैरी नजानिदोँ पाराले,आफ्नो भन्नु सारा बगायो
बाँकी छैन केही त्यँहा,आखिरमा उठिबास नै गरायो
न त सपनामा कहिल्यै देखेको थिए,
न त बिपनामा कहिलै कल्पना गरेको थिए,
तर एकै पलमा जिबन बदलिदियो कुनै खेल जस्तै
गाँस्,बास र कपासको स्रोतहरुबाट जरैदेखि उखेलिदियो।

क्षताबिक्षेत भए घरहरु,गाइगोठहरु र निर्माणाधिन बिकासहरु
अन्न बाली बगाइ लाग्यो मात्र बालुवाको बगर बनाइ छड्यो
सप्पै सप्पै नाश भए क्षणभरमै आफ्नै आँखा अगाडि।
आबेशमा बग्दै आएको भेलसगैँ सपनाहरु बगाइ लगे,
सम्हाली राखेको आशाका त्यान्द्राहरु जबर्जस्ती चुँडाइ लगे।
कस्तो कहाली लाग्दो त्यो क्रुर समय सम्झिँदा पनि अत्यास लाग्ने
कस्तो निस्ठुरी हो दैब पनि?त्यो अन्याय रमिता झै हेरिरहने।

अब कहाँ जाउ यो लाला बाला बोकी ?
कसले देला मलाई साहस र सन्तुष्टी ?
कसरी बनाउ म गरिखाने बाटो ?
मानो भर्नु नै रहेछ यहाँ सबैभन्दा गार्हो।
पेट नभरेर ट्वाल्ल मेरो मुखमा रुदै हेर्दा,
म मरेजस्तै हुन्छु,आँफैलाई धिक्कार्छु।
त्यो एकसरो कपडा पनि शरिरमा पुरै धाकिदिन नसक्दा,
म आफुलाई नितान्त नामर्द झै महसुस गर्छु।
टुक्रिसकेको छु पुरै म जब देख्छु मेरा भोलिका ताराहरु,
त्यसै त्यसै तितरबितर भैरहेछन मेरै वरिपरी।
तह लगाउ म उनिहरुलाई कसरी ?
उज्यालो र सुनिश्चित भबिष्यको बाटोहरु डोरयाउ म कसरी?

ओत लाग्ने ठाउँ छैन कतै,
बर्षा न गर्मी, जाडो न घाम,
छैन फरक, पार्दैन फरक
तुषारोमा काँपिरहेकै छन,
टन्टलापुर घाममा डढिरहेकै छन,
उही खाली पेटमै,उस्तै जिउने झिनो आशमै।

प्राकृतिक प्रकोपले यसरी नाङै पारिदिएपछी,
आफ्नै भुमीले यसरी श्राप दिएपछी,
हामी त आफ्नै ठाउँमा पराइ भएछौ।
बस्तिहरु खोज्दै जाँदा,आफ्नै आमाको काखमा,
परदेशीहरुबाट शरणार्थी जस्तै लखेटिएछौ।
कति दिदीबहिनीहरु आफ्ना अस्मिता लुटाइरहेका छन,

परालको छाना भित्र पनि धम्की र त्रासकै
छहारीमा जिबन गुजारिरहेका छन।
लोभ र लालचमा अपहरित भैरहेकै छन,
आफन्तबाटै बेपत्ता भैइ बस्तु जस्तै
मोलतोल गरि बासनाकै लागि बेचिएकै छन।

ब्यथा बुझिदिने हामीलाई छन कि कतै?
हाम्रा दु:ख र मजबुरीका आवाजहरु सुन्ने होला र कतै?
छन र कोही हाम्रा पिडित पुकारहरुलाई बिगुलमा फुकी हिंड्ने?
खै शान्ती र सुरक्षा कहाँ ?
मानब अधिकारका नाराहरु कहाँ?
नेताहरुका चिल्ला भाषणहरु कहाँ?
नेपाली नागरिक हुनुको हक र अधिकारहरु कहाँ?

तर हामीलाई कसले सुन्ने ?
सरकार र नेता भन्नु पनि उस्तै हो,
आफ्नै दुनो सोझ्याउनै ब्यस्त ।
हक र अधिकारहरुको निम्ति लड्ने संघसंस्थाहरु पनि त्यस्तै हो,
बिदेशी सहयोगको हातहरु थापि आफ्नै गोजी भरिरहने।
आखिर हामी पर्‍यो उस्तै गरीब जनता,
निमुखा भैइ पुरै जिबन आश्वासनकै भरमा अल्झाइरहने।।

1

Category:

अपिल बिधुवाको
कहाँ गए मेरो परिचय?मेरो आफ्नै परिभाषाहरु?
अब रहे म निसंकोच बिधुवा मात्र एउटा निसब्ध बिधुवा।
जसले आफ्नो जिबन रथको सहयात्री गुमाएकी छे,
त्यो सँगसगैँ उसको आफ्नो अस्तित्व नै हराएको छ।

अब उ रहिन उसका लागि हिजो जस्तै,
उसका परिभाषाहरुले साथ दिदैनन अब
किनकी उ बिधुवा भैसकेकी छे,
समाजले उसलाई अर्को नाम दिसकेको छ।
त्यसै क्रममा उसका अस्तित्वहरु,
पनि जलेर खरानीमा राख भैसकेका छन।

उ बाचेँकी थीइ अर्कैको नाममा हिजो सम्म पनि
त्यसैले आज र भोली पनि बाचिरहन्छे अर्कै नामको सहारामा।
उसले सास फेरिरहेपनि पलपल मरिरहेकी छे,
फुस्रो मुस्कान छरिदिएपनि
त्यो वास्तबिक खुशी अब कहाँ मिल्छ र उसलाई?
मिलनका कथाहरुले के फरक पार्छ र उसलाई?

कसलाई के मतलब छ र उ के चाहन्छे ?
कसैले देख्दैनन उ आँसुहरुको सागरमा डुबिरहेकी छे,
आफु बाँच्नुको पिडा र निराशाको बादलहरुमा
आफुलाई घेरिरहेकी छे।
चैत्रको त्यो घाम जस्तै उराठ उराठ भैरहेकी छे,
कसैले बुझ्दैनन उ भित्रभित्रै गुम्सिरहेकी छे,
फेरी पनि त्यो यौबन र खोसीएको सौभाग्यसगैँ,
आफलाई पटक पटक छुरा हानी बाँचिरहेकी छे।
एकचिम्टी सिन्दुर र रङीचङी पहिरनकै निम्ति,
उ हरपल तडपिरहन्छे र फेरी आँफैलाई सम्हालिरहन्छे।

तर उ ब्यक्त गर्न सक्दिन,
उ चाहेर पनि आफुलाई उदांग पार्न सक्दिन।
बरु उ बर्षामा भेल आएर बगाइ लगेजस्तो,
निरस बगरहरु बनि बाँचिदिन सक्छे।
आफ्नै जिबनलाई मरुभुमी बनाइ,
आफुलाई त्यही समर्पण गरिदिन सक्छे ।
तर उ कदापि हामी हुर्किरहेको समाज र संस्कार बिरुद्द
हाम्रो धर्म अनि मुल्य र मान्यताहरु बिरुद्द जान सक्दिन

जसले उसको पुरै जिबन र चाहनाहरुलाई,
सिक्री झै बाँधिरहेको छ।
जहाँ परिवर्तनको सख्त जरुरी छ,
जहाँ नारी र पुरुषको बिचमा गहिरो खाडल छ।
जुन पुरिनुपर्छ र पुरिदिनुपर्छ।
भिन्नताको त्यो अग्लो पर्खाल भत्काइनुपर्छ,
असमानताका तगारोहरु भचाइँनुपर्छ,
र समान ब्यबहार गरिनुपर्छ।

अनि मान्छेहरुको बिचार र हेर्ने दृष्‍टिकोणहरुमा,
फरक ल्याइनुपर्छ र सहर्ष अगाँलिनुपर्छ,
जहाँ बिधुवा पनि एउटा मानब हो,
जो अरुजस्तै स्वतन्त्रतालाई प्रेम गर्छे,
र अरुजस्तै भएर स्वतन्त्र रुपले बाँच्न चाहन्छे।

अन्धो रितिरिवाजहरुसँग उ बाँधिरहन हुँदैन,
र आफुलाई जिउदै मारिरहन हुँदैन।
अन्धकारलाई स्विकारी एकपल्टको मानब जिबनलाई,
फक्रन छोडि फेरी अन्धकारमै डोरयाउनु हुँदैन।

उसलाई पनि तिमी जस्तै हाँस्न र बाँच्न देउ,
बिना संकोच, बिना प्रश्न र लान्छनाहरु बिना
उसलाई पनि तिमी जस्तै हिंड्न र बोल्न देउ।
तब हेर त्यो स्वतन्त्रताको आकाशमा
अबला बिधुवा पनि चरी जस्तै उड्न सक्छे,
मरुभुमी जिबनलाई फेरी एकपटक सास दीई
आशाहरुको धरातलमा इन्द्रेणीका रङ्हरु फलाउन र फुलाउन सक्छे।

थाहा छ उसलाई आफ्नो सिमाना
र चरी हुनुको अर्थ पनि।
यसैगरी "बिधुवा" को उपनाम बिना नै
आफ्नै साधारण भेषमा बिधुवाले पनि,
आफ्नो अस्तित्व कायम राख्न सक्छे।