सम्झौता

Category:


जीवनका गोरेटोहरुलाई पछ्याउँदै जाँदा
कति ठोक्कीएँ हुँला यात्राहरुमा
कति लुटिएँ हुँला अन्जान परिस्थितीहरुमा
कति आत्तिएँ हुँला दु:खहरुमा
कति मात्तिएँ हुँला सुखहरुमा
बश अनुभबहरु बटुल्दै गएँ
आफुलाई दाँज्दै गएँ
समयको बनावटसगैँ तिखारिदैँ गएँ
अहँ, यतिले मात्र जीवन भरिदैन रहेछ,
अनि सम्झौता यही निर गर्नु पर्ने रहेछ ।।

मान्छे न हो , फेरी
धेरै सपनाहरु बुनियो आँखाहरुमा
धेरै रहरहरु साँचियो मनमा
धेरै आशाहरु तुनियो मस्तिस्कमा
तर,
थोरै मात्र खुशी पाएँ, धेरै त आँशुमा नै उभ्याएँ
असफलता नै हात परेपनि
निरासताकै टोपी पहिर्‍याउनु परेपनि
जीवन रथ त अगाडि बढाउनै पर्ने
पाइलाहरुलाई जीवन्तता दिनै पर्ने
फेरी सम्झौता त्यही निर गर्नु पर्ने रहेछ ।।

सास रहुन्जेल आश हुन्छ भन्छन्
घोडा चढ्ने मान्छे लड्छ भन्छन्
त्यसैले ,
जति नै लडे पनि
जति नै भाग्यले ठगे पनि
जति नै कर्मले परिक्षा लिए पनि
जति सिथिल अनुभब गरे पनि
फेरी सम्झौता त्यही निर गर्नु पर्ने रहेछ ।।

अर्को नयाँ सम्झौतामा ,
नौला आशाहरु लिई
आत्मबिश्वासलाई नव जीवन दिई
सपनाहरुलाई फेरी सँगालेर
आस्थाहरुलाई फेरी मालामा उनेर
जीवनलाई ठोस आकार दिनुपर्ने
नियति नै रहेछ जीवनको
आखिर सम्झौता नै सहारा रहेछ हरेक नव युगको
हो, अनी फेरी सम्झौता यहीँ निर गर्नु पर्ने रहेछ ।।

Comments (0)

Post a Comment