तीजका सगाँलोहरु

Category:

हिन्दूहरुको महान् पर्व हरितालिका तीजको अवसरमा इजराएलमा हुने विभिन्न कार्यक्रमहरुमा सरिक हुने मौका मिल्नु साँचै खुशी र सुखको अनुभुति हो तर बिडम्बना मेरो कामको अवस्था चाँहि अलिक गम्भिर भएको कारणले पछील्लो केही समयदेखि कुनै पनि समारोहरुमा सम्मिलित भई अनुभबहरु बटुल्ने अवसर मिलेकै छैन । चारभित्ता हेरेर ल्यापटप सगैँ पुरै संसार सयर गर्दै आफुलाई सुसुचित गराउनु, भुलाउनु र उस्तै परे फकाउनु नै मेरो दिनचर्या भनौ या मनलाई राहत दिने स्रोत बनिसकेको छ , सत्य भन्नु पर्दा यो मेरो समयसगैँ धेरै नै नजिकको मित्र भईसकेको छ । यसैको मद्दतले मैले धेरै कुराहरु जान्ने, बुझ्ने मौका पाएकी छु र मेरो जीवनमा थुप्रै नौला आयामहरु थपिदिने श्रेय यसलाई नै जान्छ भन्दा अत्युक्त नहोला । शायद यो नभएको भए म त्यतै कतै सिमिततामा अल्झिन्थे होला र झाँगिने मौका पाउँदिन थे होला र आज यहाँ ब्लगको दुनियाँ मार्फत तपाईंहरुसगँ भलाकुसारी गर्ने मिठो अवसर कहाँ मिल्थ्यो होला र ?

कुरो तीज बिशेष तिर नै अघी बढाऔ - नेपाली दिदीबहिनीहरुको संख्या इजराएलमा उच्च नै छ, यसैको हिसाबले भन्नुपर्दा नारीहरुको महान् पर्व तीजको रमझममा पनि उहाँहरुको चहलपहल बढि हुनु स्वभाविक नै हो , यिनै अवस्थाहरुलाई ध्यानमा राख्दै यहाँ रहेका विभिन्न संस्थाहरुले सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी एकअर्कासँग खुशीहरु साटासाट गर्दै एकैछिन भएपनी दु:ख , पिडाहरु भुल्ने बातावरण सिर्जना गर्ने ब्यवस्था मिलाइदिनु सबै नेपालीहरुको निम्ती पक्कै गर्वको कुरा हो भने हरेक बर्ष तीजको अवसरमा कृषि क्षेत्रका नेपाली दाजुभाइहरुको आफ्नै कार्य र समर्पणमा इजराएलमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुलाई दर ख्वाउने निम्तो गर्ने परम्परा सर्‍हानीए छ । परदेशमा एउटा माइतीको रुपमा उभिई आफन्तको आभास दिलाउने महान् प्रयास आफैमा उत्कृष्ट छ र सधैंभरी धन्यवाद तथा आभारको पात्र हुन्हुन्छ ।

साथीहरु सबै भेला भई रातो साडी वा रङिचङी पहिरनहरुमा निकै सजिएर ब्रत बसेर पूजा, आराधना गरी आफ्नै अपार्टमा अथवा कुनै कार्यक्रममा सरिक भई निकै हर्षउल्लास साथ तीज पर्व मनाउनुभयो ।
मेरो पनि आइतवारको दिन केही घण्टा फुर्सद मिलेको थियो, त्यसैले म लगायत दिदी र अरु साथीहरु हुइकियौं उही नेपालीहरु जम्मा हुने ठाउँमा । त्यहाँ पुग्दा त मलाई लाग्यो म कतै नेपालमा नै छु , पार्कभरी नेपालीहरुले भरिएको, सबैजना फुरफुर भई यताउता गरिरहनु भएको र सबैको अनुहारमा एउटा छुट्टै चमकता थियो, रौनकता थियो खुशीको, आनन्दको । त्यही पार्कमा दिदिबहिनीहरु मादल ठोकी तीजका गीतहरु गाएर छमछमी नाचिरहनु भएको द्र्श्य देख्दा मानौ यो नेपालको पशुपतिमा हुने मेला भन्दा कम छैन, त्यसरी नै मेरो पनि मनै लोभियो र छेउमै गई कम्तिमा थपडी बजाएर भएपनी मनलाई केही हदसम्म सान्तवना र सन्तुष्टि दिलाउन सफल भए र साथै केही तस्वीरहरु क्यामेरामा पनि कैद गरेँ अनी ढिलै भएपनि ब्लगको भित्तामा टाँगिहालेँ। उहाँहरुले गीत मार्फत आफुले भोगेका पिडाहरु ब्यक्त गर्नुभएको थियो,  आफ्नो प्राण भन्दा प्यारो श्रीमान्, छोराछोरी तथा सम्पूर्ण परिवारबाट टाढा हुनुको मजबुरीलाई गीतबाट पोख्नुभएको थियो र ब्यंग्यात्मक तरिकाले रोजगारदाता, एजेन्सी तथा दलालहरुलाई पनि गिती शब्दहरुबाट घोचपेच गर्नुभएको थियो ।


आखिर यहाँको बसाइमा तितो अनुभब नगर्नुभएको नेपाली शायद कमै भेटिन्छ होला। भाषागत हिसाबले,आधारभुत ज्ञानको अभाब, आफ्नो अधिकार र कर्तब्यको बारेमा पूर्ण जानकारी नहुनु आदी यसका प्रमुख कारणहरु हुन् जस्तो लाग्छ मलाई । तर जे भएपनी नेपाली दिदिबहिनीहरु साँचिकै महान्, परिश्रमी, सहनशील र आँटिला हुनुहुन्छ। गर्व गरौँ उहाँहरुको साहस प्रति र साथ दिऔँ हरेक दु:ख सुखमा ... अन्त्यमा देवादि देव महादेवले हामी सबैको रक्षा गरुन् र संघर्षसँग लड्ने अटुट शक्ती दिउन् भन्ने प्रार्थना र कामना सहित तीजको लहर गयो बरि लै !

Comments (3)

Oh ! bides ma ni yeti dherai ramailo garnu hudo rahe6..bides ma huda...feri afno desh ko maya le sataune...

malai ta sahcai kasto khusi lagyo tapai ko post padda ani blog padda....

keep it up asha Ji...

Ramaailo moment share garnu bhayo aashaa jee dhanyabaad, ra ramaaiilo ganrai parcha dui dinako jindaganimaa haita.

विदेशमा यति आत्मीय र सांस्कृतिक गरिमाअनुरूप पर्व मनाउन सक्नु चान चुने कुरा होइन । निकै रमाइलो गर्नुभएछ चेलीहरुले । दाजुभाइहरूले चेलीहरूलाई बोलाएर दर खुवाउने चलन पनि बसेको रहेछ त्यहाँ । मिलिजुली सद्भाव मन पर्‍यो ।

Post a Comment