भो नसोध मलाई

Category:



भो नसोध मलाई मेरो जन्मभुमिको बारेमा,
भित्रभित्रै कहाली रोइरहेको बेला।।
भो नहाँस तिमी मेरो राष्ट्रियता प्रति,
अखण्डता एक एक भैइ टुक्रिरहेको बेला।।
भो नदेखाउ मलाई चन्द्र सुर्य जडित,
मेरो देशको पहिचान बोकेको झन्डा,
एक्लै रोई आँसुहरुको ढिक्कासँग फर्फराइरहेको बेला।।
भो नझस्काउ मलाई मेरो माट्रुभुमिको बारेमा,
नेपाल आमाको आँसु पुछ्न नसकिरहेको बेला।।
भो नभन मलाई नेपाली एकता र बिजयको बारेमा,
एकीकरणका ईतिहासहरु दिनदिनै बिर्सिरहेको बेला।।
भो नसम्झाउ मलाई हाम्रा वीर सहिदहरुको बारेमा,
उनका रगत र पसिनाहरुको मुल्य खेर गैइरहेको बेला।।
भो नसोध मलाई बुद्ध जन्मेको धर्तीको बारेमा,
अशान्तिको दियो दनदनी बलिरहेको बेला।।
भो नजिस्काउ मलाई हाम्रो सगरमाथाको उचाईसगैँ,
लाजले सानो भैइ शिर झुकाइरहेको बेला।।
भो नसोध मलाई हाम्रो परम्परा र संस्कृतिको बारेमा,
पुर्बीय सभ्यताले बलियो जरा गाडिरहेको बेला।।
भो नसम्झाउ मलाई मेलापात र लाखे नाचहरुको बारेमा,
समयको प्रभाबसगैं लोप भैइरहेको बेला।।
भो नसोध मलाई देशका सक्षम जनसक्ति हरुको बारेमा,
गाउँ,बस्ती,सहर र देश रित्तो भैइरहेको बेला।।
भो बर्णन नगर मलाई राजनीतिज्ञ त कुटनितिज्ञ हरुको बारेमा,
छेपारोको रुप देखाइ सत्रु हँसाइरहेको बेला।।
भो नसुनाउ मलाई हाम्रा खोक्रा नेताहरुको बारेमा,
खुट्टा तान्ने खेलमा लछारिदैँ पछारिदैँ देश लुटिरहेको बेला।।
भो नसोध न मलाई मेरो अस्तित्वको बारेमा,
हाम्री साझा आमाको अस्मितामा ठेस लागिरहेको बेला।।
भो खिल्ला नगर न मेरो माटोको सुबासको बारेमा,
जहाँ सार्बभौमसत्ता अलि अलि गर्दै बेचिरहेको बेला।।
भो सान्त्वना नदेउ मलाई म बेसहारा भएपनि,
एकार्काप्रतिको सदभाब र सहयोगी हातहरु हराइरहेको बेला।।
भो दया नगर्नु है मलाई,म बाट सबै खोसिए पनि,
भित्रै देखि कमजोर भैइ देश दुखिरहेको बेला ।।

Comments (9)

देशप्रेमले ओत् प्रोत कबिता ।

आशा जी, तपाईं पनि एउटा उर्बर श्रीजनाशिल स्रस्ता हुनुहुदो रहेछ.. संघर्स र बेथिती प्रती को आक्रोश राम्रो हो तर अली निराशा पनि बढी भो कि

आशा जी ! निकै ओज पूर्ण र देश प्रेम ले ओतपोत भएको कविता लेख्नु भएको रहे'छ , यस्ता भावहरु सदा यसरी नै रहिरहोस |
तर तपाइले लेख्नु भएको कविताहरुमा हरफहरु अलिक लामा लामा भए जस्तो लाग्यो मलाई त ! अलिक छोटा हरफ लेख्ने कोसिस गर्नु भए बेस हुनेथ्यो जस्तो लाग्छ किन भने यसरी लामा हरफहरु राख्दा खेरी - ति लामा हरफहरु कुनै कविताको नभएर कुनै लेखको हरफ झै लाग्न सक्छन |

अनि आशा जी , अर्को कुरा तपाइले ब्लगमा लेख्दा खेरी प्रतेक लेखाइको क्याटागोरि छुट्याएर लेख्नु भए सूनमा सुगंध नै हुनेथ्यो | अनि साइड मा 'Labels" राख्नु होला - जून "Add a Gadget" बाट राख्न सक्नु हुन्छ, जसले गर्दा ति क्याटागोरि हेर्न सकिन्छ |

राम्रो प्रयाश गर्नु भएको रहेछ... कविता देश भक्तिले ओतप्रोत छ.. अलिक बढी छाँट काँट गरे सुनमा सुगन्ध हुन्थ्यो होला...

ब्लगको शृंगार राम्रो रहेछ... सबै भन्दा राम्रो चाहिँ माथि टाउकोको झिलिकमिलिक शृंगार नै लाग्यो...अब बिस्तार बिस्तार हाम्रो तिर नि सार्नु पर्ला...

प्रेम बाट जब देशप्रेममा कविता कोरिन्छ तब कविताको सौन्दर्य अझ निख्खर हुदै जान्छ। आशाजी तपाईका कविताहरुमा म महशुश गर्दैछु ।

लदबद बेथिति र बिजोगहरूको सिलसिलालाई एउटै देशप्रेमी मालामा उन्नुभएको मार्मिक छ । सोधिएका र सोध्नुपर्ने कुरा निकै छन्, तर देश छातीभित्र छटपटाइरहेको क्षण हतासपनले टाउको उठाएर केही आशा गर्ने ठाउँ देखिँदैन । र पनि सपनाको घर ठड्याउनै परेको छ हामीले ।

कविता-यात्रा अझ माझिएर अघि बढोस्, शुभ कामना आशा जी ।

सर्बप्रथम त म मेरा नब आगन्तुकहरु प्रति मेरो ब्लगमा पाइला राखिदिनु भएकोमा हृदय देखि नै आभार ब्यक्त गर्न चाहन्छु।
तपाईंहरुको साथ्,सुझाब र प्रतिकृयाहरु नै मरो रचनाहरुको उचित मुल्याङ्कन हो। त्यसैले तपाईंहरुका प्रत्यक शब्दहरुले मेरो भर्खरै सुरु गरेको ब्लगगिङ यात्रामा निकै टेवा पुरयाउनेछ भन्ने पूर्ण विश्वाश लिएकी छु।


खुल्लामन्च जी तपाईंको पहिलो आगमन र प्रतिकृयाको लागि धन्यवाद र हावा जी प्रति पनि आभारी छु। देशको परिस्थितिको भोगाइ अनुसार शब्दहरु उतारेकी थिए तर अब आउँदा रचनाहरुमा आशाका भाबहरु सहित प्रस्तुत हुने कोसिस गर्नेछु।


मिलन जी अनि बेदनाथ जी तपाईंहरुले मेरो मनकै कुरा गरिदिनु भयो। त्यो म आँफैले अनुभब गरेकी पनि हो तर कसरी छाँटकाट गर्नु भनी म त अन्योलमा परि बरु सबै पोखिदिएकी हुँ , अब चाँही पक्कै ध्यान दिनेछु र तपाईंको सहयोगी साथलाई शिरोधार्य गरी आफ्ना रचनाहरुलाई catagory मा छुट्याएर राख्ने प्रयास गर्नेछु। सम्झाउनु भएकोमा सादर भाब..


कृष्ण जी मेरो कबिताले केही भनेपनि महसुस गर्न सहयोग गरेको थाहा पाउदाँ म आँफैमा एक प्रकारको गौरबान्बित अनुभब गरिरहेछु र धाइबा जी तप्पैको तपाईंको शुभकामनाको लागि मुरी मुरी धन्यवाद । लेखन यात्रामा भर्खरै घिस्रिदै अघी जाने प्रयास गरिरहेको अवस्थामा तपाईंहरु जस्तो हस्थीको अबिरल साथ र सुझाबहरु पाइरहे शायद कुनै दिन मेरो कलमको निखरताले पनि पूर्णताको आभास गर्न पाउनेछ होला ।

कविता सुन्दर छ! हाम्रो समयको पिडालाई दुरुस्त शब्दमा उतारेको छ। अरु-अरु यस्तै रचना पढ्न पाईरहियोस्।

विचार र भावना राम्रो लाग्यो । अलिकति परिष्कार चाहिँ आवश्यक छ ।

Post a Comment